गृहपृष्ठ अब ओली सरकार होइन, किर्ते सरकार हो : भीम रावल
अब ओली सरकार होइन, किर्ते सरकार हो : भीम रावल
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले कीर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै अहिलेको सरकार ओली सरकार नभई किर्ते सरकार भएको बताएका छन् ।
आइतबार नेकपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको बताउँदै उनले भने, ‘अब केपी शर्मा ओली सरकार होइन् किर्ते सरकार हो ।’ प्रधानमन्त्रीले राष्ट्रपतिलाई पत्र लेख्दा कुनै धारा उल्लेख नगरेको उनले बताए ।
‘राजपत्र पनि नक्कली रुपमा पहिलेको मिति राखेर सरकारले किर्ते गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सरकारमा बसेर निरंकुश शैली प्रयोग गर्नुभयो । त्यसको परिणाम नेकपाका बहुमत सदस्य प्रचण्ड–माधव समूहमा आए । अब निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ ।’
धनगढीमा शक्ति प्रदर्शन हुने
नेकपा प्रचण्ड–माधव समूहले धनगढीमा माघ १७ गते संसद विघटनविरुद्ध बृहत् शक्ति प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समूहले शनिबार धनगढीमा सम्पन्न भएको प्रदेश कमिटीको बैठकबाट उक्त निर्णय गरिएको जनाएको छ ।
प्रदेश कमिटीको आयोजनामा प्रदेश स्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गरिने नेता डा. भीम रावलले जानकारी दिए । ‘व्यापक जनसहभागितासहित हामीले केपी ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भइसकेको छ । उहाँहरूलगायत अरू क-कसले सम्बोधन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौँ ।’
उनले शनिवारको बैठकबाट आन्दोलन र संगठन विस्तारलाई थप सुदृढ पार्ने निर्णय भएको उनले बताए । ‘जिल्ला स्तरमा समेत आन्दोलन र खबरदारीका लागि एक जुट भएर लाग्ने निर्णय भएको छ । हामी त्यसैको तयारीमा छौं ।’ उनले भने ।
प्रकाशित समय २०:१७ बजे
















