गृहपृष्ठ राष्ट्रिय व्यापार संघद्वारा भन्सारसम्बन्धि प्रशिक्षण
राष्ट्रिय व्यापार संघद्वारा भन्सारसम्बन्धि प्रशिक्षण
राष्ट्रिय व्यापार संघले भन्सारसम्बन्धि प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम गरेको छ । ६९ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा संघले काठमाडौंमा भन्सारसम्बन्धि आयात, निर्यात, चोरी पैठारीलगायतका विषयमा अन्तक्रिया कार्यक्रम गरेको हो ।
भन्सार विभागका उपमहानिर्देशक भूमिराज शर्मासहितको उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा विश्व व्यापार संगठनको उद्देश्यअनुरुप न्यूनतम दर कायम गर्नुपर्ने, भन्सार एजेन्टको संख्या बढाउने, चोरी निकासी पैठारी बन्द हुनुपर्ने, तयारी कपडा र कच्चा पदार्थमा मूल्यांकन समय सान्दर्भिक हुनुपर्ने, आयात गरिने मालवस्तुको भुक्तानीमा सहजीकरण हुनुपर्नेलगायतका विषयमा छलफल भएको संघका महासचिव वैकुण्ठ दाहालले बताए ।
कार्यक्रममा विभागका उपमहानिर्देशक शर्माले व्यवसायीका समस्या विभागको पनि भएको बताए । ‘तपाईंहरुले राख्नुभएका समस्याहरु विभागका पनि हुन् । अब यस्ता समस्यालाई सहजीकरण गर्न व्यवसायीसँग विभागले सधैं समन्वय गर्नेछ ।’ उनले भने । विभागले महामारीको बेलामा पनि दैनिकी चलायमान बनाउन र आपूर्ति श्रंखलालाई कायम राख्न विभाग मातहतका सम्पूर्ण निकाय अनवरत लागि परेको बताए । उनले भने, ‘संकटमा पनि व्यवसायीले आम उपभोक्ताको दैनिकीलाई चलायमान बनाएकोमा सबैले व्यवसायीप्रति सम्मान गर्नुपर्छ ।’
अन्तक्र्रियामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भन्सार एजेन्टको विषयमा विभागबाट काम कारबाही अघि बढिसकेको र छिट्टै नै थप एजेन्टहरु नियुक्त गर्ने बताए । ‘सामानको भुक्तानीको विषयमा पनि टीटी/डीएपीको विषय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकबाट हुन्छ । त्यसमा पनि विभागले समन्वय गर्नेछ ।’ उनले भने ।
संघका अध्यक्ष कमल अग्रवालले विभागबाट जारी गरिएका नीति नियम र भन्सार सम्बन्धिका समस्या र जिज्ञासा एक आपसमा छलफल गर्दा यसले विभाग र व्यवसायीबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।
प्रकाशित समय २०:३७ बजे

















