गृहपृष्ठ सामान्य घट्यो नबिल बैँकको नाफा

सामान्य घट्यो नबिल बैँकको नाफा

Nabil_NewsKarobar

नबिल बैँकको खुद नाफा सामान्य घटेको छ । बिहीबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवमा बैँकको नाफा १.२६ प्रतिशतले घटेको हो ।

चालू आवको दोस्रो त्रैमासमा बैँकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैँकले गत आवको पुससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । दोस्रो त्रैमासम्ममा बैँकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ छ ।

बैँकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोडबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन आम्दानी २२ करोड ७७ लाखबाट घटेर १६ करोड ३३ लाख रुपैयाँमा झरेको छ । त्यस्तै सञ्चालन नाफा पनि २ अर्ब ९० करोडबाट घटेर २ अर्ब ८६ करोडमा सीमित भएको छ ।

पुससम्ममा बैँकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ४८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार बैँकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६ प्रतिशतमा झरेको छ ।

चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैँकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ छ । त्यस्तै आधार दर ८.१ प्रतिशतबाट ५.७६ प्रतिशतमा र स्प्रेड दर ४.९९ प्रतिशतबाट ४.७ प्रतिशतमा झरेको छ । नाफा घटेसँगै बैँकको प्रतिसेयर आम्दानी पनि ४५.१६ रुपैयाँबाट घटेर ४०.७१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु