गृहपृष्ठ नाडाद्वारा बुटवलमा कर, भन्सार तथा भीसीटीएससम्बन्धि प्रशिक्षण
नाडाद्वारा बुटवलमा कर, भन्सार तथा भीसीटीएससम्बन्धि प्रशिक्षण
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा बुटवलमा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।
अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै यस्तो कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहज हुने बताए ।
विगत केही वर्ष अघिदेखि विभिन्न प्रदेशहरुमा समेत नाडाले यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र बाँकी प्रदेशहरुमा पनि सम्पन्न गर्दै जाने बताए । सो कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष श्री गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ,’ उनले भने आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजस्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार वि.सी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कुल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय १६:२८ बजे

















