गृहपृष्ठ सरकारविरुद्ध आन्दोलनका कार्यक्रम व्यापक बनाउन कांग्रेसको अपिल
सरकारविरुद्ध आन्दोलनका कार्यक्रम व्यापक बनाउन कांग्रेसको अपिल
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको सपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रम व्यापक बनाउन सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखि नै कुल्चिँदै आएको टिप्पणी गरेका छन् । त्यसविरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रस्ट रुपले विरुद्धमा उभिएको उनको स्पष्टोक्ति छ ।
‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथ ग्रहण संविधानको मर्मविपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न दृढ रहेको जनाएको छ । कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि आन्दोलनका लागि अपिल गरेको छ ।
वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालिन ढंगले प्रस्तुत हुँदै आएको उल्लेख गर्दै कांग्रेसले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरेको बताएको छ । प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रममार्फत व्यापक जनमत प्रकट भइरहेको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसले संसद् विघट्नविरुद्ध पुस १३, पुस २५, यही माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरुबाट विरोध प्रदर्शन गरेको छ । माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शनपश्चात् फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको प्रवक्ता शर्माले जनाएका छन् ।
प्रकाशित समय २०:५५ बजे
















