गृहपृष्ठ नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।
गत वर्ष चैतदेखि कोभिड १९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।
उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । गत पुसमा अनलाइन फाराम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो ।
निश्चित समयमात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले सेवाग्राहीले फाराम भर्न सकेका थिएनन् । अहिले फाराम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुसालले जानकारी दिए ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरु पनि बन्द भएका थिए । कोभिड १९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो ।
कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।
संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी संघ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ ।
कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा बागमती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय छन् । (रासस)
प्रकाशित समय ०७:१० बजे

















