गृहपृष्ठ घोषणापत्र नै मेरो कार्यकालको कार्यतालिका : पौडेल

घोषणापत्र नै मेरो कार्यकालको कार्यतालिका : पौडेल


नेकपा एमालेका रामेछापका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडैल रामेछापबाट प्रदेशसभा ‘क’को प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । तीन दशकभन्दा बढी समयदेखि एमालेमा आबद्ध पौडेल २०६९ सालयता जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । उनै पौडेलसँग न्यूज कारोबारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी :

तपाईलाई रामेछापका जनताले स्वच्छ छवि भएको नेता भन्छन्, सांसद भएपछि तपाईको निष्पक्षता कस्तो रहन्छ ?
– यो प्रश्न नियतसँग जोडिएको बिषय हो । यो स्वच्छता कायम रहन्छ । हामी सकेसम्म पारदर्शी कतिको रहने भन्ने बिषय हो । हाम्रा आवश्यकता र चाहनाहरुलाई नियन्त्रण गर्नुपर्छ । हिजो जनप्रतिधि नहुँदा र आज हुँदा पनि त्यतिकै रहनुपर्छ ।

त्यसो भए तपाई नैतिकतामा दृढ हुनुहुन्छ ?
– एकदम नैतिक प्रश्नमा दृढ छु । जनताको सेवामा दृढ छु रहिरहनेछु ।

तपाईसँग रामेछापका जनता धेरै आशावादी छन्, कसरी सम्बोधन गर्नुहुन्छ ?
– निश्चय नै हो । जनताले आशा गरेको १०० मा ६० प्रतिशत आसा पुरा गर्छु । यद्यपी रामेछापको सवालमा भन्दा अलि गाह्रो छ । रामेछाप यस्तो जिल्ला हो, जहाँको धेरै जनशक्ति बाहिर छ, जुन हाम्रो विकास निर्माणको दक्ष जनशक्ति हो । रामेछापमा भएको स्रोतसाधन तथा जनशक्तिबीच समन्वयन गरी काम गर्छौ । सामुहिक हितलाई केन्द्रमा राख्छौं । चार तहको कम्पोनेन्टका आधारमा हामी काम गर्छौ । सबैको सहभागिता र सहमतिमा हाम्री काम गर्छौ ।

तपाईले आफ्नो कार्यकालको तालिका के हो ?
– हामीले चुनावको बेलामा नै घोषणापत्र बनाएका छौं, त्यहि अनुरुप काम गर्ने हो । हिजो चुनावमा गरेको वाचा र घोषणापत्र नै मेरो कार्यकालको कार्यतालिका हो । जनताका आधारभूत कुरा जुन बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरु सुरु भइसकेका छन् । प्रमुख कुरा नियम कानून बनाउने हो । जनतालाई विकास निर्माणमा प्रत्यक्ष सहभागी गराउनुपर्छ । मेरो कार्यकालमा यी महत्वपूर्ण कामहरु हुनेछन् ।

अहिले दुई पार्टी एक हुने अवस्थामा छन्, कार्यकर्ता व्यव्स्थापन र भेटघाट कसरी गर्नुहुन्छ ?
–पहिलो कुरा हामीले के जान्नु पर्छ भने एउटै नीति र एउटै सिद्धान्त भएको दुई वटा पार्टी एउटा देशमा रहँदैन । दोस्रो कुरा पार्टी एकता सानो सोच र क्षणिक हितको लागि हुन लागेको होइन । यहाँ सबै नेताहरु एक एक स्टेप तल आउन तयार भएर र देशको विकास, समृद्धिलाई प्रमुख स्वार्थ बनाएर गरिएको हो । यति कुरा भएपछि केही समस्या हुँदैन । मैले भ्याएसम्म कार्यकर्तालाई समय दिएको छु । कार्यकर्ता विना नेता बन्नै सकिँदैन ।

उसोभए, तपाईको कार्यकालमा रामेछापका जनताले फरक के पाउँछन् ?
सबै वडाबाट पालिकाको मुकामसम्म बाह्रै महिना सवारी चल्ने बाटो बन्छ । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्छ । शिक्षालाई गुणस्तरियता कायम हुन्छ । कृषिलाई आधुनीकिकरण तथा व्यवसायीकरण गर्ने काम सुरु भइसकेको छ । जलविद्युतमा जनताको प्रत्यक्ष सहभागीता हुन्छ । खानेपानीको व्यवस्थापन हुन्छ । मेरो कार्यकालमा यी महत्वपूर्ण कामहरु रामेछापका जनताले पाउनेछन् ।

प्रदेश नं. ३ को राजधानी हेटौडा नै कायम हुन्छ ?
– छलफल भइरहेको छ । सबैको पायक पर्ने ठाउमा सार्ने प्रयत्न गर्छौ । तीन चार ठाउँको कुरा उठिरहेको छ । हेटौडा या अन्य भन्ने भयो भने सर्छ, नत्र हेटौडा नै हुन्छ । यो प्रदेशसभाले छलफबाट टुंग्याउने विषय हो । यदी छलफलबाट टंगिएन भने बहुमतका आधारमा निर्णय हुन्छ ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु