गृहपृष्ठ कसले जित्ला सुनको जुत्ता ? मेस्सी र रोनाल्डो मुख्य दाबेदार !

कसले जित्ला सुनको जुत्ता ? मेस्सी र रोनाल्डो मुख्य दाबेदार !

विश्वकपमा उपाधिसँगै चर्चा हुने अर्को पुरस्कार हो, गोल्डेन बुट । यो खेलाडीको प्रतिष्ठासँग जोडिएको अत्यन्तै महत्वपूर्ण उपाधि हो । यसले खेलाडीलाई विश्वमा प्रख्यात बनाउनेमात्रै होइन, उसको भविष्य पनि सुनिश्चित गरिदिन्छ । त्यसैले खेलाडीका लागि यो लोभलाग्दो पुरस्कार हो भने आमदर्शकका लागि चाखलाग्दो ।

गोल्डेन बुट पाउन त्यति सजिलो पनि छैन । व्यक्तिगत उपाधिका रूपमा रहेको यो उपाधि पाउन विश्वकप प्रतियोगितामा सर्वाधिक गोल गर्नपर्छ ।

 

जेम्स रोड्रिगुएज

पछिल्लो संस्करणमा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिगुएजले गोल्डेन बुट जितेका थिए । त्यसपछि उनको स्टाटस नयाँ उचाइमा पुगेको छ । गोल्डेन बुट जितेपछि उनलाई स्पेनिस क्लब रियल मड्रिडले किन्यो । हाल बायर्न म्युनिखमा रहेका उनले करियरलाई थप उचाइतर्फ लौजाँदै छन् । रूसमा हुने प्रतियोगिता उनको लागि दोस्रो विश्वकप हो । यसपटक पनि उनी कोलम्बियाका पहिलो रोजाएका खेलाडी हुन् ।

 

थोमस मुलर

सन् २०१० को विश्वकपमा पाँच गोल गरेर जर्मनीका थोमस मुलरले सुनको जुत्ता हात पारेका थिए । स्मरणीय छ, त्यतिबेला उरूग्वेका डिएगो फर्लान, डच खेलाडी वेस्ली स्नाइडर र स्पेनका डेभिड भिल्लाले पनि समान पाँच/पाँच गोल नै गरेका थिए । तर, गोल्डेन बुट मुलरले पाए । डिएगो फर्लानले गोल्डेन बल पाए ।

 

मिरोस्लाभ कोज

सन् २००६ को विश्वकपमा जर्मनीले उपाधि उचाल्न सकेन तर खेलाडीले व्यक्तिगत रूपमा पाउने गोल्डेन बुट भने जर्मनीकै मिरोस्लाभ कोजले पाउन सफल भए । उनले विश्वकपमा पाँच गोल गर्दै सुनको जुत्ता पाएका थिए ।

 

रोनाल्डो

एकै विश्वकपमा आठ गोल गरेका ब्राजिलियन खेलाडी रोनाल्डोले सन् २००२ मा गोल्डेन बुट हात पारेका थिए ।

 

डेभोर सुकर

सन् १९९८ मा फ्रान्स विश्वकपमा गोल्डेन बुट क्रोसियाका डेभोर सुकरले जिते । क्रोसियन स्ट्राइकर डेभोरले विश्वकप फुटबलमा सर्वाधिक ६ गोल गरेका थिए ।

 

सालंको र बुल्गेरियाका हृस्टो स्टोइकोभ

सन् १९९४ मा भएको विश्वकप फुटबलको गोल्डेन बुट दुईजना खेलाडीले पाएका थिए । विश्वकपमा समान ६–६ गोल गरेका रूसका सालंको र बुल्गेरियाका हृस्टो स्टोइकोभले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेका थिए ।

 

साल्भाटोर स्चिलाची

सन् १९९० को विश्वकप फुटबल जर्मनीले जित्दा सर्वाधिक गोलकर्ता भने इटालीका साल्भाटोर स्चिलाची भएका थिए । उनले ६ गोल गर्दै सुनको जुत्ता हात पारेका थिए ।

 

ग्यारी लिनकर

ग्यारी लिनकर सन् १९८६ को विश्वकप फुटबलमा सुनको जुत्ता जित्ने खेलाडी हुन् । उनले मेक्सिकोमा भएको विश्वकपमा सर्वाधिक ६ गोल गरेका थिए ।

 

पाओलो रोसी

सन् १९८२ मा स्पेनमा सम्पन्न विश्वकप फुटबलको उपाधि इटालीले उचाल्दा सर्वाधिक गोलकर्ता पनि इटालीकै पाओलो रोसी बने । उनले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट उचाले ।

 

मारियो क्याम्पेस

सन् १९७८ मा अर्जेन्टिनाले आफ्नै आयोजनामा पहिलोपटक विश्वकप फुटबलको उपाधि चुम्यो । यो विश्वकपमा अर्जेन्टिनाकै मारियो क्याम्पेसले सर्वाधिक ६ गोल गरे र गोल्डेन बुट पनि पाए ।

 

ग्रेजगर्ज लाटो

सन् १९७४ को विश्वकपमा सर्वाधिक सात गोल गरेका पोल्यान्डका ग्रेजगर्ज लाटोले गोल्डेन बुट जिते ।

 

गेर्ड मुलर

सन् १९७० को विश्वकप फुटबलमा दुई ह्याट्रिक गोल गरेका विश्व कीर्तिमानी खेलाडी गेर्ड मुलरले सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट प्राप्त गरेका थिए ।

 

युसेवियो

सन् १९६६ को विश्वकपमा पोर्चुगाली खेलाडी युसेवियोले सर्वाधिक ९ गोल गर्दै गोल्डेन बुट हात पारेका थिए । विश्वकपको उपाधि आयोजक राष्ट्र इंग्ल्यान्डले जिते पनि युसेवियो त्यसबेला सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

 

फन्टाइन

फ्रान्सेली स्ट्राइकर फन्टाइन त्यस्ता खेलाडी हुन्, जसले एकै विश्वकपमा १३ गोल गरेका छन् । सन् १९५८ को विश्वकपमा फन्टाइनले १३ गोलको कीर्तिमान बनाएका थिए । स्विडेनले पहिलोपटक आयोजना गरेको विश्वकपको उपाधि ब्राजिल जित्न सफल भयो । तर, सर्वाधिक गोलकर्ता बनेका फन्टाइनले गोल्डेन बुट जिते ।

 

स्यान्डोर कोक्सिस

सन् १९५४ को विश्वकपमा सर्वाधिक ११ गोल गर्दै हंगेरीका स्यान्डोर कोक्सिसले गोल्डेन बुट जितेका थिए ।

 

एडमिर

सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बने ब्राजिलियन फरवार्ड एडमिर । उनले ८ गोल गरेर गोल्डेन बुट हात पारेका थिए ।

 

लेओनिडास

ब्राजिलका लेओनिडासले सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा सर्वाधिक सात गोल गर्दै गोल्डेनबुट जितेका थिए ।

 

ओल्ड्रिच नेजेड्ली

सन् १९३४ मा स्टालीमा सम्पन्न विश्वकपमा चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्लीले सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट लगे ।

 

गुइर्लिमो स्टेविल

अर्जेन्टिनाका फरवार्ड गुइर्लिमो स्टेविलले सन् १९३० को पहिलो विश्वकपमा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुटमा हक जमाएका थिए ।

 

यसपटक को–को दाबेदार ?

रूस विश्वकपमा पनि केही खेलाडी गोल्डेनबुटका दाबेदारका रूपमा हेरिएका छन् । विश्वचर्चित फुटबलरद्वय अर्जेन्टिनी लियोनल मेस्सी र ब्राजिलियन क्रिस्टियानो रोनाल्डोलाई गोल्डेनबुटका मुख्य दाबेदार मानिएको छ । ब्राजिलका नेयमार र ग्याब्रियल जेसस दुवै यस उपाधिको होडमा रहने अनुमान गरिएको छ । जर्मनीका युवा स्ट्राइकर टिमो वेर्नर, इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र उरूग्वेका स्ट्राइकर लुइस स्वारेजका आँखा पनि गोल्डेन बुटमा हुनेछ ।

भिडियो गेम फिफाले भने यसपटक गोल्डेन बुट फ्रान्सका एन्टोइन ग्रिजम्यान वा स्पेनका इस्कोले जित्ने अनुमान गरेको छ । यद्यपि, विश्वकपको इतिहास नियाल्ने हो भने कुनै नयाँ खेलाडी नचम्किएलान् भन्न सक्ने स्थिति भने छैन ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु