गृहपृष्ठ आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन

आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन

विगतका घटनाक्रमलाई सकेसम्म दोहोरिन दिनहुन्न

२०४८ सालमा नेकपा (मशाल) को तर्फबाट सांसद बनेका कृष्णबहादुर महरा तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेपछि सोही युद्धमा होमिए । २०६२/६३ को राजनीतिक परिवर्तनसँगै तत्कालीन अन्तरिम सांसदका रुपमा पुनः संसद प्रवेश गरेका महरा त्यसयताका सबै संसदमा सहभागी र पटक-पटक प्रभावशाली मन्त्री तथा उपप्रधानमन्त्रीसमेत भए । नेपालको संविधान जारी भएपछि पहिलोपटक भएको संघीय संसदको निर्वाचनपछि प्रतिनिधि सभाका सभामुख बनेका महरासँग न्युज कारोबारकर्मीले संसदीय मामिला, सरकार-संसद सम्बन्ध लगायतका विषयमा गरेको कुराकानी :

 

प्रतिनिधि सभाको सभामुख निर्वाचित भएको १०० दिन वितिसकेको छ, कस्तो अनुभूति हुँदैछ ?
तुलनात्मक रुपमा अहिले फरक भूमिकामा छु । यो मेरो स्वभाव मिल्ने भूमिका हो । संसदमा प्रतिनिधित्व गर्ने सबैको भावनालाई समेटेर लैजाने भूमिकामा छु । चुनौती धेरै छन् । सम्भावित चुनौतीलाई वहन गरेर अघि बढ्नेछु । अहिलेसम्मको अनुभवले पनि यो भूमिका निर्वाह गर्न आत्मबल बढाएको छ ।

सरकारसँग दुईतिहाई बहुमत छ, यस्तो अवस्थामा संसद सदस्यको भावना समेटेर कसरी अघि बढ्नुहुन्छ ?
निर्वाचनपछि चुनिएको यो प्रतिनिधिसभासँग नयाँ कार्यभार छन् । यसको मुख्य कार्य संघीयता कार्यान्वयन गर्नु हो । त्यसका लागि कतिपय कानुन निर्माण र संशोधन गर्नु छ । यी विषय कार्यसूचीको एक नम्बरमा पर्छन् । संसदमा झन्डै दुई तिहाई सांसद एकपक्षका छन् । तर, अन्य सदस्यको पनि विचारलाई सम्बोधन गर्नुपर्छ । संख्या एउटा पक्ष हो तर हरेक सांसदले उठाएका विषय जनताका आवाज हुन्, त्यसलाई समेट्नुपर्छ । सर्वप्रथम सहमतिमा सबैको भावना समेट्ने गरी कानुन निर्माण गर्ने प्रयास रहन्छ । यस क्रममा मतदानलाई अन्तिम विकल्पका रुपमा मात्रै प्रयोग गरिनेछ ।
संसद राजनीतिक दलको प्रतिनिधित्वमात्र नभई जनताको प्रतिनिधिमूलक आवाज उठ्ने थलोसमेत हो । दलीय प्रतिनिधित्वसँगै जनभावनालाई सम्बोधन गर्ने निकायका रुपमा संसदलाई हेरिनुपर्छ । सबैको विचार अभिव्यक्त र छलफल गर्ने वातावरण बनाउने भूमिका मैले निर्वाह गर्नेछु । संसदमा प्रस्तुत भएका विषयमा सबैलाई समेट्ने प्रयास हुनेछ । सबैको भावना समेट्न नसकेको अवस्थामा अन्तिम विकल्पको रुपमा बहुमतीय प्रणालीबाट त्यस्ता कानुन बनाउनुपर्ने हुन्छ । संसदमा पेस गर्ने विधयेकमा सबैका भावना समेट्ने गरी आउन सरकारको ध्यानाकर्षण गराउनेछु । यसका लागि सरकारबाट सकारात्मक तथा रचनात्मक सहयोगको अपेक्षा गरेको छु । सरकार र संसदको समन्वयमा संसदलाई मर्यादापूर्वक अघि बढाई साझा कानुन बनाउने काममा तल्लीन बनाउनेछौं । समग्रमा, जनभावना समेटेर अघि बढ्नेमा मेरो ध्यान केन्द्रित छ ।

संविधानको कार्यान्वयनका लागि असोज ३ गतेभित्र ऐनहरु निर्माण गरिसक्नुपर्नेछ । त्यसका लागि सरकारले संसदमा कति विधेयक दर्ता गराएको छ ?
पहिलो अधिवेशन समाप्त भएपपछि बजेट अधिवेशनको रुपमा दोस्रो अधिवेशन चलिरहेको छ । पहिलो अधिवेशनमा सभामुख, उपसभामुखको चुनाव, प्रधानमन्त्रीले विश्वासको मत लिने कुराहरुसहित राष्ट्रपतिको सम्बोधन जस्ता कुरा भए । बिजनेसका हिसावले चालू बजेट आधिवेशनबाट धेरै आशा गरेका छौं । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भयो । यही अधिवेशनमा सदनले आफ्नो नियमावली पारित गर्याे, नियमावली र नीति तथा कार्यक्रम पारित भई बजेटमाथिको छलफल जारी छ । सरकारले अहिलेसम्म गृह मन्त्रालयअन्तर्गतको एउटा विधेयक सदनमा दर्ता गराएको छ । अन्य विधेयकको तयारीमा सरकार छ । बजेट पारित भएपछि सदनमा असोजभित्र बनाइसक्नुपर्ने कानुन बनाउने काममा लाग्नेछौं । असोजअघि धेरै कानुन बन्नुपर्छ । थुप्रै कानुन निर्माण गर्नुपर्ने भएकाले प्राथमिकतामा राखेर काम हुनेछ । तत्काल आवश्यक कानुन तुरुन्तै बनाउने त्यसपछि क्रमशः बन्दै जान्छन् ।

संसदमा अहिले विधेयक आएका छन् कि छैनन् ?
अहिले गृह मन्त्रालयअन्तर्गतको एउटा विधेयक दर्ता भएको छ । अन्य विधेयक बन्ने क्रममा रहेको जानकारी पाएको छु । पहिला व्यवस्थापिका संसद थियो । त्यहाँ आएका विधेयक सबै फर्केर गएका छन् । ती विधेयक नयाँ ढंगले आउँछन् । सम्बन्धित मन्त्रालयले विधेयक निर्माण गरी मन्त्रिपरिषदमार्फत सदनमा पेस गर्ने तयारी गरिरहेको जानकारी आएका छन् ।

विगतमा सदनमा मर्यादाविपरीतका गतिविधि पनि भए, अबको संसदलाई मर्यादित बनाउन कस्तो योजना छ ?
संविधानसभा या रुपान्तरित व्यवस्थापिका संसदमा राजनीति घुसेको थियो, संविधान निर्माणको चरण थियो । त्यसबखत संविधानका कतिपय विषयमा पार्टीहरुमा मेल थिएन । अब त्यस्तो हुँदैन । संसदलाई सकेसम्म मर्यादित, संयमित बनाउँदै विश्वसनीय ढंगले अघि बढाउने कोशिश हुन्छ । राजनीतिक विषयहरुमा असहिष्णुता आयो, असमझदारी बढे भने मर्यादित बनाउने कोशिश गर्छाैं । विगतको जस्तो मर्यादाविपरीतका घटना हुने सम्भावना कम देखिएको छ ।

कोरम नपुगेर पटक-पटक संसद बैठक प्रभावित हुने गरेको छ, सांसदलाई संसदमा कसरी व्यस्त बनाउन सकिन्छ ?
विगतमा त्यस्तै भएको हो । अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने अहिले पनि त्यस्तै देखिन्छ । सांसदहरु बसे पनि हुने नबसे पनि हुने जस्तो छ । नेपालको हकमा भने प्राविधिक रुपमा समस्या देखिन्छ । त्यो अब क्रमशः हट्छ । संघीय संसदका जनप्रतिनिधिको उपस्थितिमा नै कानुन बनाउनुपर्ने हुन्छ ।
प्रदेश सरकार बनिसकेको स्थितिमा अधिकांश योजना तथा कार्यक्रम, विकासका योजना र कार्यक्रम अब तल नै हुन्छन् । प्रदेश सरकार पूर्णरुपमा कार्यान्वयनमा गएपछि विकास निर्माणसम्बन्धी कुराहरु संघीय सरकारका मन्त्रीहरुलाई भन्नुपर्ने, धाउनुपर्ने स्थिति कम हुन्छ । सांसदहरुमा संसदप्रति अभिरुची बढाएर जाने वातावरणको निर्माण गर्ने सोच छ ।
यस्तै मन्त्रीहरुलाई पनि सांसदहरुले उठाएका कुरामा जवाफदेही बनाउने काम थालेका छौं । नियमावलीमा कम्तीमा एक हप्तामा दुईजना मन्त्रीले संसदमा जवाफ दिने १५ दिनमा प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा संसदमा उपस्थित भएर जवाफ दिने व्यवस्था गरेका छौं । यति भएपछि सांसदहरुको अभिरुची संसदमा रहनेछ ।

संसदीय प्रक्रियामा बहुमतीय आधारमा मात्रै निर्णय लिँदा समस्या आउँदैनन् र ?
प्रकृयागत रुपमा निष्कर्षमा पुग्दा सकेसम्म सहमतिका आधारमा निर्णय लिने कोशिस हुन्छ । बहुमतीय भनेको अन्तिम उपाय हो । एउटा निर्णय त गर्नुपर्यो, कहिल्यै निष्कर्षमा नपुग्ने त हुँदैन । हाम्रो प्रयास सहमति गर्ने हो । तर, सहमति नजुटे बहुमतीय प्रक्रियामा जानुपर्ने हुन्छ । अल्पमत बहुमत पनि लोकतान्त्रिक अभ्यास नै हो, यसलाई लोकतन्त्रभन्दा बाहिर सोच्न हुँदैन । यसकारण अन्तिम उपायको रुपमा बहुमतिय प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ ।

संसद र संसदीय समितिहरुले सरकारलाई दिएका निर्देशन पालना नभएका घटना धेरै छन् । सरकारलाई संसद र संसदको निर्देशनप्रति कसरी जिम्मेवार जवाफदेही बनाउन सकिन्छ ?
संसद सरकार उत्पत्ति गर्ने र त्यसलाई नियन्त्रण र निर्देशन गर्ने, सरकारप्रति अविश्वास व्यक्त गर्ने थलो पनि हो । त्यसैले सरकारले अब पहिलेजस्तो गर्न सक्दैन । सरकारलाई संसदप्रति जवाफदेही बनाइनेछ । अहिलेसम्मको व्यवहारले सरकार संसदप्रति उत्तरदायी नै देखिन्छ । त्यसैले विगतका घटनाक्रमलाई सकेसम्म दोहोरिन दिनहुन्न ।

प्रदेश सरकार निर्माण भइसकेको सन्दर्भमा सांसदहरुका छुट्टै योजनाका लागि बजेट राख्नु कति सान्दर्भिक छ ?
वास्तवमा, प्रदेश सरकरले पूर्णरुपमा कार्य गर्न सुरु नगरेसम्म सांसदहरुले केही वर्ष विकासका योजनामा पनि काम गर्नुपर्ने हुन्छ । सांसदहरुको मुख्य काम ऐन, कानुन, नियम बनाउने हो । जिल्लामा हुने विकासका काम स्थानीय र प्रदेश सरकारलाई दिनुपर्छ । यो अवस्था सिर्जना नभएसम्म तत्कालका लागि सांसदको जिम्मेवारीमा आयोजना दिँदा जनतासँगको सम्बन्ध कायमै रहन्छ ।

प्रतिनिधिसभाका संसदीय समितिको संख्या किन बढिरहेको छ ?
यसमा सरकारका मन्त्रालयको संख्यालाई हेर्दा प्रस्ट हुन्छ, १५ मन्त्रालय बनाउने भनेकोमा १८ हुँदै अहिले २१ पुगेको छ । यो राजनीतिक रुपमा पनि हो । सरकारमा देखिएको यो रुप संसदका समिति बनाउने विषयमा पनि सरेको छ । नियमावली बनाउने समितिमा सबै दलको साथिहरुले सहमति गरेरै संख्या बढाएर ल्याउनुभएको छ । सचिवालयको तर्फबाट त हामीले सात समिति बनाउने प्रस्ताव राखेकोमा उहाँहरुले १० बनाउने प्रस्ताव अगाडि ल्याउनुभएको हो । त्यसलाई सदनमा प्रस्तुत गरेर निर्णय भइसकेको छ ।

कानुन निर्माणमा संसद चुकेका घटाना धेरै छन्, संसद किन यसरी चुक्छ ?
कानुन निर्माणमा संसदको अन्तिम भूमिका रहने भए पनि विधेयक सरकारले पेश गर्दछ । त्यसबखत सरकारले सरोकारवालाहरुसँग पनि छलफल गर्दछ । संसदमा विधेयक आएपछि समितिमा छलफल गर्दा सरोकारवालाहरुलाई समेत सहभागि गराएर विधेयक पास हुन्छन् । विधेयकहरु सजिलै पास हुँदैनन् । यसो हुँदा पनि समस्या तथा गुनासाहरु सुनिँदै आएका छन् । सदनमा आवाज उठेपछि निर्णय लिने समयमा अधिकतम् बढी आवाजहरु सुनेर नै त्यसमा समेटिने छन् । कमजोरीहरु सकेसम्म दोहोरिँदैनन् ।

महत्वपूर्ण कानुन निर्माण गर्नुपर्ने अवस्थामा संसद बैठक सञ्चालन प्रक्रियामा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
सबै विषयलाई समेटेर बैठक चलाउँछौं । संसदका कारवाहीहरु, जस्तो शुन्य समय, विशेष समय, ध्यानाकर्षण, संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउन दिन्छौं । अब प्रश्नोउत्तरको कार्यक्रम थप चलाउँछौं । संसदका सबै कारबाही चलायो भने सांसदहरु संसदमा इङ्गेज हुने वातावरण बन्छ ।

संघीय संसदका दुई सदनबीचको सम्बन्ध र समन्वय कस्तो रहन्छ ?
राष्ट्रिय सभाको परिकल्पना अभिभावकीय भूमिका खेल्नका लागि गरिएको हो । प्रतिनिधि सभाबाट आएका कुरामा त्रुटीहरु हुनसक्छन् । त्यसलाई सच्याउने र प्रतिनिधि सभामार्फत राम्रो कानुन बनोस भनेर नै दुई सदनको परिकल्पना गरिएको हो । दुई सदनबीचमा समन्वयमा काम गर्ने र एकले अर्कोका त्रुटीहरु पहिल्याउने तथा सच्याउने भूमिकाका आधारमा सम्बन्ध र समन्वय कायम रहन्छ । दुबै सदनलाई मर्यादित र सशक्त बनाउने विषयमा हामी सचेत भएर लागेका छौं । राम्रो कानुन निर्माणका लागि समन्वय गरेर अघि बढ्ने छौं ।

संसदीय व्यवस्थाको पनि विरोध भइरहेको छ, संविधानप्रति असन्तुष्टि पनि छन्, यो व्यवस्थामा केही सुधार गर्नुपर्ने हो ?
ठूलो आँधीबेहेरी आउने किसिमले संसदीय व्यवस्थाको विरोधमा आवाज आएको छैन । संविधानमा केही आवश्यक विषयहरु थप्नुपर्ने र संशोधन गर्नुपर्ने विषय सबैले स्वीकार गरिरहेका छन् । संसदीय व्यवस्थामा भएको केही कमजोरीहरुलाई सुधार गरेर सुदृढ लोकतन्त्रको अभ्यासमा जुट्ने समय भएको छ । संसदमा सहभागी नभएका दलहरुले विरोधका लागि विरोध गरिरहेका छन् । सुधार तथा संशोधन सहमति हुनसक्ने विषय हो भने संविधानकै विरोधमा उत्रने सयम यो होइन । संसदमा नभएका पार्टीका आवाज पनि संसदमा प्रस्तुत होस् भन्ने मेरो चाहाना छ । संसदमा प्रतिनिधित्व नगर्ने पार्टीका मागलाई समेत संसदमा सहभागी सांसदहरुले जनप्रतिनिधिको रुपमा समेट्ने वातावरण हुनुपर्छ ।

कतिन्जेल भाडाकै घरमा बैठक सञ्चालन गर्ने ? संसद बैठक आफ्नै भवनमा कहिले बस्छ ?
नयाँ संसद भवन निर्माण गर्ने विषयमा सरकारको विशेष ध्यानाकर्षण भएको हामीले पाएका छौं । प्रधानमन्त्रीज्यूले आगामी दुई वर्षभित्र आफ्नै भवनमा बैठक बस्ने गरी काम गर्न तदारुकता देखाउनु भएको छ । लामो सयमदेखि संसद भवन निर्माणका लागि नेपाली सेनाले प्रयोग गर्दै आएको सिंहदरबारस्थित पुतली बगैचा प्रयोग गर्ने विषयमा अन्तिम टुंगोमा पुगेका छौं । मैले यस विषयमा प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिसकेको छु । गृहमन्त्रालय पछाडिको खाली जग्गामा सेनालाई सारेर पुतली बगैँचामा संसद भवन बनाउने विषयमा प्रधनसेनापति पनि सहमत हुनुभएको छ । भवन निर्माणका लागि संसदको महासचिवको नेतृत्वमा एक समिति गठन भएको छ । नेपाली सेनाले पुतली बगैंचाको जग्गा संसदलाई उपलब्ध गराउने र गृह मन्त्रालयपछाडिको खाली जग्गा सेनालाई दिने विषयमा समझदारी भइसकेको छ । दुई वर्षभित्रमा संसद आफ्नै भवनमा सर्छ ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु