गृहपृष्ठ जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेको भन्दै गत पुस १४ गते मतदान गरी फाल्गुनन्द-३, कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् ।

वडा नं १ का अध्यक्ष होमप्रसाद आङदेम्वे, वडा नं २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नं ४ का अध्यक्ष मनबहादुर चेम्जोङले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै बहुमतले निर्णय गरेको कोल्वुङमा गाउँपालिका केन्द्र नसारिए कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने बताए । उनीहरूले जितेन रोशन आङदेम्वे संयोजक रहेको संघर्ष समिति गठन गरेका छन् ।

जनप्रतिनिधिहरूले गाउँपालिका केन्द्र कोल्वुङ सार्न दबाबमूलक कार्यक्रमसँगै उच्च अदालत इलाममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकालाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी भइरहेको बताए । हाल फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा सञ्चालन भइरहेको छ ।

गत पुस १४ गते गरिएको मतदानमा घुर्विसेका पक्षमा १८ र कोल्वुङका पक्षमा १९ मत परेपछि मतदानमा बहुमतले गरिएको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । गाउँपालिका अध्यक्ष अम्बरबहादुर नेम्वाङले प्राविधिक कारणले केन्द्र सार्न ढिलाइ भइरहेको बताए ।

(रासस)

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु