गृहपृष्ठ प्रदेश ७ को बजेट पारित, भौतिक पूर्वाधारमा ३७.२ प्रतिशत बजेट

प्रदेश ७ को बजेट पारित, भौतिक पूर्वाधारमा ३७.२ प्रतिशत बजेट

अर्थ विविध शिर्षकमा २ अर्ब ५० करोड बजेट

pradesh-7-newskarobar.com

प्रदेश ७ को आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले पेश गरेको २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट शनिबार पारित भएको छ । असार ३ गतेदेखि जारी बजेट माथि छलफल सकिएपछि शनिबार बजेट पारित भएको हो ।

बिनियोजन बिधेयक (बजेट), अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसंगै प्रदेश सञ्चित कोषबाट खर्च गर्न सक्नेगरी ब्यवस्था गर्न बनेको बिधेयक पनि प्रदेश सभाको शनिबारको बैठकबाट पारित भएको छ । शनिबारको बैठकबाट पारित भएको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने छ ।

प्रदेश सरकारको राजश्व तथा ब्ययको बिबरण (बजेट) प्रदेश सभामा निर्णयार्थ पेश हुनुअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेटका सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री बोहराले डल्लो बजेट नाम दिएर अर्थ विविध शिर्षकमा राखिएको बजेटका बारेमा बढी चर्चा भएको भन्दै सो बजेट प्रदेश भित्रका स्थानीय तहहरुलाई सशर्त अनुदान र बिशेष अनुदान दिन राखिएको बताए ।

अर्थ विविध शिर्षकको बजेट मध्ये स्थानीय तहलाई दिइने सशर्त अनुदानका लागि १ अर्ब र बिशेष अनुदानका लागि ५० करोड छुट्ट्याइएको मन्त्री बोहराको प्रष्टिकरण छ । सोही शिर्षकमा प्रदेशमा रहेका ३२ निर्वाचन क्षेत्रमा शुरु गर्न लागिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्ट्याएको ६४ करोड रुपैया पनि रहेको उनले बताए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि दुई करोड रुपैया छुट्ट्याइएको छ । उनले यस्तै अन्य केही साना कामका लागि समेत गरी अर्थ विविध शिर्षकमा २ अर्ब ५० करोड रुपैया रहेको बताए । यो रकम कुल बजेटको २३ दशमलव ८५ प्रतिशत हो ।

मन्त्री बोहराले मन्त्रालयगत रुपमा बजेटको सबैभन्दा बढी हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको बताए । सो मन्त्रालयका लागि ३७ दशमलव २ प्रतिशत बजेट छुट्ट्याइएको छ ।

बैठकमा बजेट पारित हुनु अघि सामान्य छलफलमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभाका सबै सदस्यहरुको चिन्ता, चासो र शंका प्रदेशको बजेट कार्यान्वयन कसरी हुन्छ भन्नेमा रहेकोले कार्यान्वयन पक्ष बलियो बनाएर सरकारले शंका निवारण गर्नुपर्ने बताए ।

बजेट कार्यान्वयन गर्न आवश्यक रहेका कानून सरकारले छिटो बनाएर प्रदेश सभामा पेश गर्नुपर्ने बताउँदै उनले आवश्यक चाँजोपाँजो मिलाएर साउन १ गते देखि नै बजेट कार्यान्वयन गरी उत्कृष्ट ढंगले काम गर्नुपर्ने बताए ।

यसअघि बजेटको समर्थनमा बोल्दै (ने क पा)का सांसद बीरमान चौधरीले प्रदेश सरकारले जनतालाई यो मेरो सरकार हो र मेरो लागि काम गर्छ भन्ने अनुभुति दिने गरी काम गर्नुपर्ने बताए । (ने क पा)का सांसद तथा सचेतक अक्कल रावलले पनि बजेटको समर्थनमा बोलेका थिए । प्रदेश सभाको अर्को बैठक सोमबार बस्नेछ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु