गृहपृष्ठ एउटै उद्योगबाट ८० हजार किलो छुर्पी अमेरिका निर्यात

एउटै उद्योगबाट ८० हजार किलो छुर्पी अमेरिका निर्यात

दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योगले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । सेतोट्यामीले कुकुरको आहारा (डगच्यु)का रूपमा नेपालबाट अमेरिका छुर्पी निकासी गरेको हो ।

दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यु उत्पादन हुन्छ । उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यु पनि सेतोट्यामीले संकलन गर्दै आएको छ । ‘इलाम र अन्य चार जिल्लाबाट छुर्पी संकलन गर्छौं,’ उनले भने, ‘हामीले उत्पादन गरेर र खरिद गरेर वार्षिक तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ ।’

सेतोट्यामीले उत्पादन र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म र मनराम हिमालयन हेन्डिक्राफ्ट हुँदै अमेरिकामा हिमालयन डगच्यु नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ । श्रेष्ठका अनुसार यसअघि भने जति डगच्यु निकासी गर्न नसक्दा अमेरिकामै उद्योग खोल्नुपरेको थियो । अहिले काठमाडौँमा पनि उद्योग खोल्ने तयारी भइरहेको उनले जानकारी दिए ।

दुई वर्षअघि १०० लिटर दूध संकलन गरेर सुरू गरिएको उद्योग अहिले १० रोपनी जमिन खरिद गरेर आफ्नै भवनमा कारखाना सञ्चालन गर्दै आएको छ । रोङ गाउँपालिकाको शान्तिपुर, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र पशुपतिनगर तथा इलाम नगरपालिकाकै गोदक क्षेत्रमा संकलन हुने चार हजार लिटर दूध यहाँ दैनिक प्रशोधन हुन्छ ।

(रासस)

प्रकाशित समय १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु