गृहपृष्ठ गिरिजाप्रसाद कोइराला : मजदुर आन्दोलनदेखि प्रधानमन्त्रीसम्म
गिरिजाप्रसाद कोइराला : मजदुर आन्दोलनदेखि प्रधानमन्त्रीसम्म
गिरिजाप्रसाद कोइराला जति समय बाँचे नेपाली राजनीतिको मियो भएर बाँचे । मजदुर आन्दोलनबाट आफ्नो ‘राजनीतिक करियर’ सुरु गरेका उनले जीवनको अन्तिम श्वास लिने बेलासम्म पनि राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सफल भए ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियाको माध्यमबाट सहज अवतरण गराउन मुख्य भूमिका निर्वाह गरेका कोइरालाको राजनीतिक जीवन उतारचढावपूर्ण रह्यो । जनयुद्धका कारण जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा संसदीय राजनीतिबाट १ कदमपछि हट्न नसक्ने कांग्रेसले कोइरालाकै नेतृत्वमा साम्यवाद ल्याउने हुंकार गरेको माओवादीसँग काँध मिलायो ।
तत्कालिन शाही शासनले पटक पटक ‘दुःख दिएर’ आजित बनेका कोइरालाले तत्कालिन माओवादीका सर्वोच्च कमाण्डर प्रचण्डसँग ‘राजतन्त्र फाल्ने’ सहमति गरे । तर, सार्वजनिक उपयोगका लागि ‘बेबी किङ’ पनि छाडेनन् । त्यसैको जगमा टेकेर तत्कालीन सात राजनीतिक दल र माओवादीबीचमा १२ बुँदे सहमति हुँदै बृहत् शान्ति सम्झौता भयो ।
बृहत शान्ति सम्झौता अनुसार तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध माओवादी र ७ राजनीतिक दलले गरेको संयुक्त जनआन्दोलनले नेपाललाई गणतन्त्रको बाटोमा डोर्यायो । एकातर्फ माओवादीले ‘ढाडमा टेकेर टाउकामा हान्ने’ रणनीतिका साथ जनयुद्ध गरी शासनसत्ता उपर धावा बोलिरहँदा अर्कातर्फ कोइरालाले २०६२÷६३ को जनआन्दोलनको मोर्चा सम्हाले ।
तिनै कोइरालाको आज ९५ औं जन्म जयन्ती । बाबु कृष्णप्रसाद कोइरालालाई तत्कालिन राणाहरुले निर्वासनमा जान वाध्य पारेको अवस्थामा वि।सं। १९८१ असार १८ गते भारतको बिहार स्थित सहर्सा जिल्लामा गिरिजाप्रसाद कोइरालाको जन्म भएको हो । मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइरालाजस्ता दिग्गज राजनीतिज्ञका भाई गिरिजाप्रसादमा राजनीति चेत सानै उमेरमा विकास भयो । आफ्नो जीवनको अन्तिम समयसम्म पनि राजनीतिको मियो बनेका उनको २०६६ चैत ७ गते निधन भएको हो ।
कांग्रेस सभापति र पटक–पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरेका कोइरालाले गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका स्मरणीय रहेको राजनीतिज्ञहरु बताउँछन् ।
प्रचण्डको नजरमा
तत्कालीन माओवादी अध्यक्ष तथा हालका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोइरालालाई अभिभावको रुपमा लिएको बताउने गरेका छन् । शान्ति प्रक्रिया अगाडि गिरिजाप्रसाद र प्रचण्डबीच वैचारिक र भौतिक रुपमा निषेधको सम्बन्ध रह्यो । तर, शान्ति प्रक्रियामा आउँदा भने सम्बन्ध राम्रो भएको ‘प्रचण्ड’ बताउँछन् ।
‘देशको हालत र राजामहाराजाको नियतलाई बुझेर नै गिरिजाबाबुले सहमति, सहकार्य र एकताको बाटो हिँड्नु जरुरी छ भन्नुभएको थियो’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भन्छन, ‘यो भावनालाई हामी अगाडि बढाऔं, गिरिजाप्रसाद कोइरालाप्रति सच्चा सम्मान हुनेछ ।’
कांग्रेसकै नजरमा
कांग्रेसका नेता तथा कार्यकर्ताहरु कोइरालालाई दृढता र आत्मविश्वास भएको नेताका रुपमा चित्रण गर्छन् । ‘उहाँले राजनीतिमा विभिन्न खण्डको नेतृत्व गर्नुभयो’ डा। शेखर कोईरालाले भने ‘कांग्रेसीहरुले मात्रै नभएर अन्यले पनि गिरिजाबाबुबाट ‘म गर्न सक्छु’ भन्ने अठोट सिक्न सक्छन् ।’ डा। शेखर कोईराला भन्छन्, ‘गिरिजाबाबुले सहमती,सहकार्य र एकताको सुत्रमा बाँधेर नेपाललाई अहिलेको अवस्थामा ल्याउनुभएको हो ।’
‘गिरिजबाबुलालाई सम्झँदा उनको राजनीतिक जिवनको सुरुदेखि पञ्चायतसम्म, प्रजातन्त्रको पुर्नबहाली र उहाँ नेतृत्वको सरकार र २०६२/६३ को जनआन्दोलनदेखि गण्तन्त्र नेपालको घोषणा सम्मलाई हेर्नुपर्छ’ कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठ भन्छन्, ‘उहाँ विपी, कृष्ण प्रसाद र गणेशमान पछिकै सफल नेता हो ।’ कोइरालालाई निर्णय लिएपछि अडिग रहने नेताको रुपमा कांग्रेस नेताहरु सम्झन्छन् ।
विवाद र आरोपहरु
२०४६ सालपछि ठूला ठूला राजनीतिक घटनाक्रमहरु भए । त्यतिबेला कोइरालाको शक्ति र सामथ्र्य उत्कर्षमा थियो । दरबार हत्याकाण्ड जस्ता घटना पनि कोइरालाकै प्रधानमन्त्रीत्व कालमा घट्यो । सुरुमा माओवादीविरुद्ध सेना परिचालन गर्ने असफल प्रयास गरेका उनले पछि माओवादीसँगै हात मिलाएर गणतन्त्र स्थापनाको नेतृत्व लिए ।
रोल्पाको होलेरीमा तत्कालिन माओवादीले आक्रमण गरेपछि राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमान्दा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए । सेना परिचालन र प्रतिनिधि सभा पुर्नस्थापनाको अडान गिरिजाप्रसादका इतिहासका सम्झना योग्य कदम भएको कांग्रेस नेताहरु बताउँछन् । ०४६ को जनआन्दोलनपछि कम्युनिस्ट बिरोधी पहिचान बनाएका कोइरालाले ०६२ मा कम्युनिस्टसँगै हातेमालो गर्न बाध्य हुनु परेको पनि धेरैले सम्झिएका छन् ।
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । संवैधानिक राजतन्त्रका पक्षपोषक कोइराला ‘यु–टर्न’ लिँदै कम्युनिस्टहरुको साथमा राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गर्न गर्न पुगे । कोइरालाको सरकारलाई विभिन्न अवसरहरूमा भ्रष्टाचारका आरोप लाग्यो । लाउडा काण्ड, धमिजा काण्ड जस्ता काण्डले उनलाई पटक–पटक विवादमा तानीरहे ।
कृष्णप्रसाद भट्टराई हराउन मुख्य भूमिका खेलेको आरोप खेपेका कोइरालामाथि जीवनको उत्तरार्धमा भट्टराईले राजनीतिबाट सन्यास लिनुको दोष पनि थोपरियो । भट्टराईलाई हराएर आफू प्रधानमन्त्री बन्न षडयन्त्र गरेको आरोप उनीमाथि लागिरह्यो ।
काखा र पाखाको राजनीति गर्न खप्पीस कोइरालालाई आलोचकहरु स्वार्थको राजनीति उत्कर्षमा पुर्याउने नेताको रुपमासमेत चित्रण गर्छन् । गुटबन्दीको सुरुवात कोइरालाकै पालामा भएको कांग्रेस नेताहरु सम्झिरहेका छन् । भट्टराईजस्ता धेरै नेता कोइरालाको ‘खुट्टा तान्ने’ प्रवृत्तिको सिकार बने । शेरबहादुर देउवाले पार्टी नै फुटाए ।
गणतन्त्र स्थापनापछि पनि छोरी सुजातालाई उपप्रधान मन्त्री बनाउन कोइरालाले माधव नेपालको नेतृत्वमा सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेले । महत्वपूण निर्णय लिन पार्टी कार्यलय होइन विराटनगरस्थित कोइराला निवास पुग्ने उनको स्वभावलाई आलोचकहरु प्रजातान्त्रिक नेतामा भएको निसंकुश प्रवृत्ति भन्छन् । यस्तो स्वभावका कोइराला जीवनको उत्तरार्धमा माओवादीको ‘विश्वास घात’को सिकार बने । माओवादीको बुई चढेर राष्ट्रपति हुने उनको सपना कहिलै पूरा हुन सकेन ।
राजनीतिक जीवन
२००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनियो । ००८ मा उनी मोरङको पार्टी सभापति बने र ०१७ सालमा गिरफ्तार भए । रिहाइ भएपछि पार्टी कार्यकर्तासंगै भारत निर्वासित भए भने ०३५ सालमा नेपाल फर्किए । कोइराला २०३१ देखि २०४७ सम्म पार्टी महासचिव भएका उनी ०४६ को जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए ।
प्रधानमन्त्रीत्व
कोइराला २०४६ सालपछि पहिलो बहुदलीय निर्वाचनमा मोरङ १ र सुनसरी ५ बाट निर्वाचित भए । विजयपछि कांग्रेस संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बने । उनको पहिलो कार्यकालमा शिक्षा, सञ्चार र स्वास्थ्यमा उदार कानु्न बन्यो । पूर्वाञ्चल विश्वविद्यालय र विपी कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठानको स्थापना गर्यो र स्थापित निजी क्षेत्रहरूलाई देशका विभिन्न भागहरूमा चिकित्सा र ईन्जिनियरिङ् कलेजहरू सञ्चालनको लागि अनुमति दियो भने भरतपुरमा चीन सरकारको सहायतामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्माण भयो ।
सूर्यबहादुर थापा नेतृत्वको सरकार बिगठनपश्चात्त कोइराला दोस्रोपटक प्रधानमन्त्री बने । २०५७ सालमा उनकै अगुवाईमा कांग्रेसकै असन्तुष्ट पक्षको अविस्वासको प्रस्तावद्वार भट्टराईलाई राजिनामा गर्न वाद्य तुल्याई तेस्रोपटक प्रधानमन्त्री बने । तेस्रो कार्यकालमा उनको सरकारविरुद्ध भ्रष्टाचारका आरोपहरू लागे । दरबार हत्याकाण्डपछि, कोइराला संकट सम्हाल्ने असक्षम भएको भन्दै आलोचित भए । ०६२/६३ को आन्दोलनपछि चौथो कार्यकालका लागि कोइराला पुनः प्रधानमन्त्री बने । यसपटक राजालाई शक्तिबाट हटाउँने, नेपाली सेनालाई संसदको नियन्त्रणमा ल्याइयो । यही कार्यकालमा माओवादीसँग बृहत शान्ति सम्झौता भयो ।
प्रकाशित समय २१:२० बजे
















