गृहपृष्ठ आँपले बजार नपाउँदा कृषक चिन्तित

आँपले बजार नपाउँदा कृषक चिन्तित

भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन् । उत्पादन भएको आँपले बजार नपाएपछि उनलाई चिन्ता बढेको हो । बिक्री नहुँदा अहिले आँप कुहिन थालेको छ । ‘गत वर्ष आँप बेचेर तीन लाखसम्म आम्दानी गरेका थियौं,’ वलीले भने, ‘यसपाली आँप बिक्री हुन सकेको छैन,’ ।

रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैंचैमा कुहिएको छ । ‘फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन,’ भण्डारी भन्छिन्, ‘आँपबाटै गुजारा चलाउँदै आएका छौं । आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ ।’

आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीत भण्डारको माग गरेका हुन् ।

‘आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,’ रामघाटका सुरेन्द्र सिंहले भने । भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिश्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताएकी छिन् । ‘यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ,’ केसीले भनिन्, । फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले तीन करोड बजेट छुट्याएको पनि उनले जानकारी दिइन् । ‘प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि ५० लाख बजेट छुट्याइएको छ,’ केसीले भनिन् ।

(रासस)

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु