गृहपृष्ठ राजपाको राजनीतिक कार्यदिशा : सुधार कि भुलसुधार ?

राजपाको राजनीतिक कार्यदिशा : सुधार कि भुलसुधार ?

rajapa-newskarobar

२०७४ वैशाख ७ गते मधेसकेन्द्रित ६ वटा क्षेत्रीय घटक मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता महाधिवेशन अझै हुन सकेको छैन । एकतापछिको राजनीतिक कार्यदिशा प्रस्ट हुन नसक्दा एक वर्षभित्र गर्ने भनिएको महाधिवेशन यसै टर्यो । निर्वाचन आयोगले पटक–पटक पत्र काटेपछि झस्किएका नेताहरुले अर्को वर्ष एकता महाधिवेशन गर्ने निर्णय गरे ।

नेताहरु अहिले पार्टीको विधान संशोधन र पारितमा जुटेका छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत चयन भए । यसले केही सकारात्मक सन्देश पक्कै दिएको छ । तर, राजपाको अबको राजनीतिक कार्यदिशा कस्तो हुन्छ ? यो अहिलेको मूल चासो हो ।

एकताको एक वर्ष
मधेसकेन्द्रित ६ वटा दल पन्ध्र महिनाअघि औपचारिक रुपमा एक भएका हुन् । निकै तामझाम र उत्साहका साथ महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एक भएका थिए ।

तर, यो एक वर्षमा पनि पहिले फरक–फरक राजनीतिक पसल खोलेर बसेकाहरुका बीचमा भावनात्मक एकता देखिएन । राजपाको राजनीतिक कार्यदिशा के हो भन्ने पनि प्रस्ट हुन सकेन । चुनावमा सहभागिता, मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायतका सन्दर्भमा अध्यक्ष मण्डलका ६ जना सदस्यकै फरक–फरक अभिव्यक्ति आइरहे । चुनावका सन्दर्भमा राजपा आफैँमा विभाजित हुँदा तीन चरणमा स्थानीय निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो ।

भलै, अन्तिममा गएर भए पनि राजपाले चुनावमा सहभागिता जनाउनुलाई राजनीतिक उपलब्धिकै रुपमा लिइयो । मधेसका जनताले पनि आफ्नो माग र आवश्यकता पूरा गर भनेर राजपालाई २ नम्बर प्रदेशमा सबैभन्दा ठूलो दल बनाइदिए । मधेसकेन्द्रित राजनीतिबाटै उदाएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा रह्यो । अहिले २ नम्बर प्रदेशमा राजपा नेपाल र फोरमकै सरकार छ ।

तर, राजपाले एकीकरणको एक वर्ष स्पष्ट कार्यदिशाबिना नै बितायो । एकै ड्याङका तर फरक–फरक राजनीतिक पसल थापेका मधेसी दलहरुको एकताले दिएको सकारात्मक सन्देशलाई जनताले पत्याए । ठूलो दल बनाए । तर, नेताहरुबीच जुँगाको लडाइँ चलिरह्यो । हरेक निर्णयमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भइरह्यो ।

राजनीतिमा विवाद स्वाभाविक मान्न सकिन्छ । तर, यही विवादले अध्यक्ष मण्डका सदस्यहरुले आलोपालो पार्टीको नेतृत्व गर्ने विषय ओझेलमा पर्यो । ढिलै भए पनि राजपा आगामी महाधिवेशनपछि एकल नेतृत्वमा जाने कार्यदिशासहित अगाडि बढ्दैछ । पार्टी एकल नेतृत्वमा जानेगरी विधान एकीकृत गर्न गठित कार्यदलले पेस गरेको पार्टीको विधान संशोधन राजनीतिक समितिबाट पारित भई संसदीय दलमा पुगेको छ ।

महतो र ठाकुरको लडाइँ
राजपा, ६ जना मण्डलेहरुको मात्रै पार्टी भएको आरोप उसकै कार्यकर्ताले लगाइरहेका छन् । अध्यक्ष मण्डलभित्रै ठाकुर र महतोको एकलौटी भएको गुनासो छ । ठाकुरका विरुद्ध कमै बोले पनि महतोका विरुद्ध अन्य चार अध्यक्ष मण्डलका सदस्य खुलेरै लाग्छन् ।

तर, चुनावमा महतो नेतृत्वको तत्कालीन समूहका उम्मेदवार तुलनात्मक रुपमा अलि बढी ठाउँमा विजयी भए । यसले महतोको आकांक्षा चुलिएर तत्कालै पार्टीको नेतृत्व गर्नेसम्म पुगिसकेको छ । उनले यसपटक नै संसदीय दलको नेतामा दाबी गरेका थिए । तर, उनको आकांक्षा पूरा हुन सकेन र ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत चयन भए । संसदीय दलको नेतामा दाबी गरेका महतो किन पछि हटे ? भन्ने प्रश्नसमेत उठेको छ ।

तर, यी दुई नेताको लडाइँलाई नै कारण बनाएर केही नेताले राजपा परित्याग गरेका छन् । तत्कालीन तमलोपाका उपाध्यक्ष हृदेयश त्रिपाठीको नेतृत्वमा केही नेता तत्कालीन एमालेको चुनाव चिह्नमा निर्वाचन लड्न पुगे । उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्यले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन नै गरेका छन् ।

अबको यात्रा
संघीय संसदमा चौथो र २ नम्बर प्रदेशको पहिलो पार्टी राजपाको अबको राजनीति कार्यदिशा के होला ? सरकारलाई समर्थन गरेर पनि सत्तारुढ भन्न नरुचाउने राजपाका नेता कहिले सरकारविरुद्धको आन्दोलन त कहिले संविधान संशोधनका लागि दबाब दिने कुरा गरिरहेका छन् ।

राजपाको राजनीतिक कार्यदिशा आगामी महाधिवेशनले तय गर्ला । तर, त्यसो भन्दैमा अबको एक वर्ष राजपाले के गर्छ भन्ने प्रस्ट हुनुपर्दैन ? संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका अध्यक्ष मण्डलका संयोजक ठाकुरले यसबारे प्रस्ट पार्न सक्नुपर्छ । अन्यथा, एकताको एक वर्ष जसरी बित्यो उसैगरी अबको एक वर्ष बिताउन खोज्दा कार्यकर्तामा नमिलेको भावना थप छरिन सक्छ ।

आन्दोलन र संविधान संशोधनका मुद्दामा राजपा अल्झिरहँदा १० वर्षे सशस्त्र युद्ध, दोस्रो जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धिलाई पनि दस्तावेजीकरण गर्नुपर्ला । त्यस्तै, मुलुक अहिले राजनीतिक स्थिरता उन्मुख छ, यो स्थिरतालाई आत्मसात गर्दै विकास र समृद्धिका मार्गप्रशस्त गर्ने दिशामा राजपा अघि बढ्दा पक्कै हानि हुँदैन । कार्यदिशामा सुधार गर्ने कि भुलसुधार गर्ने निर्णय लिने राजपाले नै हो ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु