गृहपृष्ठ जडीबुटी निर्यात घट्यो

जडीबुटी निर्यात घट्यो

jadibuti-newskarobar

बाग्लुङबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४ सय ९० किलो जडीबुटी निर्यात भएकामा यो वर्ष १७ हजार १९ किलो निर्यात भएको हो ।

जुडीबुटी निर्यातबाट एक लाख ९८ हजार ३ सय ४० रुपैयाँ राजश्व उठेको जिल्ला वन कार्यालय बाग्लुङले जनाएको छ । आ.व. २०७३÷७४ मा दुई रु लाख ७५ हजार ७२५ राजश्व संकलन भएको थियो ।

बाग्लुङबाट २० प्रजातिका जडीबुटी निर्यात हुने गरेको जिल्ला वन अधिकृत विशाल घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, साधारण च्याउलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । बाग्लुङका ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् ।

संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ । ‘यहाँको जंगलमा प्रशस्त जडीबुटी छ, अनुसन्धान र पहिचान हुन सकेको छैन,’ अधिकृत घिमिरेले भने, ‘निर्यात न्यून मात्रामा छ ।’ उनले जडीबुटी संकलनका लागि ठूला व्यवसायी जिल्लामा नआएको उल्लेख गरे ।

व्यक्तिगत प्रयोग र थोरै परिमाणमा मात्र जडीबुटी संकलनका लागि वन कार्यालयबाट इजाजत लिनेको संख्या बढी छ । ‘थोरैको पूर्जी लिने तर धेरै संकलन गरेर अवैध रुपमा निकासी भएको हुनसक्छ,’ उनले भने, ‘त्यसलाई रोक्न उपयुक्त विधि निर्माण गर्ने योजनामा छौं ।’

जिल्ला वन कार्यालयले इजाजत लिएका व्यक्तिलाई जडीबुटी संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटीको कारोबार गर्ने मुख्य व्यवसायीले खटाएका प्रतिनिधि संकलनमा खटिने गरेका छन् ।

वनको चारकिल्ला र जडीबुटीको मात्रा ताकेर पूर्जी दिने गरिएको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले जानकारी दिए । सीप, उपकरण र प्रशोधन केन्द्रको अभावले जडीबुटीको बजारीकरण हुन नसकेको उहाँको भनाइ छ ।

परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सकिए वार्षिक करोडौं रुपैयाँ जिल्लामा भित्र्याउन सकिने देखिन्छ ।

जिल्लाको ढोरपाटन, घुम्टे, ताराखोला, गाजाको दहलगायतका क्षेत्र जडीबुटीका लागि पकेट ठाउँ मानिन्छन् । जडीबुटीखेती कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अम्रिसो र लौठसल्ला रोपण गर्दैआएको छ ।

(समाचार)

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु