गृहपृष्ठ नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
डा. गोविन्द केसीको अनसन र कांग्रेसको संसद अवरोधको दबाबमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरी सचिवालयको बैठक बोलाइएको हो ।
पार्टी विधानको अन्तिम टुंगो लगाउन र केन्द्रीय सदस्यलार्इ जिम्मेवारी बाँडफाड गर्नका लागि बैठक बोलाइएको नेकपा नेता योगेश भट्टरार्इले जानकारी दिए । उनका अनुसार नेकपाले एकजना केन्द्रीय सदस्यलार्इ दुर्इवटा स्थानीय तहको हेर्ने गरी जिम्मा दिने तयारी गरेको छ ।
बैठकमा सरकारले सदनमा प्रस्तुत गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकका विषयलाई लिएर कांग्रेसले गरेको संसद अवरोध र गोविन्द केसीको अनसनको विषयमा पनि छलफल हुने बताइएको छ । नेता भट्टरार्इले समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिए । नेकपाको सचिवालय नौ सदस्यीय छ ।
प्रकाशित समय १५:०९ बजे

















