गृहपृष्ठ कोटेश्वर-जगाती सडकमा ट्राफिक व्यवस्थापन, लेनअनुसारमात्रै सवारीसाधन चलाउन पाउने
कोटेश्वर-जगाती सडकमा ट्राफिक व्यवस्थापन, लेनअनुसारमात्रै सवारीसाधन चलाउन पाउने
बायाँतर्फको लेन ठूला सार्वजनिक वस तथा मालबाहक र दायाँतर्फको लेन कार तथा मोटरसाइकल मात्रै चल्न पाउने
ट्राफिक प्रहरीले सवारी दुर्घटना हुने कोटेश्वर-जगाती सडकखण्डमा साना र ठूला सवारी साधनलाई छुट्टाछुट्टै लेनमा मात्रै चल्न पाउने गरी ट्राफिक व्यवस्थापन गरेको छ । मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन निर्धारण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा ठूला गाडीबाट साना सवारी साधनको जोखिम घटाउन लेनमा मात्रै सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार म्रंगलबारदेखि पहिलो तथा बायाँतर्फको लेन ठूला सार्वजनिक वस तथा मालबाहक सवारी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि निर्धारण गरिएको छ ।
मंगलबारदेखि शुरु भएको लेन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन शुरु गरेको छ । आफ्नो लेनभन्दा बाहिर गएर सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीको कारवाही हुने छ । मंगलबारदेखि नै लेनको नियम लागू हुने भएकाले सबै सवारी चालकलाई आफ्नो लेनमात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।
अघिल्लो साता सवारी दुर्घटनाको विषयमा गृहमन्त्रालयमा भएको छलफलमा सवारी साधनलाई लेन निर्धारण गर्ने निर्णय भएको थियो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मानवीय विपत्तिको रुपमा ल्रिइने सडक दुर्घटना न्यूनीकरणका लागि सवारी साधनलाई लेनको व्यवस्था गरिएको हो ।
ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि यस्तो नियम लगाइएको हो । यसले साना सवारीसाधन प्रयोग गर्नेहरुलाई राहत पुग्ने विश्वास गरिएको छ । साथै ठूला गाडीलाई तीव्र गतिमा चलाउन समेत नदिने ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक महाशाखाले बेलुका ८ बजेपछिमात्रै उपत्यकामा टिप्पर चलाउन पाउने नियम लागू गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाले अहिले जगाती-कोटेश्वर क्षेत्रको ९ दशमलव ७ किलोमिटर क्षेत्रमा मात्रै लेन विभाजन गरेर लागू गर्न लागेको हो । हाल देशभरि ३० लाख ८० हजार सवारीसाधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । लेन व्यवस्थापन गर्दै अन्य स्थानमा पनि लेन विभाजन गरेर कार्यान्वयनमा ल्याउने तयारी महाशाखाले गरेको छ ।
प्रकाशित समय ०८:१७ बजे
















