गृहपृष्ठ पाकिस्तान निर्वाचनका पाँच खास कुरा
पाकिस्तान निर्वाचनका पाँच खास कुरा
पाकिस्तानका मतदाताले अब एक हप्तापछि नयाँ सरकार चुन्दैछन् । २५ जुलाईमा हुने आम निर्वाचनमार्फत पाकिस्तानीले नयाँ सरकार चुन्नेछन् । यसपटकको निर्वाचनमा धेरै कुरा यस्ता भएका छन्, जुन यसअघिका कुनै पनि निर्वाचनमा भएका थिएनन् । ’बीबीसी हिन्दीले गरेको मोनिटरिङ’अनुसार उल्लेख गरिएका केही खास बुँदा यहाँ प्रस्तुत गरिएको छ ।
१. असैन्य शक्तिलाई सत्ता
पाकिस्तानमा कुनै पनि प्रधानमन्त्री आफ्नो कार्यकालभरी काम गर्न पाएका छैनन् । यहाँ सैन्य विद्रोहको इतिहास छ । पाकिस्तानमा सन् १९७० मा पहिलो आम निर्वाचन भएको थियो । यसपटकको निर्वाचनपछि पाकिस्तानको इतिहासमा यो दोस्रो घट्ना हुनेछ, जब एक निर्वाचित सरकारले कुनै असैन्य शक्तिलाई सत्ता सुम्पिनेछ ।
२. तीन पटकका प्रधानमन्त्री निर्वाचन बाहिर
तीन पटक सत्ताको नेतृत्व सम्हालिसकेका एक महत्वपूर्ण व्यक्तिलाई यसपटकको निर्वाचनमा लड्न अनुमति छैन । पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीग (नवाज) ले सन् २०१३ को निर्वाचन जितेको थियो । पछिल्लो वर्ष अदालतले नवाजलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गर्यो र भ्रष्टाचार मुद्दामा हालैमात्र उनलाई १० वर्षको सजाय सुनाइएको छ । नवाज शरीफले यी आरोपहरुलाई अस्वीकार गर्दै यसका लागि सेना जिम्मेवार रहेको बताउँदै आएका छन् ।
३. निर्वाचनमा अतिवादीको हाबी
यसपटकको निर्वाचनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि, अति दक्षिणपन्थी र अतिवादी उम्मेवदार बढी संख्यामा निर्वाचनमा लडिरहेका छन् । उग्र समूह मूल धारको राजनीतिमा आउन लागेको भन्दै पाकिस्तानी सञ्चारमाध्यममा यसबारे चिन्ता जनाइएको छ । यो निर्वाचनमा ‘ईशनिन्दा’ ठूलो मुद्दा हो, जसका लागि पाकिस्तानमा मृत्युदण्डको प्रावधान छ ।
४. महिला सहभागिता बढी
यो निर्वाचन यस मानेमा पनि विशेष छ कि यसपटक विगतभन्दा बढी संख्यामा महिलाहरु चुनाव लड्दैछन् । संसदको कुल २७२ सिटका लागि लगभग १७१ महिला उम्मेदवार मैदानमा छन् । यीमध्ये अली बेगमको नामसमेत चर्चामा छ जो पुरुष प्रधान कबायली क्षेत्रबाट चुनाव लड्दै गरेकी पहिलो महिला उम्मेदवार हुन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुनै पनि चुनावी क्षेत्रमा १० प्रतिशतभन्दा बढी महिलाको सहभागिता हुनुपर्नेछ । १० प्रतिशतभन्दा कम महिला भए चुनावी प्रक्रिया रद्द हुने व्यवस्था छ ।
५. ट्रान्सजेन्डर्सलाई राजनीतिमा आउने अवसर
यसपटक निर्वाचनमा ट्रान्सजेन्डर्सलाई पनि राजनीतिमा आउने अवसर मिलेको छ । पाँच ट्रान्सजेन्डर्स उम्मेदवार आम निर्वाचनमा चुनाव लड्दैछन् । ट्रान्सजेन्डर्स पाकिस्तानमा अल्पसंख्यक समदुायद हो, जसलाई सन् २०१३ मा निर्वाचन लड्ने अनुमति पहिलो पटक दिइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यसपटक स्वतन्त्र र निष्पक्ष निर्वाचनको निगरानीका लागि ट्रान्सजेन्डर्सलाई पनि खटाइनेछ ।
प्रकाशित समय १२:१२ बजे

















