गृहपृष्ठ ३३ किलो सुन प्रकरण : सेलायो छानबिन समिति

३३ किलो सुन प्रकरण : सेलायो छानबिन समिति

खै ३३ किलाे सुन ?

33 kg sun news karobar

केही दिनअघिसम्म टिभी, रेडियो, अनलाइन र अखबारको मुख्य हेड्लाइन बनेको ३३ किलो सुन तस्करी प्रकरण एकाएक छायाँमा परेको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको समिति नै निष्क्रिय बनेपछि यो विषय ओझेलमा परेको हो । नेपाल प्रहरीका पूर्वडिआइजी, बहालवाला एसएसपीदेखि ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दा विचाराधीन छ । तस्करीमा संलग्न भन्दै पक्राउ परेकामध्ये सबैभन्दा ठूला कर्मचारी एसएसपी दिवेश लोहनीमात्रै हुन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करीमा संलग्न अरु ‘ठूला माछा’ समाउन भन्दै अन्य ब्यक्तिसमेत पक्राउ गर्न कम्मर कसेर लागि परेको थियो । तर, अहिले न अदालतमा विचाराधीन मुद्दा अघि बढेको छ न समितिले भने यसअघि भनेजस्तो ‘हाइप्रोफाइल’ नै समातिएका छन् । त्योभन्दा पनि प्रश्न चाहिँ मुद्दाको मुल अंश तस्करी भएको ३३ किलो सुन अझै अत्तोपत्तो छैन । अहिले आम मानिसले गरिरहेको प्रश्न हो, ‘मान्छे मात्रै समाउने ? ३३ किलो सुन खोइ ?’

केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समितिका पदाधिकारीहरुलाई बोलाएर समितिको कार्य प्रगतिबारे बु्झेका थिए । त्यसक्रममा समिति संयोजक पौडेलले सुन तस्करीमा अरु ठूला व्यक्तिसमेत मुछीएका भन्दै पक्राउ गर्नु पर्ने बताएका थिए । समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य अभियुक्तलाई पनि गिरफ्तार गनुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए । हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरिएको थियो । तर, समितिको उक्त ‘बिफ्रिङ’ मा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि जनाएका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले भनेका थिए, ‘शंकास्पद मानिस समाउनुस्, मेरो पुरै साथ छ तर सुन खोइ ? जे हो मुख्य चिज, त्यो चाहिँ कसैलाई थाहै नहुने ?’

३३ किलो सुनका असली मालिक भनिएका र सनम शाक्य हत्या प्रकरणका अभियुक्तसमेत रहेका चुडामणी उप्रेती ‘गोरे’ समेत पक्राउ परी अहिले कष्टडीमा छन् । तर, अनुसन्धान समितिले ३३ किलो सुनको कुनै सुइँको पाएको छैन ।

स्रोतकाअनुसार प्रधानमन्त्रीसँगको उक्त भेटपछि समितिका पदाधिकारीले अभियुक्तहरु पक्राउ अभियानलाई थाँति राखेका छन् । ३३ किलो सुनको टुंगो लगाउन नसक्ने अवस्था आएपछि अहिले समिति गृह मन्त्रालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । समितिले अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुलाई पक्राउ गर्नुको साटो हालसम्मको कार्यप्रगति र चुनौतीलाई समावेश गरेर प्रतिवेदन तयार गर्न लागिएको हो ।

अनुसन्धानको क्रममा सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरिरहेका केही व्यवसायीसमेत मुछिने सम्भावना देखिएपछि प्रधानमन्त्री ओली झस्किएको बताइन्छ । योसँगै राष्ट्रिय रुपमै हलचल पैदा गरेको सुन तस्करी प्रकरण ओझेलमा पर्ने खतरा बढेको छ । साथै सुन प्रकरण छानबिन गर्न बनेको उच्चस्तरीय समितिको म्याद पनि असार मसान्तमा सकिएको छ ।

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु