गृहपृष्ठ रुपन्देहीमा अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनको तयारी
रुपन्देहीमा अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनको तयारी
८० किलोमिटरमा एसी सुविधासहितका ४८ बस गुड्ने, बसमै ब्रेक फास्ट
रुपन्देहीका आठवटा स्थानीय तह जोड्ने गरी अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालनको तयारी गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुखको संयोजकत्वमा नौवटा स्थानीय तह समेट्ने गरी नगर बस सञ्चालन गरिने भएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीका अनुसार यस विषयमा पहिलो चरणमा स्थानीय तहका प्रमुखबीच छलफल भइसकेको छ । अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनका लागि बुटवल उपमहानगरपालिकासहित सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका तथा कञ्चन, गैडहवा, सियारी र मायादेवी गाउँपालिकाबीच प्रारम्भिक सम्झौतासमेत भइसकेको छ ।
कुल ८० किलोमिटर सडकमा खासगरी सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राहीलाई लक्षित गरी योजना अघि बढाउन लागिएको सैनामैनाका प्रमुख कार्कीले बताए । ‘सडक निर्माण कार्य पूरा भइसकेपछि रुट निर्धारण, इजाजतलगायतका विषयमा स्थानीय तहबाटै पहल गरी निजी क्षेत्रलाई यातायातका साधन चलाउन आह्वान गरिनेछ,’ उनले भने, ‘अन्तरपालिका बस सेवा सञ्चालन भएपछि खासगरी लुम्बिनीसँग नौवटै स्थानीय तहको पहुँच बढ्नेछ ।’
पहिलो चरणमा ४८ वटा एसी सुविधासहितका बस सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गरिनेछ । नगरपालिकाले बसमै ब्रेक फास्टसमेतको व्यवस्था गर्ने गरी योजना अघि बढाएको जनाएको छ ।
वातानुकूलित बस सञ्चालन गरिँदा आन्तरिकमात्र नभई लुम्बिनीमा आएका बाह्य पर्यटकले समेत बुटवल, सैनामैनालगायतका स्थानको अवलोकन गर्नसक्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहहरुले यस विषयमा कुनै पनि थप लगानी गर्न नपर्ने भएकाले पनि छिट्टै सहमति जनाएर सडक यातायात र रुट इजाजतका लागि पहल गरी आ–आफ्ना स्थानीय तहभित्र बस स्टप निर्माण गर्न सकिने योजना बनाइएको छ । दैनिक ४८ वटा बस सञ्चालन भएमा करिब एक सय ५० जनाले तत्कालै रोजगारीसमेत पाउने र करिब ५० करोड रुपैयाँ निजी क्षेत्रको लगानी हुने भएकाले निजी क्षेत्रसमेत उत्साहित देखिएको छ ।
आयोजनाका विषयमा जानकारी गराउन सैनामैना नगरपालिकाको नेतृत्वमा केही दिनमै सबै स्थानीय तहका अधिकारी यातायात मन्त्रालय जाने भएका छन् । दीर्घकालका लागि लुम्बिनी जान चाहने व्यक्तिलाई लक्षित गरिए पनि विद्यालय आउने–जाने विद्यार्थीका साथै किसान र मजदुर यो यातायात सेवाबाट बढी लाभान्वित हुनेछन् ।
प्रकाशित समय १५:०२ बजे

















