गृहपृष्ठ प्रदर्शनमा कांग्रेसको प्रवेशप्रति विवेकशील साझाको असन्तुष्टि

प्रदर्शनमा कांग्रेसको प्रवेशप्रति विवेकशील साझाको असन्तुष्टि

आन्दोलनमा भिजिलान्तेकोे प्रवेश भयो : रविन्द्र मिश्र

baneshwor-jhadap-newskarobar (1) फाइल तस्बिर

डा. गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाएको नेपाली कांग्रेसप्रति विवेकशील साझा रुष्ट बनेको छ । डा. केसीको समर्थनमा विभिन्न स्थानमा भएको प्रदर्शनमा कांग्रेसको सहभागितालाई लिएर विवेकशील साझाले खुला रुपमै असन्तुष्टि जनाएको हो । सरकारले सदनमा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विपक्षमा केसी अनसन बसेलगत्तै विवेशील साझा सडकमा ओर्लिएको थियो ।

विवेकशील साझाले डा. केसीको पक्षमा माहौल तताउँदै गर्दा राजनीतिक रंग दिनेगरी आन्दोलनमा कांग्रेसको प्रवेश भएकोप्रति असन्तुष्टि जनाएको हो । विवेकशील साझाका नेताहरुले कांग्रेसको भूमिकाप्रति चित्त बुझाएका छ्रैनन् । कांग्रेस सत्तामै हुँदासमेत चिकित्सा क्षेत्रको सुधारका लागि सरकारसँग लढेका डा. केसीको पक्षमा कांग्रेसले आफूलाई उभ्याउदा धेरैले अस्वभाविक रुपमा लिएका छन् ।

‘सत्ताको भर्याङ ओर्लिएपछि मात्रै कांग्रेस हामीले बालेको आगोमा घ्यू थप्दै आफ्नो हात सेक्दै छ,’ रविन्द्र मिश्र

आफूले तताएको आन्दोलनमा नागरिकको साथ समर्थन बढ्दै जाँदा सरकारलाई गलाउन सकिने विवेकशील साझाको निश्कर्ष थियो । तर उपलब्धीको ‘क्रेडिट लिन डबल रोल’ खेल्दै कांग्रेस आफ्नो पछिपछि आएको भन्दै विवेकशील साझाका रविन्द्र मिश्र, उज्जवल थापालगायत असन्तुष्ट छन् । उनीहरुले कांग्रेसप्रति टिप्पणी गर्दै आफ्नो अन्दोलनमा ‘भिजिलान्ते’को प्रवेश भएको टिप्प्णी गर्ने गरेको साझाका कार्यकर्ता बताउछन् ।

राजनीतिक भाषामा भिजिलान्ते भन्नाले आन्दोलनभित्र छिरेर विथोल्नको लागी आउने व्यक्ति वा समूहलाई भनिन्छ । विगतदेखिनै डा. केसीलाई आफ्नो दलको पेवा ठान्दै आएको विवेकशील साझाले पछिल्लो आन्दोलनमा अरु दलको सहभागीतामा सन्तुष्ट नरहेको जानकारहरु बताउछन् । ‘आफ्ना मेडिकल माफिया नेता कार्यकर्ताको संरक्षण गर्न कांग्रेसले आफू सरकारमा हँुदा डा. केसीका माग पुरा गर्न मानेन, उसकैविरुद्ध केसीले पटक–पटक अनसन बस्नु प¥र्याे’ मिश्रका भनाई उधृत गर्दै कार्यकर्ता भन्छन्, ‘अहिले सत्ताको भर्याङ ओर्लिएपछि मात्रै कांग्रेस हामीले बालेको आगोमा घ्यू थप्दै आफ्नो हात सेक्दै छ ।’

यस अघि खुलेका करिब डेढ दर्जन मेडिकल कलेजहरूमध्ये अधिकांशका संचालक नेपाली कांग्रेस निकट र आसेपासे छन् । त्यो हुँदा सम्बन्धनको लागि पर्खाइमा रहेको मनमोहन मेडिकल कलेज एमाले निकट रहेकोले सो कलेज नखुलोस भन्ने चाहना कांग्रेसमा भएकाले उसले केसीको मागमा समर्थन गरेको धेरैको टिप्पणी छ ।

सभामार्फत नै भनियो –‘काग्रेसको आन्दोलन अर्काे हो’
विवेकशील साझाले डा. केसी आन्दोलनमा कांग्रेसको सहभागीता स्विकार्न नसकेको शनिबार सार्वजनिक रुपमा प्रष्ट देखाएको छ । एकै मुद्धामा, एकै सडकमा, एकै साथ चिकित्सा शिक्षा विधयेकविरुद्ध सडकमा उत्रिएको कांग्रेसप्रति साझाले असन्तुष्टि देखाएको हो । कांग्रेस भातृसंगठन नेपाल तरुण दलको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप हुदा साझाले सहानुभूतिसमेत देखाएन ।

सोलिडारिटि फर डा. केसी अनालाईन्सको ब्यानरमा विवेकशील साझाले बानेश्वर चोकमा सभा गरेको थियो । सभाको मध्यतिर माईतिघर मण्डलाबाट तरुण दलको जुलुस आयो । एभरेष्ट होटलतर्फको सडकमा विवेकशील साझाको कोणसभा थियो । पारिपट्टी, सडकको अर्काे लेनबाट आएको तरुण दल र प्र्रहरीबीच झडप भयो । करिब १० मिनेट लामो दोहोरो झडपमा प्रहरीले केही सेल अश्रृग्यास प्रहार गर्याे । निशेधित क्षेत्र तोड्न खोजेका तरुण दलका प्रदर्शनकारीलाई प्रहरीले बलपूर्वक हटाउदै थियो । त्यतिबखत सडक वारिपट्टी विवेकशील साझाको कोणसभामा कृष्ण पहाडीले संबोधन गरिरहेका थिए ।

यत्तिकैमा सभाको उद्घोषक रहेका अधिवक्ता ओमप्रकाश अर्यालले तरुण दलको प्रदर्शन र आफूहरुको प्रदर्शन एक आपसमा सम्बन्धित नरहेको जिकिर गरे । प्रहरीले तरुण दललाई हटाउदै गर्दा अधिवक्ता अर्यालले माईकिङ मार्फत प्रहरीलाई आग्रह गरे ‘हामी अरु जस्तो हिंसात्मक आन्दोलनमा छौनौं, उताको आन्दोलन हामीसँग सम्बन्धित छैन, उता जे–जे भएपनि हामी यता शान्तिपूर्ण कार्यक्रममा छौं, हामीलाई कार्यक्रम गर्न दिनुहोस् ।’

यसरी विवेशील साझाको सार्वजनीक सभाबाटै डा. केसीको अनसनमा कांग्रेसको समर्थकलाई नरुचाईएको जानकारी दिईयो । पछि बलिउड नायीका मनिशा कोईरालाको बोल्ने पालो आउदासमेत कांग्रेसको अर्काै आन्दोलन भन्दै ऊप्रति असन्तुष्टि जनाईयो । उद्घोषक रहेका अधिवक्ता अर्यालले भने, ‘उता अर्कै आन्दोलनमा प्रहरीसँग झडप हुदा प्रहार भएको अश्रृग्यासले आखा पोलेर मनिशा जी खै कता जानुभयो, उहाको मन्तव्य राख्न सकेनौं ।’ मनिशाको बोल्ने पालो अन्त्यमा भए पनि उनी पहिल्यै सभाबाट हिडिसकेकी थिईन् । यसरी पटक–पटक सार्वजनिक सभामार्फत कांग्रेसको सहभागीताप्रति विवेकशील साझाले असन्तुष्टि जनायो ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु