गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियति : विमान उड्दै, कालोपत्रे गरिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियति : विमान उड्दै, कालोपत्रे गरिँदै

कर्मचारी भन्छन्– यो त हाम्रो दैनिकी हो, सामान्य लाग्छ

airport-newskarobar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे उप्किँदा बिहीबार दिउँसो झन्डै एक घण्टा विमानस्थल अवरुद्ध भयो । दिउँसो करिब ४ बजे अवरुद्ध भएको विमानस्थल ५ बजेमात्रै सञ्चालनमा आयो । अकस्मात विमानस्थल बन्द भएपछि अवतरणका लागि राजधानी प्रवेश गरिसकेका जहाज आकाशमै ‘होल्ड’ गरियो । टाढाका जहाजलाई नजिकका विमानस्थलमा डाइभर्ट गरियो ।

राजधानीको आकाशमा लामो समयसम्म एउटै जहाज फन्को मारिरहेपछि धेरैको मनमा आशंका उब्जियो । आकाशमा बुद्ध एयरलगायत आधा दर्जन कम्पनीका विमान निरन्तर अवतरण अनुमतिको पर्खाइमा घुमिरहे । करिब एक घण्टापछि अवतरणका लागि विमानस्थल टावरबाट अनुमति आयो र विमान चालकहरुले सहज अवतरण गराउन थाले ।

 

भएको के थियो ?
कालोपत्रे उप्किनु, जहाज ‘होल्ड’ गरिनु र हतार–हतार अस्थायी कालोपत्रे गरिनु त्रिभुवन विमानस्थलको दैनिकीजस्तै बनिसकेको छ । बिहीबार दिउँसो चर्काे घाम लाग्यो । करिब ४ बजे तातो घामले पग्लिएको कालोपत्रे विमान अवतरण हुँदा विमानको चक्कासँगै टाँस्सिएर आयो ।

जहाज अवतरण नै असुरक्षित बनेपछि थप अवतरणका लागि विमानस्थल हाताभित्र प्रवेश गरिसकेका जहाजलाई अकस्मात आकाशमै रहन भनियो । र, तयारी अवस्थामा रहेका जनशक्तिलाई कालोपत्रेमा खटाइयो । करिब एक घण्टासम्म विमान आकाशमै होल्ड गर्नुपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘कालोपत्रे गर्ने काम सकिएपछि अहिले जहाजहरु सहज रुपमा अवतरण भइरहेका छन्,’ न्युज कारोबारसँग उनले भने ।

airport-newskarobar

किन उप्किरहन्छ कालोपत्रे ?
त्रिभुवन विमानस्थलको अहिलेको कालोपत्रै दशकौं वर्ष पुरानो भइसक्यो । अहिले विमान अवतरण र उडानको चापले यो धावनमार्ग जीर्ण बन्दै गएको छ । घामपानीको मिश्रणले कालोपत्रे विमानको चक्कासँगै टाँसिएर उप्किने गरेको छ । कालोपत्रे उप्किएपछि आकाशमै जहाज होल्ड गराएर हतार–हतार टालटुल पारेर जहाज अवतरण गर्ने गरिएको छ । ‘अहिले वर्षात्को समय छ । वर्षासँगै चर्काे घाम पनि छ । घाम र पानीको मिश्रणले कालोपत्रेलाई कमजोर बनाउँछ । त्यसैले यो समस्या बढ्दै गएको छ,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले न्युज कारोबारसँग भने ।

विमानस्थलले कालोपत्रे उप्किनुलाई सामान्य रुपमा लिन थालिसकेको छ । ‘यो त हाम्रो दैनिकीजस्तै हो । दिनमै २–३ पटक यसरी टाल्नुपर्छ । यो त हामीलाई सामान्य लाग्न थालिसक्यो,’ प्रवक्ता ठाकुरले भने ।

विमानस्थलका कर्मचारीलाई यो विषय सामान्य लागे पनि अवतरणको तयारीमा रहेका यात्रु भने विमानले आकाशमै फन्को मार्न थालेपछि अत्तालिने गरेका छन् । यसरी काम चलाउन गरिएको पिच एक दिन पनि टिक्दैन । दर्के पानी पर्याे भने तत्कालै बगाउँछ पनि । चर्को घामले पनि उप्काउँछ । विमानस्थलका कर्मचारी र कामदार विमान अवतरण हुँदा विमानको चक्कामा नजर लगाइरहन्छन् र जब पिच चक्कामा टाँस्सिएर उप्किन्छ, अनि हतार–हतार कालोपत्रे बोकेर धावनमार्गमा प्रवेश गर्छन् ।

महाप्रबन्धक क्षेत्रीले अस्थायी कालोपत्रेका लागि आजै टेन्डर आह्वान गरिएको पनि जानकारी दिए । ‘विमानस्थलको पूरै रिह्याब (मर्मत) का लागि टेन्डर गरेर काम पूरा गर्न अझै तीन वर्षै लाग्छ,’ उनले भने, ‘त्यसैले तत्काल समाधानका लागि हामीले करिब ९ करोड रुपैयाँको टेन्डर आह्वान गरेका छौँ ।’
नौ करोड रुपैयाँको त्यो टेन्डरबाट हुने कालोपत्रेको आयु पनि करिब ५० दिनको मात्रै हुने जनाइएको छ । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल भगवान भरोसामा चल्दा पनि युवा र आश गरिएका भनिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सम्बन्धित निकाय भने निष्क्रिय छन् ।

 

कहाँ गयो ७ अर्ब रुपैयाँ ?
विमानस्थलको धावनमार्गमा यस्तो समस्या देखिएपछि समाधानका लागि पैसा जुटाउने भन्दै विमानस्थलले विदेश उड्ने नेपालीसहित सबै यात्रुबाट एक हजारका दरले शुल्क उठाउँदै आएको छ । यसरी पैसा उठाउन थालेको चार वर्ष भइसक्यो । यसरी संकलन हुने पैसा विमानस्थल विकास कोषमा जम्मा गर्ने गरिएको छ । कोषमा अहिलेसम्म ७ अर्ब २३ करोड रुपैयाँ संकलन भइसकेको छ ।

अझै एक वर्ष यसरी नै यात्रुबाट शुल्क उठाउने नागरिक उड्यन प्राधिकरणको योजना छ । यतिधेरै रकम संकलन भइसक्दा पनि प्राधिकरण भने विमानस्थल सुधारमा निष्क्रिय छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा दिनदिनै जहाज थपिइरहेका छन्, यात्रुको चाप बढेकोबढ्यैै छ । तर, सरोकारवाला निकाय सर्वसाधारणबाट पैसा उठाउन र ढुकुटीमा थन्क्याउनमात्रै मग्न छ ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु