गृहपृष्ठ डा. केसीले जिते, अब कांग्रेस के गर्छ ? (कुराकानीसहित)
डा. केसीले जिते, अब कांग्रेस के गर्छ ? (कुराकानीसहित)
चिकित्सा क्षेत्रका बेथिति नीतिगत तबरबाटै हल गर्न सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयनको माग राख्दै प्रा.डा. गोविन्द केसी १५ औँ पटकको अनसनबाट माग पूरा गराउन सफल भएका छन् ।
यसले डा. केसी र उनका समर्थकलाई निकै उत्साहित बनाएको छ । तर, संसदमा डा. केसीका मागलाई प्रमुख मुद्दा बनाएर अवरोध गर्दै आएको कांग्रेसले अब के गर्ला भन्ने चासो सर्वत्र छ । यसै सन्दर्भमा न्युज कारोबारका लागि सहकर्मी नवराज कुँवरले कांग्रेसका नेता महेन्द्र यादवसँग बिहीबार राति संक्षिप्त कुराकानी गरेका छन् ।
चिकित्सक गोविन्द केसी र सरकारबीच सहमति भएको छ, कांग्रेसले यसलाई कसरी लिएको छ ?
अन्ततः डा. गोविन्द केसीको माग पूरा भएको छ । दुई तिहाइ बहुमतको दम्भ देखाइरहेको सरकार डा. केसीका माग पूरा गर्न झुकेको छ । यो जनताको जित हो ।
डा. केसीका माग पूरा भएसँगै अब कांग्रेस विजनेस विहीन भयो भनिन्छ नि ?
यो टिप्पणी गलत हो । हामीसँग थुप्रै विजनेस छन् ।
के विजनेस छन् तपाईंहरुसँग अब ?
छन् नि ! सभामुख र
उपसभामुखको विषय मिलेको छैन । सरकारको अधिनायक शैली सुधारिएको छैन । महंगी, कालाबजारी, जनताका यावत समस्या हाम्रो विजनेस होइनन् र ?
महंगी, कालाबजारी, जनताका यावत समस्या हाम्रो विजनेस होइनन् र ?
भनेपछि अब कांग्रेसको मुख्य विजनेस चाहिँ सभामुख र उपसभामुख नै हुन्छ ?
हो, संविधानमा व्यवस्था भएको कुरालाई सत्तारुढ दलले मान्नुपर्छ कि पर्दैन ? उनीहरु मनलाग्दी गरिरहने, हामी हेरिरहने, यस्तो चाहिँ हुँदैन ।
शुक्रबार संसद बस्दैछ, के गर्नुहुन्छ ?
शुक्रबारको संसद बैठकमा हामी के गर्ने भनेर विहान छलफल गर्नेछौँ ।
आगामी बैठक नि ?
आगामी बैठक कांग्रेसले अवरुद्ध गर्न सक्छ । किनकि, सभामुख र उपसभामुखको विषयमा हाम्रो असन्तुष्टि कायम छ । संविधानमै भएको व्यवस्थालाई सरकारले मानिरहेको छैन । यसकारण पुनः हामी संसदमा कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउन सक्छ ।
नेपाली कांग्रेस दुई तिहाइ छ भन्दैमा सरकारसँग डराउँदैन । जनताका पक्षमा बोलिरहन्छ । अहिलेको सरकार लोकतान्त्रिक मार्गबाट आए पनि यसको व्यवहार अधिनायकवाद उन्मुख नै देखिन्छ । यसकारण हामी प्रमुख प्रतिपक्ष भएकाले बढी चनाखो र जिम्मेवार भएर प्रस्तुत हुन्छौँ ।
प्रकाशित समय २३:४० बजे
















