गृहपृष्ठ चितवनमा बाघ घट्दा मन्त्रालयमा हंगामा
चितवनमा बाघ घट्दा मन्त्रालयमा हंगामा
मुलुकभर २ सय ३२ भन्दा बढी बाघ
सरकारले मुलुकका सबै संरक्षित क्षेत्रहरुमा गरेको बाघ गणनापछि नेपालमा २ सय ३२ भन्दा बढी बाघ पुगेका छन् । मुलुकभरको गणनामा बाघ बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दा सरकारले विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरिने तथ्यांक भने प्रभावित भएको छ ।
चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ति सामुदायीक वन क्षेत्रका २२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा बाघको गणना गरिएको हो । सबै तयारी पुरा गरी तथ्यांकसमेत तयार भएपनि वन तथा वातावरण मन्त्रालयले बाघको संख्या सार्वजनिक गर्न डराएको पाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार देशभर वाघको संख्या बढ्दो पाइएको छ । ‘केही प्राविधिक विषयहरु मिलाउन नसकिएकाले बाघको तथ्यांक भने दिवस पारेर सार्वजनिक गर्न सकिएन,’ उनले भने, ‘बाघ गणनाको फोटोहरूको तुलना गरी विश्लेषण गर्ने काम अझै बाँकी नै रहेको छ ।’
विभागले वाघ गणनाको लागि गठन गरेको विज्ञहरुको समूहले भने आफ्नो काम पूरा गरी मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । मन्त्रालयमा बुझाइएको प्रतिवेदन सार्वजनिक गर्दा केही स्थानमा बाघको संख्या स्थिर रहेको र केही स्थानमा बाघको संख्या घटेको पाइएकाले तथ्पांक सार्वजनिक नगरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार बाघको संख्या घटेपछि सचिव डा विश्वनाथ ओली डराएका छन् । उनले बाघको संख्या घटेको कुराले नकारात्मक सन्देश जानेभन्दै तथ्यांक सार्वजनिक गर्न नै रोक लगाएको मन्त्रालय स्रोत बताउँछ । सचिव डा ओलीले भने बाघ गणनाको प्रतिवेदन आफूसंग नआएको भन्दै पन्छिए ।
बाघको संख्या करिव ५ वर्षमा बढेको पाइएको छ । सन २०१३ मा नेपालभर बाघको संख्या १ सय ९८ रहेकोमा यस वर्ष ३४ भन्दा बढी बाघ बढेर २ सय ३२ भन्दा बढी पुगेको निकुञ्ज विभागस्रोतले जनाएको छ । विभाग स्रोतका अनुसार शुक्लाफाँटामा बाघको संख्या सन २००९मा भएकोभन्दा नबढेको पाइएको छ भने चितवनमा अघिल्लो गणनाभन्दा २२ बाघ घटेको तथ्यांक प्राप्त भएको छ ।
‘मुलुकभर बाघको संख्या बढेपनि पर्यटकिय क्षेत्रको रुपमा रहेको चितवनमा बाघको संख्या घट्दा पर्यटकहरुमा गलत सूचना जानसक्ने भन्दै मन्त्रालयले तथ्यांक सार्वजनिक गर्ने कार्य रोक्न भनेको विभागले जनाएको छ ।
‘चितवनमा बाघको संख्या घट्नुको कारण अघिल्लो वर्ष नारायणी नदीमा आएको वाढीले बासस्थानमा ह्रास आउनु, चितवनको बाघ पर्सामा सर्नु हो,’ स्रोतले भन्यो, ‘पर्सामा बाघको संख्या झण्डै दोब्बर भएको छ भने ५ वर्षको अवधिमा चितवनमा २० बाघ प्राकृतिक रुपमा मरेको पाइएको छ भने २ बाघ भने तस्करले मारेको पाइएको छ ।’
‘बाघ पाइने निकुञ्जबाट आएका फोटो र तथ्यांकको अन्तिम विश्लेषण गर्ने काम भइरहेको छ,’ सचिव ओलीले भने, ‘विभिन्न निकायका विज्ञहरुको सहभागितामा यसको विश्लेषण भइरहेको छ ।’ बाघ गणनामा करीब १९ सय क्यामेरा प्रयोग भएका थिए ।
गणनाबाट आएको तथ्यांक र फोटोको विश्लेषणसहित संख्या निकाल्न विभागका इकोलोजिष्ट लक्ष्मण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी, डब्लुडब्लुएफ नेपालका शिवराज भट्ट र कञ्चन थापा, जेडएसएलका भगवान दाहाल लगायत सम्मिलित विज्ञ समूह गठन गरिएको थियो । विज्ञसमूहले आफ्नो काम सम्पन्न गरेर निर्धारित समयमा नै मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
सन् २०१३ मा सार्वजनिक भएको तथ्यांकमा १ सय ९८ वटा बाघ छन् । जसमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र १ सय २० बटा बाघ छन् । यसैगरी पर्सामा ७, बाँकेमा ४, बर्दियामा ५०, शुक्लाफाँटा आपसमा १७ वटा बाघ रहेको तथ्यांक छ । सन् २०१० मा १ सय २१ वटा बाघ रहेको तथ्यांक छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै आगामी सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए । नेपालले आफ्नो लक्ष्यभन्दा बढी संख्यामा बाघ पु¥याउने निश्चित छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा सो लक्ष्य लिइएको हो । विभिन्न निकुञ्जको तथ्यांक अनुसार पर्सामा ३१, शुक्लाफाँटामा १७, ३७ बाघ रहेको बर्दियामा ६८ र १३ बाघ रहेको बाँकेमा १७ वटा बाघ पुगेको विभाग स्रोतले जनाएको छ । चितवनमा बाघको संख्या १ सय २० बाट घटेर ९९ मा झरेको स्रोतले जनाएको छ ।
विश्वका १३ देशमा मात्र बाघ पाइएको छ । एसियाको नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, भुटान, लाओस्, म्यानमार, उत्तर कोरिया लगायतका देशमा बाघ पाइन्छ । विश्वमा सबैभन्दा धेरै बाघ भारतमा पाइन्छ भने उत्तर कोरियामा बाघ पाइएपनि त्यहाँ गणना भएको छैन । १ सय वर्ष अघि १ लाखको हाराहारीमा रहेको बाघको संख्या विभिन् कारणले संख्या घटेर ३ हजारको हाराहारीमा पुगेको पाइएको छ ।
प्रकाशित समय ०७:२० बजे

















