गृहपृष्ठ त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन
त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन
आगलागीपछि उत्पादन रोकिएको नुवाकोटको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो ।
तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुईवटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । ‘अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुईवटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ,’ उनले भने, ‘अहिले दुईवटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ ।’
आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करिब एक करोडको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौंको क्षति भएको केन्द्रले जनाएको छ ।
विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताए । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन नोक्सानी भएको उनले जानकारी दिए ।
प्रकाशित समय १२:४४ बजे

















