गृहपृष्ठ संसदीय सुनुवाइ समितिको बैठक सुरु, कामु प्रधानान्यायाधीश जोशीबारे निर्णय हुँदै

संसदीय सुनुवाइ समितिको बैठक सुरु, कामु प्रधानान्यायाधीश जोशीबारे निर्णय हुँदै

deepakraj-joshi-newskarobar

 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीका बारेमा अन्तिम निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु भएको छ । बैठकले जोशीको नियुक्तिबारे निर्णय गर्ने समितिका सदस्यहरुले जनाएका छन् ।

गएको बिहीबार नै जोशीको सुनुवाइ सकिएको थियो । अनुमोदनको निर्णय भने अझै हुन सकेको छैन । सुनुवाइ सकिएको चार दिन बित्दा पनि अनुमोदन नहुनुको कारण उनलाई अस्वीकृत गर्नु रहेको स्रोतको दाबी छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले समितिका सदस्यले सोधेका प्रश्नको जवाफ चित्तबुझ्दो ननदिएको नेकपाका सांसदहरुले बताएका छन् । यस्तै, जोशीले गरेका फैसला विवादित रहेको र उनको शैक्षिक प्रमाणपत्रसमेत विवादित भएकाले उनलाई स्वीकृत गर्ने सम्भावना कम रहेको बताइएको छ । सुनुवाइका क्रममा सांसदहरूले झन्डै ४० मिनेट प्रश्न उठाएका थिए तर जोशीले जम्मा १० मिनेट जवाफ दिएको भन्दै सांसदहरू रुष्ट बनेको समितिका सदस्य बताउँछन् ।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेकाले निर्णय अनुमोदन नगर्न सत्तारूढ दलका सांसदलाई गाह्रो छ । आफ्नै दलका अध्यक्षले सिफारिस गरेका सदस्यलाई अस्वीकृत गर्नुपर्दा खेप्नुपर्ने आलोचनाको समेत सत्तारुढ दलका समिति सदस्यहरुलाई भय छ । केहीले भने समिति सार्वभौम भएकाले अनुमोदन नगर्न पनि सक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस भने सुनुवाइ सकिएको चार दिनसम्म पनि निर्णय नहुँदा कतै भित्रभित्रै चलखेल भएन ? भन्दै सशंकित बनेको छ ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु