गृहपृष्ठ जाजरकोट, पहिरोमा परि मृत्यु हुनेको संख्या ८ पुग्यो
जाजरकोट, पहिरोमा परि मृत्यु हुनेको संख्या ८ पुग्यो
पीडितलार्इ राहत उपलब्ध गराउन सांसदको माग
पहिराेमा परेकाहरूलार्इ आइतबार उद्धार गर्दै प्रहरी ।
गएराति आएको पहिरोका कारण भेरी नगरपालिका ४ ठाँटिबजार जाजरकोटमा ८ जनाको मृत्यु भएको छ । त्यसै गरी एक जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताएका छन् । आइतबार बिहान करिब ७ बजेतिर आएको पहिरोले दुईवटा घर पुरिएको थियो ।
पहिरोमा पुरिएका लालबहादुर लोहारलाई जिवितै उद्धार गरिए पनि उनकी २५ वर्षीय श्रीमती सितली लोहार, उनकी १० वर्षीय छोरी रञ्जना लोहार, अर्की ७ वर्षीय छोरी मनिषा लोहार र ३ वर्षीय छोरी भगवती लोहारको मृत्यु भएको छ ।
त्यस्तै पहिरोमा परि मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार र ८ वर्षीय दशरथ परियार छन् । त्यसै गरी तीर्थ बोहोराकी ८ वर्षीय छोरी नाज्मा बोहोराको समेत पहिरोमा परि मृत्यु भएको छ । त्यस्तै पहिरोमा परि बेपत्ता भएका गोविन्द परियारको खोजीकार्य भईरहेको निरीक्षक सुनारले जानकारी दिए । भेरी नगरपालिकाको पहलमा उच्च जोखीममा परेका पाँच वटा घरहरु खाली गरी अन्यत्र बस्ने व्यवस्था मीलाईएको समेत सुनारले बताएका छन् ।
त्यस्तै जाजरकोटको घटनाका पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । कर्णाली प्रदेश सभाको आज बसेको बैठकमा सासदहरुले पहिरोमा पुरीएर मृत्यु भएका परिवारलाई कृया खर्च र घाईतेहरुको उपचार सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
बैठकमा बोल्दै जाजरकोटका सांसद गणेशप्रसाद सिंहले पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई तत्काल कृया खर्च तथा घाईतेहरुको उपचार व्यवस्था गर्न माग गरे । उनले भने ‘प्राकृतिक घटना जहिले र जहाँ पनि आउन सक्छन् । जाजरकोट पहिरोका कारण शोकमा छ । यो घटनामा परि मृत्यु भएकाहरुको परिवारलाई तत्काल कर्णाली सरकारले कृया खर्च उपलब्ध गराउनु पर्छ र घाईतेहरुलाई समेत तत्काल उपचारखर्चको व्यवस्था गर्नुपर्छ ।’
पहिरोका कारण करिब सत्तिरी घरहरु जोखीममा परेकोले तत्काल उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको समेत व्यवस्था कर्णाली सरकारले गर्नुपर्ने सांसद गणेशप्रसाद सिंहले माग गरको छन् । त्यस्तै संसद बैठकको विशेष समएमा बोल्दै सांसद कृष्णा शाहले जनताले सबैभन्दा नजिकको सरकार मानीरहेको प्रदेश सरकारले जनताको दुखमा उपस्थिति देखाउनुपर्ने बताएकी छन् । उनले भनिन् ‘जाजरकोटको घटनामा कर्णाली सरकारको तत्काल ध्यान जाओस् । रोग र शोकले सधै जाजरकोट बासीलाई नै पीडा दिएको छ । त्यसमा कर्णाली सरकारले मलम लगाउनुपर्छ ।’
प्रकाशित समय १८:५७ बजे

















