गृहपृष्ठ मधेसी जनताका माग सम्बोधन गरिन्छ : प्रचण्ड

मधेसी जनताका माग सम्बोधन गरिन्छ : प्रचण्ड

Prachanda-newskarobar फाइल तस्बिर

 

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई पूर्णता दिँदै मधेसी जनताका भावना र मागलाई सम्बोधन गरिने बताएका छन् । बारा जिल्लाको विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानुनहरुको संगालो सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संविधान गतिशील दस्तावेज भएको हुँदा निरन्तर परिवर्तन गर्दै लैजाने बताए । उनले संविधान तराई मधेस हिमाल पहाडका जनताको साझा दस्तावेज भएको र यसलाई पूर्णता दिने जिम्मेवारी सबैको भएको कुरामा जोड दिए । प्रचण्डले स्थानीय तहको अधिकार सिंहदरबारबाट गाउँमा आएको उल्लेख गरे ।

यसको कार्यान्वयनमा स्थानीय सरकार गम्भीर हुनु पर्ने बताउँदै प्रचण्डले वीरगंज महानगरपालिकासँग जोडिएको भए पनि दुर्गम जस्तो बनेको विश्रामपुरको विकासका लागि आफ्नो पार्टी तथा सरकार गम्भीर भएको बताए । उनले सीमाक्षेत्रका जनताले भोग्नु परेको समस्यालाई सरकारले बुझेको र त्यसैको परिणामस्वरुप सीमा क्षेत्र विकास कार्यक्रम र जनता आवास कार्यक्रम ल्याइएको कुरामा जोड दिए ।

बारा तथा यस क्षेत्रको विकासका लागि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कार्य प्रारम्भिक गरिएको बताउँदै उनले निजगढ–काठमाडौं फास्ट ट्रयाक तोकिएकै समयावधीभित्र निर्माण हुने दावी गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साहले विश्रामपुरमा मधेशको सांस्कृतिक पर्यटकीय पार्क निर्माण र रिङ्गरोड निर्माण गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु