गृहपृष्ठ प्राधिकरणले बढायो अप्टिकल फाइबरको शुल्क
प्राधिकरणले बढायो अप्टिकल फाइबरको शुल्क
नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको शुल्क बढाएको छ । सहरमा अव्यवस्थित रूपमा तानिएका तार व्यवस्थापन गर्दै आम्दानी बढाउन शुल्क बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
टेलिभिजन, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायकले प्राधिकरणको विद्युतीय पोल तथा अप्टिकल फाइबर प्रयोग गरी सेवा दिँदै आएका छन् । यसबाट उनीहरूले ठूलो आम्दानी गर्छन् तर प्राधिकरणले उचित मूल्य पाउँदैन । अब भने सेवाप्रदायकले अप्टिकल फाइबर र विद्युतीय पोलमा तार तानेबापत नयाँ शुल्क तिर्नुपर्नेछ ।
अप्टिकल फाइबरमा आबद्ध हुन सार्वजनिक सूचना जारी गरेको प्राधिकरणले नियम पालना नगर्नेको तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणका अनुसार ३३ केभी भोल्टेजको अप्टिकल फाइबर प्रयोग गर्दा सेवाप्रदायकले मासिक प्रतिकिलोमिटर प्रतिकोर २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै, ६६ केभी भोल्टेजमा मासिक प्रतिकिलोमिटर प्रतिकोर ६ हजार रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
अप्टिकल फाइबरमा सबै सेवाप्रदायकको आबद्धता बढेपिछ एउटै पोलमा पोको पारेर तार झुन्ड्याउनुपर्ने बाध्यता रहँदैन । यसले सहरको सुन्दरता त बढाउँछ नै, विद्युतीय तारमा समस्या आउँदा आगलागीको खतरा पनि कम हुनेछ ।
प्राधिकरणले यसअघि विस्तार गरेको ‘अर्थ वायर लाइटिङ पोर्ट’ विस्थापित गरी सबै ठाउँमा ‘अप्टिकल फाइबर ग्राउण्ड वार (ओपिजिडब्लू) राखेको छ । देशभरका ६६ केभीभन्दा बढी क्षमताका प्रसारण लाइनसँगै अप्टिकल फाइबर छ ।
प्रकाशित समय २२:५७ बजे

















