गृहपृष्ठ ओलीको बोली रुखो भए पनि मन सफा छ : डा. शिवजी यादव

ओलीको बोली रुखो भए पनि मन सफा छ : डा. शिवजी यादव

निर्वाचनपछि ओलीमा सकारात्मक परिवर्तन देखेका छौं

विक्रम सम्बत २०३२ सालबाट राजनीतिमा सक्रिय डा. शिवजी यादव सत्तारुढ संघीय समाजवादी फोरम नेपालका नेता हुन् । कम्युनिष्ट पुष्ठभूमिबाट राजनीतिमा जमेका डा. यादवले सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । यसअघि उनी संघीय फोरमको संसदीय दलमा प्रमुख सचेतक थिए । हाल उनी पार्टीको राजनीतिक समिति (पोलिटव्युरो) सदस्य तथा निर्वाचन समितको अध्यक्ष हुन् । उनको पार्टी संविधान संशोधन गर्ने सर्तमा वर्तमान सरकारमा सहभागी भएको छ । तर, सरकारमा गएको एक महिना बितिसक्दा पनि संविधान संशोधनको प्रसंगसमेत आएको छैन । यसै सन्दर्भमा संविधान संशोधनका लागि भइरहेको ढिलाइप्रति संघीय फोरमको धारणा, फोरम संघीय सरकारमा सहभागी हुँदा प्रदेश २ को सत्ता समीकरणमा परेको प्रभाव, आगामी रणनीतिलगायतका विषयमा केन्द्रित रही डा. यादवसँग नवराज कुँवरले गरेकाे कुराकानी :

 

तपाईंहरुको पार्टी संविधान संशोधनको लिखित सहमति गरेर सरकारमा सहभागी भएको छ । तर, संविधान संशोधनको मुद्दा अघि बढ्ने कुनै छाँटकाँट देखिएको छैन नि ?

सरकारले भर्खरैमात्रै पूर्णता पाएको छ । अहिलेसम्म मन्त्रिपरिषद पूर्ण थिएन । हामी संविधान संशोधनको मुल मुद्दालाई पहिलो सर्त बनाएर सरकारमा सहभागी भएका हौँ । हाम्रो अडानबाट हामी तलमाथि हुने छैनौँ । तर, सँगै हामी फेरि विकास र समृद्धिको पक्षमा पनि छौँ । नेपाली जनता सुखी र खुसी भएको हेर्न चाहान्छौँ । सरकारलाई अहिले हामीले दबाब दिइहाल्ने बेला भएको छैन । हामीलाई विश्वास छ, संविधान संशोधन हुन्छ । यही सरकारले संविधान संशोधन गर्नेछ ।

 

तपाईंहरु सरकारमा गएको नै महिना दिन बितिसक्यो, संशोधनका विषयमा छलफलसमेत हुन सकेको छैन, कहिलेसम्म हुन्छ ?
मलाई लाग्छ, अबको ६ महिनाभित्र संविधान संशोधन हुन्छ ।

 

किन यत्रो समय ?
विगतमा ९० प्रतिशतले जारी गरेको संविधान ८/१० प्रतिशतको दबाबमा किन संशोधन गर्ने भन्ने शक्ति अहिले संविधान संशोधनका लागि तयार देखिएका छन् । अर्थात् संसदमा ७५ प्रतिशत सांसद संविधान संशोधनको पक्षमा आइसकेका छन् । हामी चाहान्छौँ, त्यो २५ प्रतिशतले पनि कुरा बुझोस् । संविधान संशोधन केही व्यक्तिको स्वार्थमा केन्द्रित माग होइन, यो मधेसी जनताको माग हो । अब सबै दलसँग छलफल हुन्छ । संविधान संशोधनका लागि उनीहरुलाई पनि सहमत गराउने प्रयास गरिने छ ।

 

विगतमा संविधान संशोधन टेबलमात्रै गराउँदा पनि आफूलाई सफल ठान्ने तपाईंहरु शतप्रतिशतले स्वीकार्ने गरी संविधान संशोधन गराउन ६ महिना पर्खिने भन्ने कुरा कसरी पत्याउने ? ६ महिना कुर्नुपर्ने अरु कारण पनि होलान् नि !
निश्चय पनि अहिले सरकारको नेतृत्व कर्ता दल नेपाल कम्युनिष्ट पार्टीलाई आन्तरिक व्यवस्थापनको चटारो छ । यो कुुरा हामीले राम्रोसँग बुझेका छौँ । उहाँहरु राष्ट्रिय जनता पार्टीजस्तै बहुअध्यक्ष प्रणालीमा हुनुहुन्छ, धेरै नेतालाई जिम्मेवारी दिनेदेखि तल्ला कमिटी एक पार्ने प्रयासमा हुनुहुन्छ । यस कारण राज्य सञ्चालनकै काम प्रभावित बनेको छ । उहाँहरुको आन्तरिक कामकार्बाही पनि छिट्टै मिल्ला । हामी यसैको प्रतिक्षामा पनि छौँ ।

dr. shivaji yadav_newskarobar

तपाईंहरुसँग दर्जनौँ वार्ता गरेका केपी ओलीकै कारण विगतमा संविधान संशोधन हुन सकेको थिएन । फेरि उनै ओलीले संविधान संशोधन गरिदेलान् भन्ने अपेक्षा गर्दै हुनुहुन्छ ?

केपी ओली बोलीको छुच्चो हुनुहुन्छ । तर, उहाँको नियत सफा छ । निर्वाचनपछि उहाँ अझै बढी जिम्मेवार र नैतिकवान देखिनुभएको छ । उहाँ आफैँले हामीलाई बोलाएर छलफल गर्नुभयो । समस्या समाधान गर्नुपर्छ भनेर अग्रसरता देखाउनुभयो । संविधान संशोधन हुनै सक्दैन भन्ने उहाँले नै दुई बुँदे सहमति गर्नुभयो । त्यसैले ओलीकै अग्रसरतामा संविधान संशोधन हुन्छ भन्ने हाम्रो विश्वास छ ।

 

६ महिनामा पनि संविधान संशोधन भएन भने नि ?
स्वाभाविक हो, हामी संघर्षमा जान्छौँ । विगतमा पनि हामीले राज्यसँग लामो संघर्ष गरेकै हौँ । ६ महिनाभित्रमा संविधान संशाेधन भएन भने हामी अान्दाेलन थाल्छाैँ ।

 

अब त जनताले पत्याउलान् त ?
जनताले नपत्याउने काम हामीले के गरेका छौँ र ? हामी जे गर्दैछौँ, जनताले हामीलाई दिएको म्यान्डेट अनुसार नै गर्दैछौँ ।

 

तपाईंहरु त उधारो सहमति गरेर सरकारमा जानुभयो, प्रदेश २ को सत्ता सहयात्री राजपा अझै केन्द्र सरकारमा गएको छैन । ऊ चाहिँ सरकारमा नजानुको कारण नेकपाप्रतिको अविश्वास हो कि आन्तरिक कारण हो ?

पहिलो कुरा, उधारो सहमति नभनौँ । लिखित सहमति गरेर हामी सरकारमा सहभागी भएका हौँ । यस अनुसार संविधान संशोधन हुन्छ । दोस्रो, नेकपाप्रति राजपाको अविश्वास हुन्थ्यो भने सरकारलाई समर्थन नै गर्दैन थियो । हामीभन्दा पहिला उहाँहरु सरकारमा सहभागी हुन खोज्दै हुनुहुन्थ्यो । मैले अघि पनि भने, संविधान संशोधन हुनै सक्दैन भन्नेहरु अहिले त्यसका लागि तयार देखिएका छन् । यस्तो अवस्थामा सरकारमा जाँदा जनतामा सेवा प्रवाह पनि हुने र आफ्ना माग पनि सम्बोधन हुन्छ । तर, राजपाभित्र आन्तरिक व्यवस्थापनको बहस जारी छ । ६ वटा पार्टी मिलेर बने पनि अहिले तदर्थ समितिजस्तो बनेर चलिरहेको छ । सरकारमा आउन नसक्नु उहाँहरुको बाध्यता हो ।

 

केन्द्र सरकारमा तपाईंहरुको सहभागिताले प्रदेश २ को समिकरणलाई प्रभाव पारेको छ कि छैन ?

छैन । केन्द्रमा हामी सहभागी हुँदा राजपा रिसाउनुपर्ने कुनै कारण छैन । उहाँहरु पनि सकेसम्म आन्तरिक कुरा मिलाएर सरकारमा सहभागि हुन चाहानुहुन्छ भन्ने मलाई लाग्छ । त्यसैले प्रदेश २ मा त हाम्रो सहकार्य मजबुत नै छ ।

 

तर, प्रदेश सरकारको कामकार्बाही त चुस्त देखिदैन त ?
यो चाहिँ प्रदेश २ को मात्र समस्या होइन । सबै प्रदेशको काम चुस्त हुन नसकेको सत्य हो । त्यहाँ पनि समस्या छन् । नयाँ संरचना त्यसमा पनि कर्मचार अभाव छ । समस्या धेरै छन्, स्रोत साधन कम छन् । अझै पनि कतिपय निर्णयाधिकार संघकै मातहतमा छ । त्यसैले प्रदेश २ मात्रै होइन, सबै प्रदेशको काम प्रभावकारी छैन ।

 

संघीयता पच्ने देखिएन भन्ने टिप्पणी हुन थालिसकेको छ । तर, प्रमुख दलहरुलाई यसलाई त्यति धेरै वास्ता गरेका छैनन् । फेरि प्रदेश र स्थानीय तहमा समस्या पनि असरल्ल देखिन थालेका छन् । केन्द्र सरकार वा प्रमुख दललाई यसप्रति कति संवेदनशील देख्नुहुन्छ ?

संघीयता नपच्ने भन्ने त अब सवाल नै रहँदैन । जहाँसम्म प्रमुख दलको कुरा छ, उहाँहरुमा धङधङी बाँकी छ । उहाँहरुमध्ये कतिपय त हिजो संघीयता किन चाहियो भन्ने पनि हुनुहुन्छ । अहिले पनि त्यो धङधङीले नछाडेको हुन सक्छ । तर, हामी निकै अघि बढिसकेका छौँ । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताले नै संघीयता रुसाइसकेका छन् । अब उहाँहरुले पछि हट्ने कुनै ठाउँ छैन । अब थप संवेदनशील भएर यसको उचित व्यवस्थापन र चुस्ततामा जोड दिनुपर्छ ।

राजपासँगको सम्बन्ध चाहिँ कस्तो छ ?
सामान्य छ । प्रदेश २ मा सहकार्य भइरहेको छ । मधेसी जनताका हकहितको सवालमा उठ्ने मुद्दामा हामी एक भएर अघि बढेकै छौँ ।

 

तर, बीचमा तपाईंहरुबीच थुप्रै उतारचढाव देखिए, प्रदेश २ मा सहकार्य तोड्नेसम्मका अभिव्यक्ति राजपाका नेताहरुबाट आए, सम्बन्ध अझै कसरी सामान्य रह्यो ?

हामी जनतालाई सर्वोपरी ठान्छौँ । जनताको चाहाना छ, हामी एकताबद्ध भएर अघि बढौँ । राजपासँग अहिले हाम्रो सहकार्य बाध्यता भनेर बुझ्दा पनि हुन्छ । अथवा जनताको डर भन्दा पनि अतियुक्ति हुँदैन । जनताले हामीलाई निर्वाचनबाट यस्तो खालको म्यान्डेट दिएका छन् । त्यसैले हामी टुटफुट भएर भन्दा पनि एकजुट भएरअघि बढ्नुपर्छ भन्ने मान्यता हो ।

 

राजपा र संघीय फोरम बाध्यता वा करले मिल्नुपर्ने स्थिति किन, अन्य कारण के छन् ? ?
पहिलो त जनताले म्यान्डेटलाई मान्दैनौँ भन्ने अधिकार हामीसँग हुँदैन । दोस्रो, उहाँहरु अलिे कांग्रेसतिर निकट हुनुहुन्छ । हामी कम्युनिष्टतिर निकट छौँ । यसको मतलव हाम्रा केही मुद्दा मिल्छन् । तर, सैद्धान्तिक पाटोमा हामी फरक छौँ ।

 

सरकारको कामकार्बाहीप्रति सन्तुष्ट हुनुहुन्छ ?
सरकारको कामकार्बाही त्यति सन्तोषजनक छैन । निर्वाचनलगत्तै जुन गतिमा हामी समृद्धिको दिशामा अघि बढ्छौँ भन्ने भाषण गरिए, जनतासामु आश्वासन बाँडिए । त्यो अनुसारको काम हुन नसक्दा निराशा बढेको छ । अहिले नेकपाको आन्तरिक कारणले सरकारले सोचेजस्तो काम गर्न सकेको छैन । आसा गरौँ, उहाँहरुभित्र मिल्नुपर्ने कुरा चाँडै मिल्छ र समृद्धिको दिशामा मुलुक तीव्र गतिमा अघि बढ्ने छ ।

 

तपाईंको पार्टीका अध्यक्ष उपेन्द्र यादव यसअघि मन्त्री हुँदा त सुरुमै ‘आक्रामक’ भएर देखिने गरी काम गर्नुहुन्थ्यो । अहिले मन्त्री भएको महिना दिन बितिसक्दा पनि उहाँले खासै काम गर्न सकेको देखिँदैन । किन होला ?
हालैमात्र मन्त्रीपरिषदले पूर्णता पाएको छ । उहाँले काम गर्ने दिन त अब सुरु हुँदैछ । त्यही पनि हामीले कम्तिमा ९० दिन त हेर्नुपर्छ । त्यसपछिमात्रै टिप्पणी गर्दा जाती हुन्छ कि जस्तो लाग्छ ।

फाेटाे : सुनिल प्रधान

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु