गृहपृष्ठ अर्थमन्त्री झन् आलोचित

अर्थमन्त्री झन् आलोचित

yubaraj-khatiwoda फाइल तस्बिर

 

अर्थमन्त्री डा. युवराज खतिवडाको आफ्नै पार्टीका सांसदहरुले आलोचना गरेका छन् । बजेट सम्बन्धी छलफलकै क्रममा संसदबाटै वडाध्यक्ष जित्ने चुनौती पाएका खतिवडाको आलोचक आफ्नै पार्टीभित्रबाट हुन थालेपछि सरकारको अर्थनीति कसरी अघि बढ्ला भन्ने प्रश्न उठ्न थालेको छ ।

सरकारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अर्थविज्ञ खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पेका थिए । तर, उनीद्वारा प्रस्तुत बजेट लगायतका विषयमा सत्तारुढ दलकै सांसद सन्तुष्ट हुन सकेका छैनन् । यसले उनीमाथि आफ्नै पार्टीबाट दवाव सुरु भएको छ ।

सत्तारुढ नेकपाका सांसदले अझ अघि बढेर अर्थमन्त्री खतिवडाको राजिनामा माग गरेका छन् । त्यसरी राजिनामा माग्ने नेकपाका सांसद मेटमणि चौधरी हुन् । उनले जनताले आशा गर्ने ठाउँ नरहेको र जनताका माग सम्बोधन हुन नसक्ने भन्दै अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताएका हुन् ।

शुक्रबार प्रदेश ५ का सांसद र प्रधानमन्त्रीबीच छलफल भएको थियो । उक्त छलफलमा चुनाव अघिको नेकपाप्रतिको जनताको आशा बाँकी नरहेको भन्दै त्यसो हुनुमा अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटको मुख्य हात रहेको आरोप लगाए । ‘अहिलेको बजेटबाट जनताको माग सम्बोधन हुन सक्दैन,’ छलफलका क्रममा चौधरीले प्रधानमन्त्रीलाई भनेका थिए, ‘सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै परिवर्तन गरेर जानुपर्छ ।’

बजेटमार्फत करवृद्धि, लगायतका कारण अर्थमन्त्री आलोचनाको सिकार भएका छन् । उनीमाथि ग्रामिण र निम्न वर्गका जनताको माग र अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लाग्दै आएको छ । नेकपाले चुनावताका वृद्धभक्ता बढाउने भनेकामा बजेटमा उक्त विषयले प्रवेश नपाउनुलाई पनि अर्थमन्त्रीको दोष देखेका छन् । तर, पछि नेकपाका नेताहरुले आफूहरुले वृद्धभत्ता पाँच हजार पुर्याउने भनेको ५ वर्षमा हो भनेर फितलो प्रतिक्रिया दिएका थिए ।

तर, स्रोत भन्छ प्रधानमन्त्री अर्थमन्त्रीनै परिवर्तन गर्नुपर्छ भन्ने मागमा सकारात्मक छैनन् । उनलेनै पार्टीभित्र लामो संघर्ष गरेका नेताहरुलाई पन्छाउँदै खतिवडालाई अर्थमन्त्री बनाएका थिए । आफ्ना सांसदहरुलाई भने प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार निर्माण हुँदा देश ठूलो अर्थिाक संकटमा रहेकाले अहिलेको बजेटलाई बाध्यताका रुपमा चित्रण गरेका थिए ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु