गृहपृष्ठ प्रविन प्रसाईं : व्यस्त जीवनमा संगीतको तिर्खा

प्रविन प्रसाईं : व्यस्त जीवनमा संगीतको तिर्खा

 

२०६२ सालमा झापा सुरुंगाको २२ वर्षे ठिटो प्रविन प्रसाईं काठमाडौंका लागि यात्रा गर्छ । यो त्यस्तो समय थियो, जुनबेला सात राजनीतिक दलहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध आन्दोलन गरिरहेका थिए ।

त्यसअघि अभिभावकसँग काठमाडौं आएका प्रसाईंको यसपटकको यात्रा भने एक्लो थियो । काठमाडौं आउनुको उद्देश्य थियो– सर्टिफिकेट हराएपछि त्यसको अर्काे प्रति निकाल्ने । सर्टिफिकेट बनाउने उद्देश्य बोकेर काठमाडौं आएका प्रसाईंले थानकोट कटेपछि जब काठमाडौं देखे, त्यो बेला के सोचेका थिए अहिले सम्झँदैनन् । ‘त्यतिबेला के सोचियो अहिले ठ्याक्कै भन्न सक्दिन,’ प्रसाईं भन्छन् ।

त्यसपछि उनी काठमाडौं बस्न थाले । एसएलसी दिएलगत्तै झापामै संगीत सिकेका उनलाई काठमाडौं बस्न थालेपछि सांगीतिक प्यास झनै बढेर गयो । त्यसै क्रममा २०६४ मा उनले ‘उजाड यो जिन्दगीमा……’ र ‘उजेली–उजेली…..’ बोलका दुईवटा गीत रेकर्ड गराए ।

संगीतका यी भोका यात्रीले पहिलो गीत रेकर्ड गराउन प्रसिद्ध गायक तथा संगीतकार आलोक श्रीको सानिध्य पाए । प्रसाईं सम्झन्छन्, ‘आलोक दाइले पहिलो गीत रेकर्ड गर्ने समयमा मलाई नहौस्याउनुभएको थियो भने मैले गीत गाउन सक्दैन थिएँ होला ।’

prabin-prasain-newskarobar

उनलाई अझै सम्झना छ, पहिलोपटक संगीत स्टुडियो छिर्दाको । ‘त्यसअघि स्टुडियो छिरेको थिइनँ,’ प्रसाईं जीवनकै अविस्मरणीय उक्त घटना सम्झँदै भन्छन्, ‘त्यसबखत मैले गीत गाउनै सकिनँ, पहिलो गीत गाउन मलाई धेरै समस्या पर्याे ।’ तर, त्यसबेला आलोक श्रीले पीठ थपथपाउँदै दिएको हौसला अझै प्रेरणादायी छ ।

बाल्यकालदेखिकै संगीतप्रतिको प्यासले उनलाई गायन क्षेत्रमा प्रवेश गर्नु नै थियो । आफ्ना नातेदार तथा मित्रवर्गको सहयोग पाएर आफूलाई यस क्षेत्रमा लाग्न र स्थापित हुन उनलाई थप सहज भयो ।

ताप्लेजुङको फूलबारीमा जन्मिएका उनी दुई दाजुभाइमध्ये जेठा सन्तान हुन् । एक वर्षकै हुँदा बुबाआमासँग सुनसरी झरेका उनले कक्षा ७ सम्मको अध्ययन सुनसरीमै गरे । त्यसपछि झापाको सुरुंगास्थित हरिकुल बोर्डिङ स्कुलबाट उच्च माध्यमिक तहसम्मको शिक्षा हासिल गरे । सुरुंगाकै कनकाई क्याम्पसबाट स्नातक सकेर उनी उच्च शिक्षाका लागि काठमाडौं हानिए । उच्च शिक्षा त पढ्नु नै थियो, त्यससँगै संगीतप्रतिको प्यास पनि उनीसँगै आयो ।

एसएलसीको आसपासबाट गितार बजाउन थालेकोसमेत जोड्ने हो भने उनको सांगीतिक यात्राले झन्डै दुई दशक पूरा गरिसकेको छ । तर, आफ्नै आवाजमा २०६४ मा मात्रै उनको गीत रेकर्ड भयो । त्यसको तीन वर्षपछि जीवनभर संगीतलाई साथ दिने बाचा गर्दै उनले ‘साथ साथ’ नामक एल्बम निकाले ।

उनका सुरुवाती रेकर्डेड चारवटा गीत बजारमा आएनन्, त्यसैले उनले दर्शक तथा श्रोता पनि कमाएनन् । तर, जतिलाई उनले गीत सुनाए तिनीहरुको सकारात्मक प्रतिक्रियासहितको हौसला पाएपछि कहिले घस्रिँदै त कहिले उठ्दै संगीतको क्षेत्रमा निरन्तर लागिरहेका छन् ।

prabin-prasain-newskarobar

प्रसाईं गुजारा भने होटल व्यवसाय गरेर चलाउँछन् । ‘होटल व्यवसाय मेरो पेट भर्नका लागि हो,’ उनी भन्छन्, ‘संगीत मन भर्नका लागि ।’ एकान्तमा कुनै स्थानमा पुग्दा उनलाई गीत गुनगुनाउन खुब मनपर्छ । ‘समय–समयमा घुम्न गइरहन्छु,’ उनी भन्छन्, ‘मनोरम प्राकृतिक वातावरणमा गुनगुनाउन खुब मन पर्छ ।’

सुगम पोखरेलका ‘डाइहार्ट फ्यान’ प्रसाईंलाई नारायण गोपाल, दीप श्रेष्ठ, आलोक श्री, सपना श्रीका गीत पनि खुब मन पर्छन् । संगीतमा मात्रै लागेर काठमाडौंमा संघर्ष गर्न गाह्रो हुने अनुभव सुनाउने उनी अफ्नो व्यवसायले सांगीतिक क्षेत्रमा लाग्न मद्दत गरेको बताउँछन् । ‘संगीत जीवन हो भने व्यवसाय जीविकोपार्जन,’ उनी दार्शनिक पारामा भन्छन्, ‘अरुको के छ, त्यो त म भन्न सक्दिन तर मेरो जीवनमा भने व्यवसाय र संगीत दुवैले एक–अर्कालाई मद्दत गरेका छन् । यिनीहरु बीच सौतेनी सम्बन्ध कहिल्यै भएन ।’

केही दिन अघि मात्रै डेकर्ड भएको ‘उडिजाने मन, भागिजाने मन…’ ले उनको गायन कला उजागर गरिदिएको छ । शब्द र संगीतको उत्कृष्ट संयोजनका कारण उनले यो गीतबाट धेरै दर्शक श्रोता कमाइरहेका छन् । केही दिनभित्रै लोकपपमा आधारित ‘ढुंगे धाराको पानी…’ ल्याउँदै छन् । एकपछि अर्को गीत चर्चित हुँदै जाँदा सांगीतिक उचाइतर्फ बढ्न थप सहज हुने उनको विश्वास छ ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु