गृहपृष्ठ रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज खोल्ने सरकारको तयारी
रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज खोल्ने सरकारको तयारी
तरार्इमा ७० प्रतिशत बजेट छुट्याइएको छ : प्रधानमन्त्री
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज खोल्न लागेको बताएका छन् । त्यसका लागि छलफल भइरहेको उनको भनाई छ ।
प्रदेश नम्बर २ को प्रदेश सभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार गणतन्त्रवादी नेता सिंहको नाममा मेडिकल कलेज खोल्ने गरी छलफलमा जुटेको बताएका हुन् । आफ्नो संवोधनका क्रममा प्रदेश नम्बर दुईलाई ‘भाग्यमानी’ बताएका प्रधानमन्त्रीले रेल, गाडी र जहाज तीनै प्रकारका सवारी २ नम्बर प्रदेशमै सर्वप्रथम चल्ने बताए ।
पहिलो संविधानसभाको निर्वाचन पश्चात तत्कालिन माओवादीले नेता रामराजाप्रसाद सिंहलाई मुलुकको पहिलो राष्ट्रपति पदको उम्मेदवार बनाएको थियो । त्यसबखत नेपाली कांग्रेसले डा. रामवरण यादव र नेकपा एमालेले रामपृत पाशवानलाई राष्ट्रपतिको उम्मेदवार बनायो ।
तर, तत्कालिन मधेसी जनआधिकार फोरमसँग उपराष्ट्रपतिमा कुरा मिल्न नसकेपछि उसले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका डा. यादवलाई राष्ट्रपतिमा समर्थन गरेको थियो । त्यसबखत तत्कालिन एमालेले पनि नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएका डा. यादवलाईनै समर्थन गरेपछि सिंह राष्ट्रपतीय निर्वाचनमा डा. यादवसँग पराजित भएका थिए ।
सम्बोधनका क्रममा ओलीले नेपालको पानी जहाज २ नम्बर प्रदेशबाट ‘छिट्टै’ कलकत्तासम्म पुग्ने बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाली झण्डाबाहक पानी जहाज चलाउन सकिने बताएको तर त्यसको अपव्याख्या गरिएको उनको भनाई थियो । अब भने पानी जहाज चलाएरै छाड्ने उल्लेख गरे ।
तराई क्षेत्र ऐतिहासिक र सांस्कृतिक रुपमा धनि रहेको उल्लेख गर्दै उनले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । समग्र विकास बजेटको ७० प्रतिशत हिस्सा मधेसका लागि छुट्याएको उनको भनाई थियो ।
लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको हुलाकी राजमार्ग आगामी पाँच वर्षमा सम्पन्न गर्ने प्रधानमन्त्रीको दावी थियो । ‘ढिलोमा पाँच वर्षमा हुलाकी राजमार्ग निर्माण गर्नेगरी सरकार तयारीमा लागेको छ’, उनले, ‘अर्को पटकको चुनावमा हुलाकी राजमार्गमा दौडिन सक्नुहुन्छ ।’
तराईमा कृषि विकासका लागि सिँचाइको व्यवस्था मुख्य भएकाले सरकार साना ठूला सिँचाइको व्यवस्था गर्न लागी परेको उनको भनाइ थियो । सरकारले बसाल्न लागेका १४ वटा सुरक्षित बस्तीमध्य ७ वटा २ नम्बर प्रदेशमै भएको जानकारी दिए ।
प्रकाशित समय १४:२३ बजे
















