गृहपृष्ठ नेपाली कांग्रेसको महासमिति बैठक अनिश्चित

नेपाली कांग्रेसको महासमिति बैठक अनिश्चित

कांग्रेसको पार्टी संरचनामा अझै आएन संघीयता

sherbahadur-deuba-newskarobar फाइल तस्बिर

 

नेपाली कांग्रेसको नीति तथा विधान परिवर्तन गर्नसक्ने महासमिति बैठक फेरि अनिश्चित भएको छ । गत चैतमा सुरु भएर बैसाखमा सकिएको केन्द्रीय समिति बैठकले असारमा जिल्ला सभापति भेला र भदौभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा सभापति भेलापछि महासमिति बैठक पछि धकेल्न रणनीतिमा लागेपछि महासमिति बैठक अनिश्चित भएको हो ।

महासमिति बैठक अनिश्चित हुँदा कांग्रेस देशमै नभएका संचना अनुरुपको संगठनमा चलिरहेको छ । देश संघीयतामा गएर सात सय ५३ स्थानीय तह, ७७ जिल्ला, सात प्रदेश र संघ गरी आठ सय ३९ संचना कायम भएका छन् । तर, नेपाली कांग्रेसमा भने संघीयतामा जानु अघिका गाविस, नगरपालिका, महानगरपालिका र दुइसय ४० निर्वाचन क्षेत्र हुँदाका कार्यसमितिहरु नैं विद्यमान छन् । थपिएका दुई जिल्ला मध्ये रुकुममा संयोजक तोकिएको छ, नवलपुरमा कार्यवाहक तोकिएका व्यक्तिले संगठन प्रमुखको भूमिका खेलिरहेका छन् संगठन चलायमान हुन सकिरहेको छैन ।

‘कांग्रेसको १३ औं महाधिवेशनबाट बनेका गाउँ इकाइ समितिदेखि, दुई सय ४० निर्वाचन क्षेत्र अनुसारका समिति अहिले पनि कायम छन्,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘महासमितिले विधान संशोधन गरेर नयाँ संचना तयार पारेपछि मात्र नयाँ संचना अनुसारका समिति बनाउने बाटो खुल्छ ।’ तर, विधान संशोधन भदौमा गर्ने भनेर केन्द्रीय समितिको निर्णयबाट डाकिएको महासमिति बैठक अझै अनिश्चित छ ।

‘केन्द्रीय समिति बैठकले भदौमै गर्ने भनेर निर्णय गरेको छ, तरु अहिलेसम्म विधान मस्यौदा समिति गठन भएकै छैन,’ मुख्यसचिव पौडेलले भने, ‘अर्को निर्णय नहुँदासम्म महासमिति भदौमै हो । प्रविधिकरुपमा विधान बनाउने कुरा चलिरहेको छ । विधान संशोधनको मस्यौदा बनाएर महासमितिमा लैजानुपर्ने हुँदा केही तयारी गर्नुपर्ने देखिन्छ ।’

तर कांग्रेसका केन्द्रीय सदस्यहरु जिल्ला सभापतिहरुको हेटौंडा भेलापछि सभापति देउवा तर्सिएकाले महासमिति बैठक अनिश्चित भएको बताउँछन् । ‘हेटौंडामा भएको जिल्ला सभापति भेलापछि सभापति देउवाले आफूलाई एक्लो महसुस गर्दैै आउनुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला सभापति भेलामा मकवानपुर सभापति इन्द्र बानियाँबाहेक एकजनाले पनि सभापतिजीको बचाउ नगरिदिएपछि उहाँ त्यस्ता भेला वा बैठक टारेर जाने पक्षमा देखिनुभएको छ ।’

ती केन्द्रीय सदस्यले देउवाको निकट भनिएका ललितपुर सभापति मदनबहादुर अमात्यले समेत नेतृत्वको अकर्मन्यताले पार्टी संगठन चलायमान हुन नसकेको र त्यही कारण निर्वाचनमा पराजय भएको बताएपछि देउवा झस्किएको बताए । ‘त्यसपछि विधान संशोधन गर्न डाकिएको महासमितिको बैठकका लागि विधान मस्यौदा समिति गठन गर्ने कुरामै उहाँले अनेक बाहाना गरिरहनुभएको छ,’ उनले भने ।

देउवासँग निकट भएकाहरु पनि देउवाको कार्यशैलीकै कारण टाढिएका छन् । ‘अहिले महासमिति बैठक टार्नुपर्ने अरु कुनै कारण छैन, यो सभापतिको नियतका कारण मात्र अनिश्चित भएको हो,’ देउवाकै प्यालनमा महामन्त्री लडेका अर्जुननरसिंह केसीले भने, ‘महासमिति बैठक पछि धकेल्ने अनि विस्तारै सबैकुरा पछि सारेर कार्यकाल लम्ब्याउने तर्फ उहाँका गतिविधि लक्षित देखिन्छन् ।’

निर्वाचनमा भएको पराजयपछि पार्टी संगठनलाई ऊर्जा दिन तथा कार्यकर्तालाई हारको मनस्थितिबाट बाहिर ल्याउन शीघ्र महाधिवेशनको बहस चलिरहेको छ । कांग्रेसको विधानले केन्द्रीय समितिको कार्यकाल चार वर्षको तोक्दै विशेष परिस्थितिमा पटक–पटक गरी बढिमा एक वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था गरेको छ । शीघ्र महाधिवेशन भनेर ठिक चार वर्षमा १४ औं महाधिवेशन गर्ने भनिए पनि देउवाले थप एक वर्ष म्याद थपेर आफू अनुकुलमा महाधिवेशन गर्ने रणनीति बनाएको कांग्रेस नेताहरुको बुझाई छ ।

देउवाको कार्यशैलीबारे टिप्पणी गर्न नचाहने उनी निकटका केन्द्रीय सदस्य पनि महासमिति नबोलाउँदा संगठन चलायमान हुन नसकेको स्वीकार गर्छन् । देउवा निकटका केन्द्रीय सदस्य रमेश लेखकले महासमिति बैठक कहिले बस्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । ‘विधान संशोधनका लागि महासमिति बैठक डाकिएको हो, त्यहाँ पेश गर्ने विधानको मस्यौदा तयार गर्न अहिलेसम्म मस्यौदा समिति नै गठन भएको छैन,’ लेखकले भने, ‘देश संघीयतामा जाँदा पार्टी संगठन एकात्मक प्रणालीमा छ, देशम हुँदै नभएका संरचना अनुसारका पार्टी समितिहरु विद्यमान छन् ।’ उनले अहिले पनि कांग्रेसका दुई सय ४० क्षेत्रीय समिति र करिब तीन हजार नौसय भन्दा बढी गाउँ कार्यसमिति रहेको बताए । लेखक देउवा प्यानलबाटै निर्वाचित भएका केन्द्रीय सदस्य हुन् ।

कांग्रेसको विधानले नै महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक डाक्नुपर्ने व्यवस्था गरे पनि १३ औं महाधिवेशनबाट देउवा निर्वाचित भएको दुई वर्ष पाँच महिना वितिसक्दासमेत महासमिति बैठक बस्न सकेको छैन ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु