गृहपृष्ठ ज्ञवाली सिइओ भएपछि प्राधिरकणको पहिलो बैठक

ज्ञवाली सिइओ भएपछि प्राधिरकणको पहिलो बैठक

सेवाग्राहीको गुनासो स्थानीय तहले प्रमाणित गर्ने

 

अबदेखि स्थानीय तहले नै सेवाग्राहीको आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बुधबारको बैठकले स्थानीय तहलाई सो अधिकार दिएको हो । बैठकले पुनर्निर्माणको कामलाई तीव्रता दिने गरी आवश्यक कर्मचारीहरु थप गर्ने निर्णय पनि गरेको छ ।

यस्तै भूकम्प प्रभावित ३ जिल्लामा ५ वटा एकीकृत बस्ती विकास गर्ने योजना पनि स्वीकृत गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– २ मा ४० घरधुरी रहेको नोर्बुलिङ्ग एकीकृत बस्ती विकास योजना, ७० घरधुरी रहेको मेलम्ची नगरपालिका नमदोलिङ एकीकृत बस्ती विकास योजना, भोटेकोशी गाउँपालिका– ५ मा त्याङतली एकीकृत नमुना बस्ती विकास योजना स्वीकृत गरिएको छ । रामेछापको मन्थलीस्थित माझी बस्तीमा २४ घरधुरी रहेको गाईखुरा एकीकृत बस्ती विकास योजना र काभ्रेको मण्डनदेवपुर नगरपालिकामा तीनधारा होमस्टेसहितको एकीकृत नमुना बस्ती विकास गर्ने योजना पनि बैठकले स्वीकृत गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

सरकारले पुनर्निर्माणको कामसँगै एकीकृत नमूना बस्ती विकासको कार्यक्रमलाई पनि अघि बढाएको छ । त्यही कामलाई पनि तीव्रता दिने गरी भूकम्प प्रभावित जिल्लाहरुमा थप ५ वटा एकीकृत विकास बस्ती योजना अघि बढाउने प्रस्ताव स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली दोस्रो पटक नियुक्त भएपछि बुधबार प्राधिकरण कार्यकारी समितिको पहिलो बैठक बसेको हो । प्राधिकरणले आगामी साढे २ वर्ष भित्र काम सम्पन्न हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाउने दावी गरेको छ ।

निजी आवासको काम भने चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी कामलाई तीव्रता दिने पनि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बैठकमा बताएका थिए ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु