गृहपृष्ठ काठमाडौंमा बाजपेयीको सम्झना
काठमाडौंमा बाजपेयीको सम्झना
भारतको पूर्वप्रधानमन्त्री स्वर्गिय अटल विहारी वाजपेयीलाई नेपाललाई धेरै माया गर्ने, साथ सहयोग गर्ने, नेपालको आन्तरीक मामलामा हस्तक्षेप नगर्ने विशिष्ट नेताको रुपमा शुक्रबार काठमाडौंमा सम्झना गरिएको छ । बाजपेयीको हालै उपचारका क्रममा दिल्लीस्थित एक अस्पतालमा निधन भएको थियो ।
नेपाल भारत मैत्री समाज एवं विभिन्न संघ सस्थाहरुको आयोजनामा राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्रीलगायतको उपस्थितीमा बाजपेयीको सम्झना गरिएको हो । श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, माधव कुमार नेपाल, लोकेन्द्र बहादुर चन्द, भारतका लागी नेपाली राजदुत डा.भेष बहादुर थापा लगाएतले बाजपेयीको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
स्वर्गीय बाजपेयी एसियाका महान नेता एवं राजनेताको रुपमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए । अधिकांश वक्ताहरुले बाजपेयीसँगको भेटको स्मरण गरेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले वाजपेयी एक आसाधारण क्षमता भएको व्यक्ती रहेको बताए ।
‘पहिलो पटक मैले बाजपेयीको भाषण स्कुल पढ्दा सुनेको हुँ,’ नेपालले भने ‘त्यसपछि म उहाँ प्रति प्रभावित भएँ ।’
त्यसैगरी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बाजपेयीले नेपालको आन्तरीक मामलामा कहिल्यै हस्तक्षेप गर्न नचाहेको उल्लेख गरे । ‘नेपालको सबै किसीमको समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु हुन्थ्यो, उहाँ नेपाल प्रति यति उदार हुनुहुन्थ्यो की सामान्यतय मन्त्रीले स्वागत गर्नु पर्ने कार्यक्रममा पनि अनौपचारीक रुपमा भए पनि आफै आएर स्वागत गर्नु हुन्थ्यो’ चन्दले भने ।
प्रकाशित समय १९:०९ बजे

















