गृहपृष्ठ बिमस्टेकका सरकार प्रमुख : कसको पृष्ठभूमि कस्तो ?
बिमस्टेकका सरकार प्रमुख : कसको पृष्ठभूमि कस्तो ?
चर्चामा माेदी, शेख हसीना सबैकी जेठी
बिमस्टेक सम्मेलनमा सातवटै देशका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौंमा भेला भएका छन् । सबै प्रमुखका आ–आफ्ना राजनीतिक पुष्टभूमी छन् । चर्चाका हिसाबमा सबैभन्दा बढी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छन् । उमेरका हिसाबले बंगलादेशका प्रधानमन्त्री शेखहसीना सबै प्रमुखभन्दा जेठी छन् । नेपालका प्रधानमन्त्री केपीशर्मा ओली पनि दक्षिण एसियाली राष्ट्रका चर्चित मध्येकै नेता मानिन्छन् ।
शेख हसिना, बंगलादेश
काठमाडौंमा जम्मा हुने सातै देशका ‘हाइप्रोफाइल’ राजनीतिक पृष्ठभूमि फरक छ । बंगलादेशको १० औं प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सदस्य राष्ट्रका प्रमुखमध्येका उमेरमा सबैभन्दा जेठी सदस्य हुन् । शेख हसिना ७० वर्षकी भइन् । उनी १६ करोड भन्दा धेरै जनसंख्या भएको दक्षिण एशियाली राष्ट्र बंगलादेशमा ९ वर्ष यता निरन्तर प्रधानमन्त्री पदमा आशिन छिन् । सन् १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी हसिनाले सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्रीका रुपमा सरकार चलाइरहेकी हुन् । बंगलादेश अवामी लिग पार्टीकी नेतृ सहिनाको यो तेस्रो कार्यकाल हो । त्यसो त प्रधानमन्त्री हसिना यसअघि सन् १९९६ देखि २००१ सम्म पनि बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् । उनी बंगलादेशका प्रथम राष्ट्रपति सेख मुजीबुर रहमानकी छोरी हुन् ।

छिरिङ्ग वानचुक, भुटान
भुटानमा ४ वर्षदेखि प्रधानन्यायाधीश रहेका छिरिङ्ग वानचुक अहिले भुटानको अन्तरिम सरकारका प्रमुख सल्लहाकार छन् । आमचुनावका लागि अगष्ट १ तारिकमा भुटानको तल्लो सदन विघटन भएसँगै वानचुक अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त छन् । करिब ८ लाखमात्रै जनसंख्या भएको दक्षिण एशियालको सानो मुलुक भुटानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार वाङचुक नेपालका तत्कालिन खिलराज रेग्मी जस्तै हुन् । वाङचुकलाई गत अगस्ट ८ तारिखमा भुटानका राजाले संसदीय निर्वाचनका लागि गठन गरिएको चुनावी सरकारका प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरिएको थियो ।

नरेन्द्र मोदी, भारत
बिमस्टेक सदस्य राष्ट्रमध्ये भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी चर्चित छन् । सवा अर्ब जनसंख्या रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६७ वर्षका भए । सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका नरेन्द्र मोदीले सन् २०१४ बाट भारतको १४ औं प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालिरहेका छन् । उनको कार्यकाल केही महिना मात्र बाँकी छ । राष्ट्रवादी र हिन्दुवादी नेताको रुपमा परिचित मोदी भारतीय जनता पार्टीका नेता हुन् । प्रधानमन्त्री हुनुअघि मोदी सन् २००१ देखि २०१४ सम्म भारतको गुजरात प्रान्तको मुख्य मन्त्री रहेका थिए । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो नेपाल भ्रमण हो । २०७१ साउनमा पहिलो पटक, त्यसैबर्ष सार्कशिखर सम्मेलनमा र गएको बैशाख अन्तिम साता गरि उनी यसअघि तीनपटक नेपाल भ्रमणमा आईसकेका छन् ।

विन मिन्ट, म्यानमार
म्यानमारका राष्ट्रपति विन मिन्ट पहिले त्याहाँको संसदको सभामुख थिए । मिन्ट यसैवर्ष म्यानमारका राष्ट्रपति चुनिएका हुन् । शैनिक शासनकालमा म्यानमारमा राजनीतिक बन्दीको रुपमा पनि लामो समयसम्म जेल जीवन बिताएका थिए । मिन्ट पाँच करोड भन्दा धेरै जनसंख्या रहेको म्यानमारका स्वतन्त्रतावादी नेतृ आङ सान सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका नेता हुन् । सन् १९५१ नोभेम्बर ८ मा जन्मिएका राष्ट्रपति विन मिन्ट ६६ वर्षका भए ।

राष्ट्रपति मैत्रीपाला सिरिसेना (श्रीलंका)
श्रीलङ्ककाको राष्ट्रपति मैत्रिपाल सिरिसेना तीन वर्षदेखि सातौं राष्ट्रपतिको रुपमा जिम्मेवारीमा छन् । यसअघि उनले श्रीलंकामा ३ पटक मन्त्री भएका थिए । करिब २ करोड जनसंख्या रहेको दक्षिण एशियाली देश श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ६६ वर्षका भए । सन् २०१५ जनवरी ९ मा श्रीलंकाको राष्ट्रपति बनेका हुन् । राष्ट्रपतीय निर्वाचनमा उनले पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई पराजीत गरेका थिए । सिरिसेना वौद्धमार्गी नेता सिरिसेनाको जन्म सन् १९५१ सेप्टेम्बर ३ मा भएको होे ।

प्रायुट चान ओ चा, थाइल्याण्ड
थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा त्यहाँको २९ औं प्रधानमन्त्री हुन् । पूर्वसैनिक जनरल ओचा सैनिक ‘कु’ मार्फत सन् २०१४ अगस्ट २४ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका हुन् । उनी सन् २०१० देखि सन् २०१४ सम्म रोयल थाई आर्मीका कमाण्डर इन चीफसमेत थिए । पूर्वप्रधानमन्त्री यिङलक सिन्हावात्रालाई हटाएर गठन भएको सैन्य सरकारका प्रधानमन्त्री ओचाले आफ्नो सरकारको आलोचना गर्न र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएका छन् । उनलाई कट्टर राजावादी तथा तत्कालिन जननिर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्राको विरोधीका रुपमा चिनिन्छ । करीब ७ करोड जनसंख्या भएको पूर्वी एशियाली मुलुक थाइल्याण्डका सैन्य सरकारका प्रधानमन्त्री प्रयुट च्यान ओचा ६४ वर्षका भए । ओचाको जन्म सन् १९५४ मार्च २१ मा भएको हो ।

केपी शर्मा ओली, नेपाल
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने यी सबै विशिष्ट पाहुनाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । ओली गएको फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । संसदमा आफ्नै पार्टीको एकल बहुमत र अरु दलसहित तिन चौथाई मतको समर्थनसहित शक्तिशाली प्रधानमन्त्री रहेका छन् । उनी पहिलोपटक संविधान जारी भएपछि २०७२ असोज २४ गते प्र्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । २ करोड ८० लाख भन्दा धेरै जनसंख्या रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सन् १९५२ फेब्रअरी २२ (वि.स. २००८ फागुन ११) मा जन्मिएका हुन् । पहिलो प्रधानमन्त्रीकालमा भारतीय नाकाबन्दी विरुद्ध उनले लिएको अडानका कारण उनी राष्ट्रवादी नेताका रुपमा परिचित छन् । दक्षिण एशियाका अनुभवी शासक मानिने ओलीले पछिल्लो समय भारतसँग सम्बन्ध सुधार गरेका छन् । उनी नेपालको सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत हुन् ।

प्रकाशित समय १२:२० बजे
















