गृहपृष्ठ अर्थमन्त्री खतिवडाद्वारा दुई कर कार्यालय उद्घाटन
अर्थमन्त्री खतिवडाद्वारा दुई कर कार्यालय उद्घाटन
फाइल तस्बिर
अर्थमन्त्री डा. युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको सोमबार उद्घाटन गरेका छन् । पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न विराटचोकमा करदाता सेवा कार्यालयको स्थापना गरिएको हो ।
करदाता कार्यालय स्थापनापछि पूर्वी मोरङका करीब ३८ हजार करदाता प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. खतिवडाले संघीयता नै खतरामा पार्ने गरी करको विरोध भएको बताए । सरकारले दोहोरो कर कतै नलिएको बताउँदै उनले जनतालाई असर पर्ने खालको कर नबढाउनसमेत स्थानीय सरकारलाई आग्रह गरे ।
यसैबीच अर्थमन्त्री डा. खतिवडाले सोमबार झापाको दमकस्थित आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरे । करदाता सेवा कार्यालयबाट चालु आर्थिक वर्षदेखि स्तरोन्नति भएको सो कार्यालयको झापाको कन्काई पश्चिमी क्षेत्रका शिवसताक्षी, गौरादह, दमक नगरपालिका तथा कमल र गौरीगञ्जका करदाताहरुलाई सेवा पुर्याउँदै आएको छ ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले काठमाडौंबाहिर एकै जिल्लामा दुई आन्तरिक राजश्व कार्यालय झापामा मात्र रहेको जानकारी दिए । सो अवसरमा राजस्व सचिव शिशिरकुमार ढुङ्गाना, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतको सहभागिता थियो । रासस ।
प्रकाशित समय ०७:२२ बजे

















