गृहपृष्ठ चीनसँगको प्रमुख व्यापारिक नाका,मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न

चीनसँगको प्रमुख व्यापारिक नाका,मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न

रसुवा – चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ। राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडक शुक्रबार खुलेको हो । मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलले २०७२ वैशाखमा सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए।
सुरुमा सात किलोमिटर सिंगल लेन सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।तोकिएको समयमै निर्माण सम्पन्न गरेर स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले काम गरिरहेको उनले जानकारी दिए।
नवनिर्मित सडक हस्तान्तरण नहुँदासम्म सवारी साधन सञ्चालन गर्न अनुमति नदिने कार्यदलले जनाएको छ ।दुई वर्षसम्म उक्त सडकमा बर्खाका चार महिना सवारी साधन सञ्चालन नगर्न सेनाले अनुरोध गरेको छ । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन बनाएको छ।

किलोमिटरको साढे तीन करोड लागत
मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ६८ करोड ६९ लाख खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । सडक निर्माण गर्न दुई करोड रकम अपुग भएकोले रकम थप गर्न केन्द्रमा लेखी पठाएको कार्यदलले जानकारी दिएको छ।

वैशाखभित्रै हस्तान्तरण
सडक निर्माण सम्पन्न भए पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न सफल भएको सेनानी केसीले बताए । निर्माण भएको सडक वैशाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने केसीको भनाइ छ।

 

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु