गृहपृष्ठ वाम शक्तिलार्इ मिलाएको असोज १७ : एकताले फाप्यो कि बिझायो ?

वाम शक्तिलार्इ मिलाएको असोज १७ : एकताले फाप्यो कि बिझायो ?

विश्लेषक भन्छन् - जनताले विश्वास गर्ने अाधार बनिसकेकाे छैन

फाइल तस्बिर : एक वर्षअघि वाम गठबन्धन घोषणा गर्दै तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका नेताहरु ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनसहित पार्टी एकता गर्ने सहमति बनेको एक वर्ष पूरा भएको छ । पानी बाराबारको स्थितिमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीले एक्कासी पार्टी एकता गर्ने घोषणा गरेको १७ असोज २०७४ नेपालको कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक दिनका रूपमा अंकित भएको छ । त्यतिबेला चुनावी गठबन्धनमात्र बनाएका उनीहरुमध्ये एमाले र माओवादी केन्द्रले पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन गरेको पनि चार महिला पुगिसकेको छ ।

घोषणाका बेला तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले चुनावी तालमेलदेखि पार्टी एकतासम्म पुग्ने भनेका थिए । तर, त्यसको केही दिनमै नयाँ शक्ति भने बाहिरिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासहित केही साना दललाई साथमा लिएर सँगै चुनाव लडेका थिए । सधंै राजनीतिक अस्थिरताका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको भन्दै राजनीतिक दलको चर्कोे आलोचना हुने गरेको अवस्थामा दुई दल स्थिरता र विकासको एजेण्डा बोकेर एकता प्रक्रियामा होमिए पछि धेरैले समर्थन गरे ।

सफल वाम गठबन्धन
तत्कालीन समयमा नेपाली कांग्रेस नेतृत्वको सरकारमा माओवदी केन्द्र थियो । माओवादी केन्द्रले बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेससँग तालमेल गरेको थियो । त्यसपछि मंसिरको प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी के्रन्द्र्रले मुख्य विपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेको हो । अन्ततः पार्टी एकतासम्म जाने घोषणा गरेका उनीहरुले देशैभर दुवै तहको चुनावमा राम्रो जित निकाले । १६५ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीले दुई तिहाई स्थानमा जित हासिल गरेका थिए । एमालेले ८० र माओवादीले ३६ सिट जित्दै प्रत्यक्षतर्फ एक सय १६ सिट हासिल गरे । कांग्रेस भने २३ सिटमा खुम्चन पुग्यो ।

दुई तिहाइको सरकार
निर्वाचनबाट जनताले तत्कालीन वाम गठबन्धनलाई बहुमतसहितको सरकार बनाउनअ अधिकार दिए । तर, नेपाली कांग्रेसले आफूसँग मिलेमा पाँच वर्ष माओवादीलाई प्रधानमन्त्री दिने प्र्र्रस्ताव गरेको चर्चा पनि आयो । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्र्रस्ताव गरेका तर प्रचण्डले अस्विकार गरेको खबर आएको थियो । तर, निर्वाचनपछि पार्टी एकता गर्ने भनेका एमाले र माओवादीले नै सहज सरकार बनाए । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३ फागुन २०७४ मा सरकार बन्यो । केन्द्रमा बहुमतसहित सरकार बनाएको वाम गठबन्धनकोे ७ मध्ये ६ वटा प्रदेशमा एकल सरकार बन्यो । प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत पुगेको थियो ।

जेठ ३ ऐतिहासिक एकता
असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरिए पनि जेठ ३ गतेबाट यसले व्यावहारिक रूपमा पार्टीलाई एक बनायो । निर्वाचन पछि पनि एक हुँदैनन् कि भन्ने आशङ्काकालाई चिर्दै मदन–आश्रित स्मृति दिवस पारेर एकता गरियो । ‘छिटै पार्टी एक बनाउँछौँ भनेर जनताबाट भोट लिने तर पार्टी एक नगर्ने’ भन्ने जनस्तरबाट भएको आलोचनाले एकता गर्न थप दबाब दिएको थियो । चुनाव सकिएलगत्तै पार्टी एकताको घोषणा गर्ने भनिए पनि पद बाँडफाँड र सिद्धान्तमा कुरा नमिल्दा घोषणा ढिलाइ भएको थियो । तर, चुनावी तालमेलसहित अन्ततः पार्टी एकता गर्ने पहिलो औपचारिक घोषणा गरेको ८ महिनापछि नेकपा एमाले र माओवादी केन्द्र मिल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको हो ।

अन्यौलमा तल्ला तहको एकता

नेकपाको औपचारिक घोषणा भएको चार महिना बिते पनि तल्लो तहसम्म पार्टीको एकताले पूर्णता पाउन सकेको छैन । केही दिनअघि प्रदेश ईन्चार्ज।, सह–ईन्चार्ज, सचिव तोकिए पनि तत्कालीन एमाले–माओवादीका प्रदेश कमिटी र जिल्ला कमिटी, गाउँ र नगर कमिटी संयोजन हुन सकेको छैन । एकताका लािग सबै तहमा समिति गठन गरिएका छन् । ती समितिले केन्द्रमा प्रतिवेदन बुझाउने क्रम जारी छ । दसैँ अघि नै सबै तहको एकता हुने भनिए पनि सम्भव भएन । स्थानीय तहसम्म नै पार्टी भित्र बढ्दै गएको गुटको राजनीति अन्त्य भएपछि मात्रै एकताले पूर्णता पाउने नेताहरु बताउँछन् । प्रधानमन्त्री तथा नेकपाका दुई अध्यक्षमध्ये केपी शर्मा ओली अमेरिका भ्रमणमा छन् । ओली भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि तल्ला तहको एकताले तीव्रता पाउने नेताहरुको विश्वास छ ।

मतभेदको शृंखला बढ्दो
पार्टी एकता भए पनि केन्द्रीय स्तरमै नेताहरुबीच मतभेदको शृंखला बढ्दै गएको छ । यसले पार्टीको भविष्य तथा वास्तविक एकीकृत पार्टीको परिकल्पनामा असर गर्ने भन्दै चिन्ता समेत व्यक्त भईरहेको छ । नेकपाकै वरिष्ठ नेतादेखि कार्यकर्तासम्मले सरकारको आलोचना गरिरहेका छन् । त्यतिले मात्र सन्तोष नमिलेपछि छुट्टै गुटगत भेलासमेत सुरु हुन थालेका छन् । पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटी गरेको भन्दै नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता पाँच महिना पूरा नहुँदै शीर्ष नेताबीच एक–अर्काेविरुद्ध औपचारिक रुपमै घेराबन्दी सुरु भएपछि कार्यकर्तासमेत फरक–फरक कित्तामा बाँडिएका छन् । नेता नेपाल र दोस्रो तहका नेतामात्र नभइ अर्का नेता झलनाथ खनाल र बामदेव गौतम पनि सरकार र पार्टी सञ्चालनको तौरतरिकाप्रति असन्तुष्ट छन् । आफूलाई तेस्रो वरीयता दिएकोमा झलनाथ खनाल पनि अध्यक्षद्वय ओली र प्रचण्डप्रति रुष्ट छन् । सांसद बन्न भित्रभित्रै रोकेको झ्वाँकमा बामदेव गौतम पनि अध्यक्ष ओलीसँग रिसाएका बताइन्छ । सदन, सडक र सामाजिक सञ्जालसम्म नेकपाका नेता–कार्यकर्ता आपसमा विवाद गरिरहेका छन् ।

तर, नेताहरुले भने पार्टीभित्र जनताले गुटको अस्तित्व देख्ने खालको क्रियाकलाप हुन नदिने दाबी गर्दै आएका छन् । गुट जन्मिन र फैलिनका लागि त्यस प्रकारको वातावरण पार्टीभित्र बनाउन नदिने महासचिव विष्णु पौडेल बताउँछन् । उनी भन्छन् ‘पार्टीलाई गुटको फेडरेसन होइन, एउटा एकताबद्ध सुदृढ पार्टीका रूपमा अगाडि बढाउन चाहेका छौँ, त्यसैले गुटलाई समाप्त गर्छौं । पार्टीलाई विधिका साथ एकताबद्ध भएर सञ्चालन गर्छौँ ।’

कम्युनिष्ट सरकारप्रतिको आशा
नेकपा नेतृत्वको सरकारप्रति आम नेपालीले ठूलो अपेक्षा गरेका छन् । त्यो आशा मर्न नदिन सरकारले जनचाहना अनुसार घोषणा पत्रमा लेखिएका कामलाई निरन्तरता दिनुपर्ने विश्लेषकहरु बताउँछन् । सरकारको काम ठोस रुपमा नदेखिए पनि तल्ला तहसम्म एकताकै प्रक्रिया सकिएपछि सरकारको कामले गति लिने धेरैको विश्वास छ । सरकारले काम गरेमात्रै कार्यकर्ता र जनताले पत्याउने हुनाले वर्तमान सरकारले त्यस विषयमा विशेष ध्यान दिनुपर्ने बताउँछन्, विश्लेषक प्राध्यापक कृष्ण खनाल ।

‘अहिले निराश भइहाल्नुपर्ने अवस्था छैन । पार्टी विधि र प्रक्रियाअनुसार नै अघि बढ्ने रसरकार पनि त्यही अनुसार अघि बढ्दै जानेछ भन्ने विश्वास गरौँ,’ खनालले भने, ‘जब सरकारका काम प्रभावकारी हुन्छन्, तब नेताहरूका पछाडि लागेका लाखौँ कार्यकर्ता र जनताको भविष्य सुरक्षित हुन्छ, त्यो एकदिन हुनेछ ।’

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु