गृहपृष्ठ पप्पु कन्ट्रक्सनले गरेको अनियमिततामा कर्मचारीकै मिलेमतो !
पप्पु कन्ट्रक्सनले गरेको अनियमिततामा कर्मचारीकै मिलेमतो !
राष्ट्रसेवाको लागि राजनीतिमा आएको हुँ, अख्तियारले बदनाम गर्न खोज्यो : रौनियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादास्पद पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा गरेको लापरबाहीमा सरकारी कर्मचारीसमेतको मिलेमतो देखिएको दावी गरेको छ । अख्तियारले गुणस्तरहीन पुललाई स्वीकृत गरी सरकारी कर्मचारीहरुसमेत कन्स्ट्रक्सनले गरेको अनियमिततामा संलग्न भएको दावी गरेको हो ।
ठेक्का लिने तर, समयमै निर्माण सम्पन्न नगर्ने भन्दै पछिल्लो समय विवादित बनेको पप्पु कन्स्ट्रक्सन एक्लैले मात्र अनियमितता गर्न सम्भव नरहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले अनियमिततामा कर्मचारीको पनि मिलेमतो देखिएको दावी गरेको हो । अर्कातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार अहिले प्रतिनिधिसभाका सांसद छन् । तर, सांसद भइसकेपछि आफूले कन्स्ट्रक्सन बेचेको र कन्स्ट्रक्सनसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । तर, रोचक पक्ष के भने उनले कन्स्ट्रक्सन अरु कसैलाई नभई आफ्नै छोरालाई बेचेको बताउने गरेका छन् ।
एकातर्फ पप्पुले एकपछि अर्काे गर्दै ठेक्का पाइरहने, अर्कातर्फ त्यसका मालिक राजनीतिक वृत्तमा उदाउँदै सांसद जस्तो गरिमामय पदमा आसिन हुने अनी कन्स्ट्रक्सन छोरालाई बेचेको र आफ्नो सम्बन्ध नभएको भन्ने भनाई प्रति अनौपचारिक रुपमा कतिपयको असहमति रहँदै आएको छ । जसका कारण कन्स्ट्रक्सनलाई सरकारले गर्ने कारबाही, उसले पाएको ठेक्का जस्ता विषयलाई ‘राजनीतिक प्रभाव’सँग जोडेर हेर्न थालिएको छ ।
सोही पप्पु कन्स्ट्रक्सनविरुद्ध अहिले अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा अख्तियारले कन्स्ट्रक्सनका अतिरिक्त सरकारी कर्मचारीलाईसमेत दोषी देखाउँदै उनीहरुका विरुद्ध पनि मुद्दा दायर गरेको छ । पम्पुले बनाएको जोखिमपुर्ण पुललाई प्राविधिकहरुले स्विकृत गरेको अख्तियारको आरोप छ । अख्तियारले मुद्दा दायर गरेपछि सरकारी निकायकै मिलेमतोमा पप्पुले अनियमितता गरेको देखिएको कतिपयको विश्लेषणलाई थप बल पुगेको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकले नै गुणस्तरहीन कामलाई स्वीकृत गरेको भन्दै भारी रकम विगो माग दावी गर्दै अख्तियारले शुक्रबार विषेश अदालतमा मुद्धा दायर गरेको छ । संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दावी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा लापरवाही भएको अख्तियारको आरोप छ । गुणस्तरहीन सामाग्री प्रयोग भएको र पुल बनाउँन सुरुदेखि नै बाङ्गो देखिएको अख्तियारको दावी छ । २०६८ असार २२ गते सम्झौता भएपछि जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थामा चरम लापरबाही भएको अख्तियारको ठहर छ ।
पप्पु कन्स्ट्रक्सन र डिभिजन सडक कार्यालय नेपालगञ्जका प्राविधिक कर्मचारीहरुबाट लापरवाही हुँदा हुँदै गुपचुप रुपमा कार्य गरेको देखिएको अख्तियारले जनाएको छ । ‘निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पिएर हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अनियमिततामा पप्पु कन्ट्रक्सन मात्र नभई सरकारी निकायसमेत दोषि देखिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जनाएका छन् । अनियमिततामा संलग्ल १२ जना व्यक्तिउपर सजायको माग दावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
को हो पप्पु कन्ट्रक्सन
पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारको हो । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । राजनीतिको आडमा धेरै ठाउँमा ठूला आयोजनाको ठेक्का पाए पनि उसले काम सन्तोसजनक छैन ।
गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निवाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित कन्स्ट्रक्सनको अध्यक्ष छन् । अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।
पप्पु कन्स्ट्रक्सनले ४० वटा पुलसहित विभिन्न योजनामा ११ अर्ब रुपैयाँ बराबरको काम लिएको छ । तर उसले एउटै पनि सन्तोषजनक कार्य सम्पादन गरेको छैन । त्यस कम्पनीका साथै नेपाल सरकार र ठेक्का लगाउने तथा कामको रेखदेख र अनुगमन गर्ने सरकारी संयन्त्र र सार्वजनिक खरिद कानुनको आलोचना भइरहेको छ । पप्पु कन्स्ट्रक्सनको कामकारबाहीले राज्य संयन्त्र र प्रशासनिक कार्यशैलीको खिल्ली उडाएको भन्दै आलोचना हुदै गर्दा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले चरित्र हत्या गर्याे : रौनियार
संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले भने आफू एक वर्षदेखि पप्पु कन्सट्रक्सनमा संलग्न नरहेको दावी गर्दै अख्तियारले बदनाम गरेको जिकिर गरेका छन् । अख्तियारले आफूविरुद्ध मुद्दा दायर गरेपछि न्युज कारोबारसँग कुरा गर्दै सांसद रौनियारले संस्थासँग जोडेर चरित्र हत्या गर्ने प्रयास भएको जिकिर गरे । सांसद रौनियारले आफू सम्पूर्ण व्यवसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएकोले अहिले पनि पप्पु कन्स्ट्रक्सनसँग पटक–पटक आफ्नो नाम जोडेकोमा आपत्ति जनाए ।
‘म कन्ट्रक्सनमा छैन, पूर्णकालीन राजनीतिमा छु, राष्ट्रसेवाकै लागि आएको मलाई बदनाम गर्ने षड्यनत्र रचियो,’ उनले न्यूज कारोबारसँग भने ।
प्रकाशित समय १८:१६ बजे


















