गृहपृष्ठ सरकार पाँच वर्षे टेस्ट क्रिकेट खेल्दैछ : उद्योगमन्त्री यादव
सरकार पाँच वर्षे टेस्ट क्रिकेट खेल्दैछ : उद्योगमन्त्री यादव
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्योगी व्यवसायीले भने जस्तो लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् । उद्योगी व्यवसायीको हितबिना देश विकास सम्भव नहुने भन्दै मन्त्री यादवले यसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
रुपन्देही उद्योग संघको ४०औं वार्षिक साधारण सभालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री यादवले व्यवसायीले गरेको लगानी उद्योगमा जहिले पनि सुरक्षित रहेको बताए । ‘लगानीमैत्री वातावरण बनाउने र उद्योगमा भएको लगानी सुरक्षित गर्ने जिम्मा सरकारले लिन्छ,’ उनले भने ।
कतिपय व्यवसायीले लगानीमैत्री वातावरण भएन, उद्योग खोल्ने स्थान अभाव भयो, व्यवसयीमैत्री उद्योग नीति आएन जस्ता कुरा गर्ने गरेको भन्दै उनले त्यसलाई अस्वीकार गरे । ‘कुरामात्र होइन, नीति कस्तो चाहिन्छ, के चाहिन्छ, भन्नुस्, लिएर आउनुस्, म हस्ताक्षर गर्न तयार छु,’ उनले भने ।
अहिलेको सरकार पाँच वर्षसम्म टेस्ट गेम खेल्ने सरकार जस्तै भएको भन्दै उनले संघीयताको अभ्यासको सुरुवाती चरणमा उद्योगी व्यवसायीबाट आएको करको कुरा जायज भएको बताए । ‘सबै कुरा गर्न सरकार तयार भइरहेका बेला हुने गलत टिकाटिप्पणीले केही असर पर्दैन,’ उनले भने, ‘पाँच वर्षसम्मको सरकारको खेलमा कोही व्यक्ति घाइते हुने त कही आउने र जाने क्रम जारी रहन्छ ।’
काठमाडौंमा भएका उद्योगलाई निजीकरण गरेर बुटवललगायतका क्षेत्रमा ल्याउने र त्यहाँबाट भारततर्फ नै उद्योग बेचेर देशमा समृद्धि हासिल नहुने मन्त्री यादवको तर्क थियो । उद्योग व्यवसाय सबै चौपट भयो भनेर हल्ला फैलाउने काम भएको भन्दै मन्त्री यादवले इतिहासका पाना केलाएर हेर्न आग्रह गरे । ‘विगतमा राम्रैसँग चलिरहेका उद्योगलाई बन्द गराउने काम अहिलेको सरकारले गरेको होइन,’ उनले कटाक्ष गरे ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकार उद्योगमैत्री नीति बनाउने तयारीमा रहेको जानकारी गराए । यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उद्योगी व्यवसायीलाई जग्गा अभावमा उद्योग स्थापना गर्न पाइएन भन्ने ठाउँ नै नदिने बताए ।
नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष हरिभक्त शर्माले नेपाललाई समृद्ध बनाउन लगानीमैत्री वातावरण आवश्यक रहेको बताए । भाषण गर्नेभन्दा पनि व्यावहारिकतामा काम गर्ने वातावरण बनाउन सकेमात्रै देश समृद्ध हुने उनको भनाइ छ ।
प्रकाशित समय १७:०७ बजे

















