गृहपृष्ठ अमेरिका-चीन ट्रेड वार : विश्व तहसनहस हुने चेतावनी, नेपाललाई कस्तो पर्ला असर ?
अमेरिका-चीन ट्रेड वार : विश्व तहसनहस हुने चेतावनी, नेपाललाई कस्तो पर्ला असर ?
पुँजीवादको नमुना देश अमेरिका र राज्य नियन्त्रित अर्थतन्त्र भएको भनिएको चीनबीचको व्यापार युद्धले पूरा विश्वको अर्थतन्त्रलाई तहसनहस पार्ने खतरा बढेको छ । दुई मुलुकबीच व्यापार युद्ध चर्किँदै जाँदा विश्व अर्थतन्त्रबारे अध्ययन गरेका संस्था तथा विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्प प्रशासनले थप २ सय अर्ब डलरको चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकाको ६० अर्ब डलरका सामानमा ट्यारिफ लगाउने निर्णय गरेको छ । नयाँ ट्यारिफको घोषणा गर्दै अमेरिकाले अब चीनले जवाफी कारबाही गरेमा चीनबाट आयात हुने सबै सामानमा ट्यारिफ लगाउन सक्ने चेतावनी पनि दिएको छ ।
अमेरिकी सेयर बजारमा ट्रेड वारको ठूलो असर परेको छैन । किनकि, अहिले पनि व्यापार युद्धमा सम्झौता हुने आशा मरिसकेको छैन । चीनका अर्थमन्त्रीले अमेरिकासँग सम्झौता गर्न अझै चीन तयार रहेको बताएका छन् । मंगलबार ट्रम्पका आर्थिक सल्लाहकार परिषदका अध्यक्ष केविन हेसेटले दुई मुलुकबीच वार्ता हुने सक्ने बताएका छन् । तर, दुबै मुलुक आफू तल परेर सम्झौता गर्ने पक्षमा भने देखिएका छैनन् ।
ट्रम्पले मंगलबार चीनविरुद्ध थप कारबाही गर्ने घोषणा गर्दै भने, ‘चीनले अमेरिकाका किसान, पशुपालक र औद्योगिक श्रमिकलाई मारमा पारेर अमेरिकाको मध्यावधि निर्वाचनलाई प्रभावित गर्न चाहेको छ । तर, चीनलाई यो कुरा थाहा छैन कि यसबाट हामीलाई केही फरक पर्दैन किनकि अमेरिकी जनता निकै ठूला देशभक्त हुन् ।’
त्यतिमात्रै होइन, अमेरिकाको न्याय विभागले चीनको सरकारी न्युज एजेन्सी, सिन्ह्वा र सरकारी टेलिभिजन नेटवर्क चाइना ग्लोबल टेलिभिजन नेटवर्कलाई फरेन एजेन्ट्स रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गराउन भनेको छ । यसबाट दुई मुलुकबीचको विवाद अझै बढेको छ । चीनले अमेरिकाको पछिल्लो कारबाहीको जवाफमा अमेरिकाको ६० अर्ब डलरका सामानमा ट्यारिफ लगाउने निर्णय गरेको छ ।
अमेरिकाको सानो बिमान, कम्प्युटर, टेक्सटाइलसमेत १६ सय वस्तुमाथि अतिरिक्त ५ प्रतिशत ट्यारिफ लगाउने फैसला चीनको छ । अमेरिकी केमिकल, मासु, गहुँ, वाइन र सीएनजीमा अतिरिक्ति १० प्रतिशत ट्यारिफ लाग्नेछ । अगस्टमा यी समानमा २५ प्रतिशत ट्यारिफ घोषणा गरिएको थियो । पछिल्लो पटक गरिएको फैसला त्यसको अतिरिक्त हो ।
केही मुलुकमा गहिरो असर देखिन सक्छ : विज्ञ
अमेरिका र चीनबीच बढ्दो व्यापार तनावले केही मुलुकमा सन् २०१८ र २०१९ मा यसको गहिरो असर देखिने चेतावनी विज्ञहरुले दिएका छन् । हालैमात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘अमेरिका र चीनबीचको व्यापार युद्धले संसारलाई कंगाल बनाइदिनेछ ।’ विश्व अर्थव्यवस्थाबारे हालैको आंकलनमा आईएमएफले यस्तो चेतावनी दिएको हो ।
आईएमएफले चालू वर्ष र अघिलो वर्षका लागि विश्व विकासको आफ्नो पूर्वअनुमान घटाएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धबाट अर्थव्यवस्थामा जुन नोक्सान हुन्छ, त्यसबाट छुट्कारा पाउन निकै मुस्किल हुने सो संस्थाले बताएको छ । आईएमएफका प्रमुख अर्थशास्त्रीका अनुसार यो व्यापारिक तनाव जारी रहेमा यसको घरेलु, व्यापारिक र आर्थिक क्षेत्रमाथि गम्भीर असर पर्नेछ ।
अमेरिकाले पछिल्लो महिनामात्रै चीनमाथि २ सय बिलियान डलरको आयात शुल्क लगाएको थियो । सन् २०१८ र २०१९ मा विश्व आर्थिक वृद्धि ३.७ प्रतिशत रहने अनुमान गरिएको छ । जबकि, गत वर्ष आईएमएफको अनुमान ३.९ प्रतिशत थियो ।
कहाँ-कहाँ पर्नसक्छ असर
भेनेजुएला अहिले पनि आर्थिक मन्दीको सामना गरिरहेको छ । सन् २०१९ मा भेनेजुएलाको आर्थिक मन्दी छैटौं वर्षमा प्रवेश गर्ने बताइएको छ । अघिल्लो वर्ष भेनेजुएलाको महँगी दर १० मिलियन प्रतिशतसम्म पुग्न सक्नेछ । अर्जेन्टिना हालैमात्र आईएमएफलाई बक्यौता चुक्ता गर्न राजी भएको छ । अर्जेन्टिनालाई २०१८÷०१९ मा आर्थिक झट्का लाग्न सक्ने अनुमान गरिएको छ ।
अमेरिका र चीनको व्यापार शुल्क बढ्नाले सन् २०१९ मा दुई मुलुकको उन्नति प्रभावित हुने आशंका गरिएको छ । आईएमएफका ओब्लफेल्ड भन्छन्, ‘चीन र अमेरिकाका नेताहरु मिलेर अघि नबढे समस्या थप गहिरिन्छ, अहिलेकै अवस्था जारी रहे संसार झन् गरिब र खतरनाक हुनेछ ।’ अमेरिकाले आफ्नोमा आयात हुने कारहरुमा २५ प्रतिशत शुल्क लगाउने बताएको छ । अमेरिकाले यस्तो गरेमा संसारको विकास दरमा स्थायी रुपले नोक्सान पुग्ने अनुमान आईएमएफको छ ।
यस्तो हालतमा अमेरिकाको अर्थव्यवस्थाले पनि नोक्सान भोग्नुपर्नेछ । उता, सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा कम हुन सक्नेछ । जबकि, चालू वर्ष ६.२ प्रतिशतको लक्ष्य चीनले लिएको छ ।
यो वर्ष बेलायतको अर्थव्यवस्था बढेर १.४ प्रतिशत हुन सक्ने र २०१९ मा १.५ प्रतिशत पुग्ने अनुमान छ । यद्यपि, बिना कुनै सर्त ब्रेग्जिट भयो भने यसबाट पनि खतरा हुने चेतावनी आईएमएफले दिएको छ । ब्रेग्जिटपछि बेलायतको अर्थव्यवस्थामा ठूलो परिवर्तन आउने बताइएको छ । यही कारण कतिपय नागरिकको जागिर नै जान सक्नेछ ।
ब्रेग्जिटपछि कर बढ्नेछ, जसले कैयौँ उद्योगमाथि असर पर्नेछ । यसबाट बच्नका लागि बेलायतले कुने कदम उठाउनुपर्नेछ । बेलायतले महँगीबाट बच्न आगामी केही वर्षमा ब्याजका दरहरु बढाउनुपर्नेछ । आईएफले भनेको छ, ‘बैंक अफ इंग्ल्यान्डले आफ्नो रवैया अलि लचिलो बनाउनुपर्नेछ र ब्रेग्जिट सहमतिपछि कुनै पनि दिशामा जानका लागि तयार हुनुपर्नेछ ।’
अमेरिका–चीन ट्रेड वारले नेपालमा कस्तो असर पर्ला ?
चीन र अमेरिकाबीचको ट्रेड वार नेपालको छिमेकी मुलुक भारतमा यतिबेला बहसको विषय बनेको छ । यो व्यापार युद्धबाट भारतले फाइदा लिन सक्ने भनेर विज्ञहरुले बाटोहरु औंल्याइरहेका छन् । चीनकै सञ्चारमाध्यममा पनि अब भारतसँग व्यापार साझेदारी विस्तार हुने कुरा गरिरहेका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक लेखमा यो कुरा उल्लेख गरेको छ ।
आफ्नो कृषि उत्पादनको बिक्रीको मामिलामा भारत अगाडि बढ्न सक्छ । अमेरिकासँग बढेको व्यापार तनावका कारण चीनलाई विश्वासमा लिएर भारतले आफ्नो कृषि व्यापार बढाउने मौका पाउनेछ । छिमेकी मुलुक भारत चीन–अमेरिका ट्रेड वारबाट फाइदा लिन तम्तयार भइरहँदा नेपालले यस्ता कुनै अपेक्षा गर्नु बेकार हुने विज्ञहरु बताउँछन् ।
नेपाल भित्रिने सामानमध्ये ७० प्रतिशत भारतीय बजारबाट आयात गरिन्छ भने चीनबाट १५ प्रतिशत आयात हुन्छ । अब अमेरिकाले चिनियाँ सामानमाथि प्रतिबन्ध लगाउँदा त्यही सामान नेपाल आउने चर्चा पनि भइरहेको छ । तर, विज्ञहरु चीनले अपेक्षा गरेजस्तो बजार नेपाल नभएकाले चीनमा उत्पादित वस्तु अमेरिका जान रोकिए पनि नेपाल आउने सम्भावना कम रहेको बताउँछन् ।
अमेरिका र चीनबीचको व्यापारिक युद्धकै कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । अमेरिकी डलरको भाउ लगातार बढिरहेकाले कुनै वस्तु अत्यन्तै महँगो हुने र कुनै बिक्दै नबिक्ने अवस्थासमेत उत्तिकै हुने सम्भावना रहेको बताइन्छ । आयातमा निर्भर नेपाललाई अमेरिकी डलरको भाउ बढ्दा भने मूल्यवृद्धिमा चाप परेको छ । यद्यपि, यसबाहेक नेपालमा कुनै ठूलो असर नपर्ने उनीहरुको दाबी छ ।
अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा नेपाली हस्तकलाका सामग्री अमेरिकामा बढी मात्रामा निर्यात हुने गरेको भए पनि चीनसँगको अमेरिकाको व्यापार द्वन्द्वले नेपाललाई असर नपार्ने बताउँछन् । ‘चिनियाँ सामग्री अमेरिका निर्यातमा कमी आउँदा नेपाल आयात हुने चिनियाँ सामग्री थप सस्तो हुन्छ,’ डा. शर्मा भन्छन्, ‘दुई ठूला देशबीचको व्यापारिक द्वन्द्वले जापान, कोरियासहित केही अफ्रिकी मुलुकलाई भने असर पार्नेछ ।’
चीनका पूर्व राजदूत टंक कार्की पनि अमेरिका–चीन ट्रेड वारबाट नेपाललाई खासै ठूलो असर नपर्ने बताउँछन् । बरु यसको दुष्परिणाममा नेपाल फस्नसक्ने उनको तर्क छ । ‘व्यापारका दुष्परिणामबाट बच्नका चीन र अमेरिकाले सस्तोमा आफ्ना वस्तुहरु देलान् भन्ने झिनो आशामात्रै हो,’ कार्की भन्छन्, ‘तर सस्तो वस्तुको लोभमा हामी फस्न पनि सक्छौँ ।’
अर्थ विश्लेषक डा. डिल्लीराज खनाल पनि अमेरिका–चीनबीचको व्यापार युद्धले नेपाललाई खासै ठूलो असर नपर्नेमा सहमत छन् । ‘व्यापार युद्धमा संलग्न यी दुई मुलुकमात्र होइन, विश्वबजारको स्वतन्त्र व्यापारमा समेत अवरोध पुग्नुका साथै समग्र व्यापार नै खलबलिन सक्ने सम्भावना बढेको छ,’ डा. खनाल भन्छन्, ‘त्यही पनि भारतीयहरुले अपेक्षा गरेजस्तो फाइदा हामीले अपेक्षा गर्नु बेअर्थी हुन्छ ।’
प्रकाशित समय १८:२५ बजे

















