गृहपृष्ठ दश वर्षमा पन्ध्र हजार मेगावाट विद्युत् उत्पादन गरिन्छ : ऊर्जामन्त्री
दश वर्षमा पन्ध्र हजार मेगावाट विद्युत् उत्पादन गरिन्छ : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् ।
ओखलढुंगाको चम्पादेवीमा ‘मिसन मालिगे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी गरे ।
‘अबको दश वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युतमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी भन्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’
मन्त्री पुनले सरकारले जनचहानाअनुसारको काम गरिरहेको दाबी गरे । उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्षभित्रै रेल चड्न पाउने तर्क गरे ।
‘ठुला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,’ पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ ।’ रासस ।
प्रकाशित समय १८:३८ बजे

















