गृहपृष्ठ पोखरामा दसैं : अर्बौंको कारोबार हुने अपेक्षा

पोखरामा दसैं : अर्बौंको कारोबार हुने अपेक्षा

व्यवसायी भन्छन्- तर, विगत वर्षजस्तो उत्साह छैन

pokhara- तस्बिर : गुगल

पर्यटकीय नगरी पोखरा क्षेत्रमा पनि दसैं धुमधामसाथ भित्रिसकेको छ । दसैंलाई स्वागत गर्न व्यापारी–व्यवसायीले विशेष तयारी गरिरहेका छन् । विजयादशमीको अवसरमा पोखरा क्षेत्रमा अर्बौंको कारोबार हुने अपेक्षा उनीहरुको छ । घटस्थापनाकै दिनदेखि चहलपहल बढेको पोखरामा दसैंको चाप थामिनसक्नु हुने गर्छ ।

दसैंको सिजन पर्यटकीय सिजन हुने भएकाले पर्यटन व्यवसायीले खासै मेहनत गर्नु पर्दैन । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन वडा दसैंमा प्रायः गरी पर्यटनकै सिजन हुने भएकाले नयाँ प्याकेज ल्याउनु नपर्ने बताउँछन् । तर, केही होटलले पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गर्ने गर्छन् । पर्यटनको सिजनमा होटलहरुको अकुपेन्सी विगतमा वर्षहरुमा झैं ८० प्रतिशतसम्म पुग्ने उनको अपेक्षा छ । पोखरामा पर्यटकीय स्तरका होटल प्रतिरुम करिब ८ सयदेखि अधिकतम १२ हजारसम्म पर्छ ।

दसैंमा सरकारीदेखि निजी क्षेत्रसम्म पोखरा केन्द्रित हुने भएकाले व्यापार फस्टाउने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी बताउँछन् । दसैंको अवसरमा आवाजजावात बढी हुने र किनमेल बढी हुने भएकाले अटोदेखि कपडा पसलसम्म छुट र विशेष अफर दिने गरेको अध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार दसैं पर्वमा अटो क्षेत्रमा अत्यधिक व्यापार बढ्छ । अध्यक्ष अधिकारीले दसैंमा पोखरा क्षेत्रमा हिमालपारि जिल्लाबाट आएका भेडा, च्याङ्ग्रा, आलु र स्याउ पनि उत्तिकै खपत हुने गरेको बताए । मासु र रक्सीको कारोबार पनि उल्लेख्य हुन्छ ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष एवं रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले दसैंको अवसरमा पर्यटकीय स्तरीय अधिकांश रेस्टुराँमा थोरै जनशक्तिले धेरै खाजा तथा खाना बनाएर दिन सक्ने गरी आफूहरुले पहिलाको मेनुमा थोरै परिवर्तन गरी साइज घटाउने गरेकोे बताए । ‘कर्मचारी अधिकांश बिदामा बस्ने भएकाले मेनु साइज घटाउँदै थोरैजनाले धेरैलाई छिटोछरितो ढंगले सेवा दिने तयारी गरेका छौं,’ उनले भने ।

नेपालीले पश्चिमेली खानासहित चाइनिज र कोरियन खाना खाने गरेको उनको अनुभव छ । इटालियन, पिज्जा, स्पाकेटी, चिकेन सिजलसलगायतका खाना विदेशीदेखि स्वदेशीसम्मले समेत बढी मन पराउने गरेको उनले बताए । केही आन्तरिक पर्यटकले दसैंमा विशेष गरी हिमालपारिका जिल्लामा उत्पादित भेडा च्याङ्ग्रा, स्याउ, आलुलगायतका खानेकुरा माग गर्न थालेको रेवान पोखराका पूर्वअध्यक्ष भट्टराईले जानकारी दिए ।

तर, यो वर्ष विगतमा जस्तो पर्यटकको संख्या बढेको छैन । पर्यटनको मुख्य सिजन अक्टुबर–नोभेम्बरमा पनि पोखरा–काठमाडौं जोड्ने सडक मार्ग प्रभावकारी नहुनु, हवाई उडानमा विदेशीलाई सहज र सहुलियतमा दरमा टिकट उपलब्ध नहुनु, पदमार्गमा जाने पर्यटकको बिमासम्बन्धी नीति सरकारबाट प्रस्ट नहुँदा युरोपियन मुलुकका पर्यटकको संख्यामा गिरावट आएको भट्टराईको दाबी छ ।

पोखरामा आन्तरिकसँगै एसियन मुलुकका पर्यटक बढी आउँछन् । रेवानका अनुसार चीन र भारतीय पर्यटकलाई मात्र लक्षित गरेर नेपालको पर्यटन क्षेत्र दिगो हुँदैन । त्यसका लागि प्रकृति र संस्कृतिको संरक्षणमा राज्य र निजी क्षेत्र सजग हुनुपर्ने पूर्व अध्यक्ष भट्टराईको तर्क छ । ‘अहिलेकै अवस्थामा तेस्रो मुलुकका पर्यटक पोखरा भित्र्याउन धेरै मुस्किल पर्छ,’ उनले भने, ‘यही अवस्थामा अघि बढेमा पोखराको पर्यटन व्यवसाय ध्वस्त हुनसक्छ ।’

दसैंको अवसरमा पोखरा क्षेत्रमा लक्षित हुने गरी कास्की खसीबोका व्यवसाय संघले करिब ८ हजार खसीबोका भित्र्याएको छ । संघका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठका अनुसार यो वर्षको दसैं पर्वलाई लक्षित हुने गरी कास्कीसहित तनहुँ, पाल्पा, सुर्खेत, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रबाट करिब आठ हजार खसीबोका भित्र्याइएका हुन् ।

सहारा फुट्र्स प्रालिका हरिशंकर अग्रवालका अनुसार तीज पर्वदेखि मुस्ताङ क्षेत्रबाट स्याउ पोखरामा आउन थालेको छ । स्याउ दसैं पर्वमा बढी खपत हुने गरेको छ । पोखरामा करिब १५ हजारभन्दा बढी भेडा च्याङ्ग्रा बिक्री हुन्छ । मुस्ताङबाट यो वर्ष १६ हजार ७ सयवटा भेडा च्याङ्ग्रा बाहिरिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीअन्तर्गत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुसालले जानकारी दिए । उनका अनुसार ९ सय २५ वटा नेपाल खाद्य संस्थानले काठमाडौंको लागि लगे पनि बाँकी पोखरा क्षेत्रमै खपत हुन्छ ।

दसैंको अवसरमा पोखरामा खानाका विभिन्न परिकारसँगै विभिन्न ब्रान्डका कपडाको बिक्री पनि ह्वात्तै बढ्छ । दसैंमा मात्र करिब ५० करोडको कपडा किनबेच हुने कपडा व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार चीनबाट करिब ६५ प्रतिशत लत्ताकपडा पोखरा भित्रिने गरेको छ । त्यसैगरी, भारतबाट २५ प्रतिशत र बाँकी ५ प्रतिशत स्वदेशी उत्पादनका कपडा दसैंको अवसरमा पोखरामा खपत हुने गरेको भुजेलले जानकारी दिए ।

फेसन आउट भएका र पुराना कपडा व्यवसायीले ५० प्रतिशतसम्म छुट गरेर बिक्री गर्ने गरेका छन् । पोखरा क्षेत्रमा एसोसिएसनमा आबद्ध करिब ६ सय व्यवसायी छन् ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु