गृहपृष्ठ नेकपाले देशव्यापी अभियान चलाउने
नेकपाले देशव्यापी अभियान चलाउने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संगठन विस्तारको लागि देशव्यापी अभियान थाल्ने भएको छ । कार्तिक महिनाभित्र प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण टुंगो लगाउने तालिका बनाएको उसले मंसिरदेखि अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
यसबीचमा जनवर्गीय संगठनको पनि एकीकरण टुंगो लगाउने र मंसिरदेखि देशब्यापी अभियान सञ्चालन गर्ने तयारी छ । पार्टी र सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रमण भइरहेको भन्दै नेकपाले संगठनलाई अझ शसक्त पार्न र कम्युनिष्ट एकताको लहर सिर्जना गर्ने अभियान सुरु गर्न लागेको नेताहरुले बताएका छन् । ‘सरकारविरुद्धका भ्रामक प्रचार हुँदा पनि संगठित प्रतिवाद हुन सकेका छैन, यसैले एकीकरण प्रक्रिया छिटो टुङग्याएर मेचीदेखि महाकालीसम्म एकसाथ पार्टी एकता सन्देश सभा र सरकार तथा पार्टीको पक्षमा जनपरिचालन गर्ने तयारी छ,’ नेता देवेन्द्र पौडेलले न्यूज कारोबारसँग भने ।
सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना बढ्दै गएकोले मन्त्रीपरिषद हेरफेर गर्ने मनसायमा अध्यक्षद्धवय रहेको उनले खुलसा गरे । ‘सरकार परिवर्तन हुँदैन मन्त्री मण्डल भने हेरफेर हुन सक्छ,’ पौडलले भने ।
मंसिरभित्रै जनवर्गीय संगठनको पनि एकीकरण टुंगो लगाउने तयारी रहेको पनि उनले सुनाए । यो एजेण्डामा पार्टीको स्थायी कमिटी बैठकमा बुधबार छलफल हुने छ । कार्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्ष नेताहरु आ–आफ्ना असन्तुष्टि र गुनासा सुनाउन केन्द्रित भएकाले यी विषयमा छलफल हुन सकेको थिए । बैठकमा कार्तिक १२ र १३ गते तय स्थायी किमिटी बैठकको ऐजेण्डासमेत तय गर्ने छ । नेकपाको स्थायी कमिटी बैठकले पार्टीको तल्ला तहको कमिटी एकीकरणका प्रक्रिया टुंगो लगाउने छ । त्यसपछि कार्यकर्ता तथा जनपरिचालनसम्बन्धी योजना पनि बनाउने छ ।
प्रकाशित समय १७:४१ बजे

















