गृहपृष्ठ जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा
जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा
जापानका प्रधानमन्त्री सिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित विहीबार चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।
आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका छैनन् ।
सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् । सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी चिनफिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएका थिए ।
आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
‘संयुक्तराज्य अमेरिकासँगको व्यापार युद्धले दुई मुलुकलाई केही नजिक ल्याउन मद्दत गरेको देखिन्छ,’ मेन विश्वविद्यालयका उपप्राध्यापक एवं जापान–चीन सम्बन्धी विज्ञ क्रिस्टिन वेकासीले बताए । ‘यस अर्थमा, दुबै मुलुक एउटै डुङ्गामा छन् र आर्थिक अवसरका कारणले अमेरिकाबाट जापान केही टाढिएको अवस्थामा चीनसँगको सम्बन्धमा निकटता आउने सम्भावना बढी छ ।’
दुबै नेताले इन्डोनेसिया र फिलिपिन्स समेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । प्रधानमन्त्री आबेले चीनको महत्वाकाँक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजनामा समेत अभिरुचि राख्नुभएको छ, तर विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् ।
दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ ।
रासस/एएफपी
प्रकाशित समय १६:१९ बजे

















