गृहपृष्ठ निर्मला हत्या प्रकरण : अनुसन्धानमै बित्यो सय दिन
निर्मला हत्या प्रकरण : अनुसन्धानमै बित्यो सय दिन
जागिर, महल होइन न्याय मागेका हौं, त्यो नपाउने भयौं
षघटनाका दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा लगातार आन्दोलन हुँदै आए पनि प्रहरीले अपराधीको पहिचान गर्नै सकेको छैन । सरकारको नेतृत्व गर्नेहरुसँग हार गुहार भईरहेको छ । तर पीडित परिवारले आश्वासन बाहेक अन्य कुनै ठोस उपलब्धी पाउन सकेका छैनन् ।
निर्मलाको हत्या भएको दिनदेखि नै सुरु भएको आन्दोलन अझैसम्म रोकिएको छैन । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई अपराधी पत्ता लगाइदिन अनुनयविनय गर्दे परिवार र महिला अधिकारकर्मीले ज्ञापन पत्र बुझएका थिए ।
सोहि दिन निर्मलाका बुबा सञ्चारकर्मीसँग गहभरी आँशु पर्दै भन्दै थिए, ‘अब न्याय पाउने आशा मरिसक्यो । सरकारनै हत्यारालाई जोगाउन लागेपछि गरिब जनताले कसरी न्याय पाउने आशा गर्ने ?’ ‘मन्त्री ज्यू हामीले जागिर, पैसा र महल मागेका छैनौं, ठेला चलाएरै गुजारा गरौला तर जसरी हुन्छ मेरी छोरीका हत्यारालाई पक्राउ गरी कारबाही गरिदिनु पर्यो,’ निर्मलाकी आमा भक्कानीँदै मुख्यमन्त्रीका अगाडि भन्दै थिइन्, ‘यत्ती भए मेरी छोरीको आत्माले शान्ति पाउने छ ।’
निर्मलाकी आमाको वेदना यत्तिमा मात्र रोकिएन । ‘जनताका लागि काम गर्छौ भनेर निर्वाचित भएका जनप्रतिनिधि आज किन जनताको न्यायको आवाज सुन्दैनन् ? कित सरकारले अब न्याय दिन सक्दैनौं भनीदिनु पर्यो, हामी आफ्नो गुजारा चलाएर जिवीकोपार्जन गर्छौं,’ मुख्यमन्त्रीसँग भक्कानिँदै उनले भनिन्, ‘तीन महीनासम्म रात दिन न्यायको लागि भौतारीयौं, घरको गुजारा कसरी गर्ने ?’

यसबीचमा पीडित परिवारले मुख्यमन्त्रीलाई दुई पटक भेटिसकेको छ । न्यायका लागि परिवारसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमै गएर भेट गरेको थियो ।
प्रधानमन्त्रीबाटसमेत आश्वाशनबाहेक अन्य कुनै उपलब्धी परिवारले पाउन सकेन । निर्मलाको हत्यारालाई पत्ता लगाउन भन्दै सरकारले ६ वटा छानविन समिति गठन गरेर कञ्चनपुर पठाएको थियो, तर ति समिति केवल समितिका रुपमै सिमित भए ।
कुनै पनि समितिले अहिलेसम्म ठोस निश्कर्ष निकाल्न सकेको छैन । सरकराले एसपी डिल्लीराज विष्ट र एक जना इन्स्पेक्टरलाई निलम्बन गरेको छ । तर परिवार भने आफूहरुको माग प्रहरी निलम्बन गर्ने नभई न्याय पाउनु भएको बताउँदै आएको छ ।
प्रहरी अहिले पनि आफूहरु अनुसन्धानकै क्रममा रहेको वताउँछ । तर परिवारले भने प्रहरीले घटनाको विषयमा गम्भीरतापूर्वक अनुसन्धान नगरेकै कारण दोषी पत्ता लाग्न नसकेको बताउँदै आएको छ । साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको शव दोस्रो दिन भिमदत्त नगरपालिका १८ स्थित उखुबारीमा भेटिएको थियो ।

प्रकाशित समय १३:४४ बजे
















