गृहपृष्ठ कवर्डहल निर्माण अलपत्र, नगरपालिका भन्छ- जिम्मेवारी पाए बनाउँछौं
कवर्डहल निर्माण अलपत्र, नगरपालिका भन्छ- जिम्मेवारी पाए बनाउँछौं
बाजुराको मार्तडीमा कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खेल मैदानसमेत नहुँदा मालिका नमुना माविको मैदान प्रयोग भइरहेको छ ।
बहुद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिँदा अढाइ वर्षदेखि अलपत्र परेको हो । २०७३ सालमा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए भने तत्कालीन पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेका थिए ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर कवर्डहल निर्माण सुरु गरिएको थियो ।
प्राविधिकले पूरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकुद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ । तर, त्यसबाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा अलपत्र अवस्थामा पुगेको खेलकुद विकास समितिले जनाएको छ ।
बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भने निर्माणका लागि आफूसँग सहकार्य नभएको र जिम्मेवारी दिन खेलकुद समितिले चासो नदेखाएको कारण नगरपालिकाले लगानी नगरेको बताए ।
वर्ष २० लाख रूपैयाँ बजेट केन्द्रीय सरकारबाट छुट्याएर काम सञ्चालन गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले बताए । बीचमा केही समय निर्माण रोकिए पनि यो वर्षबाटै निर्माणको कामले गति लिने उनले जानकारी दिए । (रासस)
प्रकाशित समय ०७:४० बजे
















